अष्ट्रेलियावासी नेपालीहरु आर्थिक दृष्टिकोणले यहाँ अग्रपङ्क्तिमा छन्: कृष्ण सापकोटा

0
1306

अष्ट्रेलियामा सफल तथा स्थापित नेपाली व्यवसायीहरु मध्ये एक हुनुहुन्छ, कृष्ण सापकोटा। २००७ मा विद्यार्थी भिसामा अष्ट्रेलिया आउनुभएका सापकोटाले अन्य विद्यार्थीले जस्तै संघर्षका दिन भोग्नुभयो। तर सधै एक खुड्किलो माथि चढ्दै अगाडी बढ्न मन पराउने कृष्ण सापकोटाले मोर्गेज ब्रोकरको रुपमा काम सुरु गर्दै न्यु कन्सेप्ट फाइनान्स स्थापना गर्नुभएको छ। यस कम्पनीले मेलबर्नमा २०१७ मा आफ्नो सेवा शुरु गरेको थियो। न्यु कन्सेप्ट फाइनान्सले बिजनेस लोन, कार लोन, होम लोन, इन्सुरेन्समा सेवाग्राहीलाई सहज र भरपर्दो सेवा दिंदै आएको छ। विद्यार्थीदेखि व्यवसायी बन्दासम्मको यात्रा, चुनौती, आगामी योजना आदि बारेमा न्यु कन्सेप्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत कृष्ण सापकोटासंग गरिएको संक्षिप्त कुराकानी :

अष्ट्रेलियामा विद्यार्थी भिसामा आएको व्यक्ति यो व्यवसायीक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
स्टुडेन्ट भिसामा अष्ट्रेलिया आउने अरु सबैजसो नेपालीको जस्तै नै मेरो पनि सुरुवाति काम किचनबाट भयो। सुरुमा सिड्नी एयरपोर्टमा रहेको एक रेष्टुरेन्टमा काम गर्थें। त्यसपछि बरिस्टा, सिफ्ट इन्चार्ज, असिस्टेन्ट अकाउण्ट म्यानेजर हुँदै पछिल्लो समयमा मेलबर्न एयरपोर्टमा एभिएसन प्रोटेक्सन अफिसरको रुपमा ५ वर्ष काम गरें। मैले मेलबर्न एयरपोर्टमा काम गर्दै गर्दा मेरो एक जना दाई मोर्गेज ब्रोकरको रुपमा काम गर्नुहुन्थ्यो। दाईले गरेको काम देखेर मैले यसबारे बुझ्ने मौका पाएँ। एक त आफ्नो करियर अगाडी बढ्ने, व्यवसायी बन्न सकिने। अनि फेरी आफ्ना सेवाग्राहीको सपना पनि पूरा गरिदिन पाइने। उनीहरुको उन्नति-प्रगतिमा साथ दिंदै उनीहरुको खुशीमा सामेल हुन पाइने। र अर्को कुरा, मलाई एकै ठाउँ अडिएर बस्नु थिएन। करियर अगाडी बढाउनु थियो। त्यसरी २०१७ मा म यो व्यवसायिक क्षेत्रमा प्रवेश गरें।

न्यु कन्सेप्ट फाइनान्स संचालनमा ल्याउनको लागि आफूलाई कसरी तयार गर्नुभयो ?
अष्ट्रेलिया आएर मैले ब्याचलर अफ बिजनेस गरें। मोर्गेज ब्रोकर बन्ने चाहना बढेपछि दाइले गर्ने कामबारेमा पनि बुझ्न थालें र कोर्स पनि गरें। त्यसपछि सुरुमा मोर्गेज ब्रोकरमा अनुभव लिंदै गएपछि न्यु कन्सेप्ट फाइनान्स संचालनमा ल्याएको हूँ।

कम्पनी संचालन गरेपछि सुरुवातमा कस्ता अप्ठ्याराहरुको सामना गर्नुपर्यो ?
पक्कै पनि चुनौतीपूर्ण थियो। नयाँ परिवार थियो। भर्खर छोरी जन्मिएकी थिईन्। कम्पनीको आम्दानीमा मात्र भर पर्न सकिने अवस्था थिएन। एयरपोर्टमा पार्ट टाइम काम गर्दै आफ्नो कम्पनीमा पार्ट टाइम काम गर्थें। आर्थिक, सामाजिक अनि समय व्यवस्थापन, सबैको हिसाबले निकै चुनौतीपूर्ण समय थियो । त्यो चुनौतीलाई ‘फेस’ गर्दै २०१८ को अन्त्यबाट फुल टाइम ब्रोकरको रुपमा काम गर्दै आज यहाँसम्म आइपुगेको छु। न्यु कन्सेप्ट फाइनान्स विश्वसनीय कम्पनीको रुपमा स्थापित भएको छ।

न्यु कन्सेप्ट फाइनान्समा आउने सेवाग्राही सबै नेपाली समुदायका मात्र छन् कि, अरु समुदायका पनि छन् ?
नेपाली ३० प्रतिशत र अन्य समुदायका ७० प्रतिशत छन्। आफ्नो वरिपरिको सबर्बका अरु समुदायका पनि आउँछन्। आफ्नो क्षेत्रको सबर्बलाई नै हामीले केन्द्रमा राख्छौं। त्यहाँ बस्ने नेपाली मात्र नभएर सबै समुदायलाई समेट्ने हाम्रो प्रयास रहन्छ। यद्दपि नेपालीलाई प्राथमिकता रहन्छ नै।

आफ्नो कम्पनीका सेवाग्राहीहरुलाई समग्रमा मूल्यांकन गर्दा अष्ट्रेलियामा बस्ने नेपालीहरु आर्थिक हिसाबमा कत्तिको बलियो लाग्छ ?
मलाई त अरु समुदायका भन्दा नेपालीहरु आर्थिक रुपमा अग्रपङ्क्तिमा छन् जस्तो लाग्छ। सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीमा हेरिदिएपछि अरु समुदायका मानिसमा कमाएको पैसाले रमाइलो गरूँ भन्ने हुन्छ। तर नेपालीहरुले त सानैदेखि नै पैसा बचत गर्नुपर्छ र गास, वास, कपासको जोहो गर्न सक्नेगरी बलियो बन्नुपर्छ भन्ने सिक्दै आएका हुन्छौं। त्यसैले नेपालीहरुले बचत बढी गर्छन्। जसले गर्दा नेपालीहरुको आर्थिक हैसियत बढेको देखिन्छ।

घर किन्न चाहने नेपालीहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?
घर किन्ने भनेको समयमा बल्ल सरसल्लाह लिने नगर्नुस्। घर किन्ने योजना बनाउनुभएको छ भने किन्ने समयभन्दा ६ महिना अगाडी नै हामीलाई या तपाईंलाई विश्वासिलो लाग्ने कुनै कम्पनीमा गएर सरसल्लाह लिनुस्। त्यसमा पनि क्रेडिट हिस्ट्री कत्तिको सही छ भनेर जाँच गराउनु महत्त्वपूर्ण हुन्छ।

धेरै नेपालीहरुलाई सेवा दिनको लागि केही योजना बनाउँदै हुनुहुन्छ कि ?
छिटो-छरितो सेवा कसरी दिन सकिन्छ र आफ्नो समुदायलाई कसरी धेरैभन्दा धेरै समेट्न सकिन्छ भन्ने कुरामा केन्द्रित रहने योजना रहेको छ। सोही योजना अनुरुप नै वेरीबीमा नयाँ शाखा संचालनमा ल्याएका छौं। वेरीबी शाखामा अर्का मोर्गेज ब्रोकर राजेश जैसवाल हुनुहुन्छ। अनि अर्को पनि शाखा खोल्ने योजना बनाएका छौं। त्यसैगरी, फुल टाइम स्टाफको रुपमा नेहा रंजित पनि कार्यरत हुनुहुन्छ। छिटो-छरितो संगै विश्वासिलो सेवा प्रदान गर्न हामी सधै सजग छौं।

अष्ट्रेलियामा व्यवसाय संचालन गर्नका लागि कत्तिको कठिन हुँदोरहेछ ?
यहाँ बस्ने हाम्रो नेपाली समुदाय अन्य देशको समुदाय, जस्तै छिमेकी मुलुक भारतको जस्तो ठूलो छैन। र, यो सानो संख्यामा पनि उस्तै किसिमका व्यवसाय गर्ने हामीहरु धेरै नै छौं। जसले गर्दा अन्य समुदायलाई पनि समेट्नुपर्ने एउटा चुनौती छ। यसको लागि उनीहरुको अगाडी हामीले आफ्नो काम प्रमाणित गर्नुपर्छ र उनीहरुको विश्वास जित्न सक्नुपर्छ। त्यो विश्वास जित्न कठिन मेहनत गर्नुपर्यो, कामको तथा कम्पनीको प्रचार हुनुपर्यो अनि काम विश्वसनीय भएको केही प्रमाण हुनुपर्यो। अनि अर्को कुरा, नेपालमा हुँदा के हुन्छ भने, हाम्रो अघिल्लो पुस्ताको बाटोलाई हामीले देख्न सक्छौं, प्रत्यक्ष या अप्रत्यक्ष रुपमा उहाँहरुले दिने आड-भरोसालाई हामीले महसुस गर्न सक्छौं। तर यहाँ हामीले सुरुवाती बिन्दु पत्ता लगाएर, आफ्नै नेतृत्वमा बाटो खन्दै हिंड्नुपर्छ। व्यक्तिगत अनुभवको आधारमा भन्दा, जुन काम गरेपनि त्यसको गहिराईमा पुग्ने मेरो बानीले गर्दा चुनौतीहरुको सामना गर्न मलाई सहज भएको छ। हाम्रो कामको प्रतिक्रिया स्वरुप आएको रिभ्युले पनि यो कुराको पुष्टि गर्छ। अर्कोतर्फ परिवारबाट पनि साथ पाएको छु। परिवार तथा व्यवसायमा सन्तुलन मिलाउन सक्ने हो भने अवश्य सफल भइन्छ। श्रीमती, एक छोरी र एक छोराको साथमा सुखी र सन्तुलित जीवन बाँचिरहेको छु। म मेरा सेवाग्राहीलाई पनि सन्तुलित जीवन जिउनको लागि प्रेरित गर्ने गर्छु।

अन्त्यमा, अष्ट्रेलियामा करियर खोजिरहेका युवाहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?
तपाईंहरुले केही सिप सिकेर, आत्मविश्वास लिएर आउनुस्। यहाँ आइसकेपछि पनि आफ्नो कार्य क्षमता बढाउने, आत्मविश्वास बढाउने प्रयास गर्नुस्। अर्को कुरा, कहिल्यै पनि एउटै काममा सन्तुष्ट भएर बस्नु हुँदैन। नयाँ नयाँ अवसरहरु खोज्ने, चनाखो बन्ने, सम्बन्ध विस्तार गर्ने र अवसरलाई चिन्ने गर्नुपर्छ। अवसरलाई कहिल्यै छोड्नु हुँदैन, चाहे जति नै मेहनत गर्नु परोस्।