चाणक्यको एक प्रेरक प्रसङ्ग ‘सुधार’

0
378

काठमाडौँ- चाणक्य जङ्गलको बीचमा बनेको झुपडीमा बस्थे । मानिसहरु त्यहीँ उनलाई भेट्न जान्थे । आफ्ना समस्या अवगत गराउँथे ।

एक दिन नागरिकको एउटा प्रतिनिधि मण्डल उनलाई भेट्न गयो । सबैजना झुपडीसम्म नाङ्गो खुट्टा पुगेका थिए । मानिसहरुको खुट्टामा काँडा बिझेर रगताम्य भएको थियो ।

एकजनाले चाणक्यसँग भने— ‘तपाईंसम्म आइपुग्न हामीलाई धेरै कष्ट भयो । पूरै बाटो काँढैकाँढाले भरिएको रहेछ । तपाईंले राजालाई भनेर यस कष्टकारी जमिनलाई छालाले ढाक्ने व्यवस्था गर्नुहोस् । यसो भएमा नागरिकले खुट्टामा काँढा बिझ्ने पीडाबाट छुट्कारा पाउने छन् ।’

चाणक्यले मुस्कुराउँदै भने— ‘यस जमिनलाई छालाले ढाक्न त असम्भव छ, तर तिमीहरुले खुट्टामा छालाका जुत्ता लगाउन शुरु गर्छौ भने पथरिलो जमिन र काँढाको प्रकोपबाट मुक्ति पाउनेछौ ।’

नागरिकले चाणक्यको भाव बुझे— ‘हामी पूरै दुनियाँलाई सुधार्न सक्दैनौँ, आफूलाई सुधार्ने बाटो भने अवश्य छान्न सक्छौ ।’

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट