अष्ट्रेलियावासी मुक्तककार सुशील चालिसेका ४ मुक्तक

0
646

हाल अष्ट्रेलियाको मेलबर्नमा बसोवास गरिरहनुभएका सुशील चालिसेले नेपालको पहिलो महिला धिमे वादक इन्दिरा लाछिमस्युुको बारेमा डकुमेन्ट्री निर्माण गर्नुभएको छ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका ओसेनिया संयोजक समेत रहनुभएका चालिसेले अष्ट्रेलियामा नै रहेर नेपाली म्युजिक भिडियो निर्देशनमा समेत अगाडी बढिरहनुभएको छ। यसका साथै चालिसेले नेपाली साहित्यिक क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ। उहाँको पहिलो मुक्तक संग्रह ‘गुराँसहरु पलाँसहरु’ प्रकाशित छ।

मुक्तककार सुशील चालिसेका चार मुक्तक :

जे छ त्यसमा कहिल्यै नरमाऊ तिमी
पोल्छ त्यो आगो हो नसमाऊ तिमी
जिन्दगीमा कडा निर्णय पनि लिनुपर्छ
ए मित्र ! नडराउ खुट्टा नकमाऊ तिमी ।।
……………………………………………………………………….

कलियुगमा लाज अनि शर्म कमै हुने
आजका मान्छेको मनमा धर्म कमै हुने
आफ्नो स्वार्थ पुरा गर्यो अरु वास्ता छैन
हिजो अस्तिको जस्तो अर्म पर्म कमै हुने ।।
…………………………………………………………………………

निर्दयी छौ तिमी, माग्नु मेरै गल्ती थियो
भ्रष्टाचारले भरिएको तिम्रै खल्ती थियो
ज्यु गर्दै पछि लाग्नुपर्ने यो कस्तो दुर्भाग्य
नलागु कसरी चारैतिर तिम्रै चल्ती थियो ।।
…………………………………………………………………………

छटपटाउँदै पागल भए तिम्रो प्यारमा
लौ न लौ अन्तै पो गएँ तिम्रो प्यारमा
नसोध कति घात, कति पाएँ दर्दहरु
लाग्छ हजार चोट सहेँ तिम्रो प्यारमा ।।
………………………………………………………………….