महिलाहरुमा साहस र उत्प्रेरणा जगाउने उद्देश्यका साथ न्याभको एक फरक कार्यक्रम

0
716

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा बसोवास गर्ने नेपालीहरुको साझा संस्था नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले महिला सशक्तिकरणको लागि एक फरक किसिमको कार्यक्रमको आयोजना गरेको छ। शनिबार अर्थात १३ मार्चमा हुने उक्त कार्यक्रम अन्तर्राष्ट्रिय महिला दिवस विशेष कार्यक्रमको रुपमा आयोजना गरिएको हो।

कार्यक्रमका संयोजक तथा न्याभका उपाध्यक्ष ललिशा थापा भन्नुहुन्छ, “विभिन्न संघ संस्थाबाट महिला सम्बन्धि कार्यक्रमहरु भइरहेका हुन्छन्। त्यस्तै, कति महिलामाथि भएका हिंसा बाहिर देखिन्छन् भने कति देखिंदैनन्। हामीले महिलासम्बन्धि भएका कार्यक्रम त देख्छौं, तर उनीहरुको मनमा के छ, उनीहरु कुन अवस्थाबाट, कुन भावनाबाट गुज्रिरहेका छन् भन्ने थाहा पाउँदैनौं। महिलाले आफ्नो दबिएको भावना बाहिर ल्याउन् र त्यसलाई शक्तिमा बदल्ने आँट गरुन् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो”।

कार्यक्रमको ढाँचा बारे थापा भन्नुहुन्छ,” कार्यक्रममा सहभागी महिलाहरुलाई सेतो रंगको टिसर्ट दिइनेछ। उनीहरुले आफ्नो मनमा भएको भावना त्यो टिसर्टमा गोप्य रुपले लेख्नेछन् र एकै ठाउँमा टिसर्ट जम्मा गर्नेछन्। त्यसपछि महिलाहरुले तिनै टिसर्ट मध्येबाट आफ्नो मनलाई छोएको कुरा लेखेको एउटा टिसर्ट लिएर लगाउनेछन्। यसले गर्दा उनीहरुको मनमा भावना एक-अर्कासंग कनेक्ट हुनेछन् र उनीहरुले आफूलाई व्यक्त गर्न सहज मान्नेछन् “।

विगत नौं वर्षदेखि अष्ट्रेलियामा बसोवास गर्दै आउनुभएकी ललिशा थापा अध्यात्म तथा मानवतामा विश्वास गर्नुहुन्छ। न्याभ मार्फत संचालित अध्यात्मिक कार्यक्रमको पनि संयोजन गर्दै आउनुभएकी थापा आफ्नो आध्यात्मिक चेत तथा रुचीकै कारण यस किसिमको कार्यक्रमको अवधारणा बनेको बताउनुहुन्छ।

कार्यक्रममा यो बाहेक डिपीभी अष्ट्रेलियाद्वारा कोरोना तथा कोरोना विरुद्धको खोप सम्बन्धि सचेतनामुलक जानकारी, हिंसाका कारण ज्यान गुमाएका महिलाहरुको सम्झनामा दीप प्रज्वलन, विभिन्न संस्थामा आबद्ध महिलाहरुले आफू कसरी बलियो भएँ भन्ने विषयमा अनुभव सुनाउने कार्यक्रम, सिर्जना वाचन तथा मन्तव्यका कार्यक्रम पनि रहनेछन्। कार्यक्रम 495 Lygon St, Brunswick East VIC ३०५७ Cyprus Community of Melbourne & Victoria Pty Ltd मा दिउँसो तीन बजेदेखि संचालन हुनेछ।

संयोजक ललिशा थापाले आफू अध्यात्म, मानवता र भावनात्मक सम्बन्धमा विश्वास राख्ने हुनाले नेपाली समुदायमा योगदान दिने उद्देश्यका साथ न्याभमा जोडिएको उल्लेख गर्दै यो विशेष कार्यक्रम मात्र नभई अन्य समयमा पनि महिलाहरुका समस्या बुझ्नको लागि आफू तथा आफू आबद्ध संस्था न्याभ सधै तयार रहेको बताउनुहुन्छ। पेशाको हिसाबले उहाँ मेलबर्न क्राउनमा सुपरभाइजर पदमा कार्यरत हुनुहुन्छ।