कुल गार्हस्थ्य उत्पादनको ६० वर्षको इतिहासमा देशको अर्थतन्त्र माइनस १ दशमलव ९९ प्रतिशतमा

0
110

काठमाडौं । गत आर्थिक वर्ष ०७६/७७ मा देशको आर्थिक वृद्धिदर माइनस १ दशमलव ९९ प्रतिशतमा झरेको छ । कुल गार्हस्थ्य उत्पादनको गणना हुन थालेको ६० वर्षको इतिहासमा देशको अर्थतन्त्र यति कमजोर कहिल्यै भएको थिएन ।

यसअघि गत वैशाखमा आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशत रहने प्रक्षेपण गरिएको थियो । केन्द्रीय तथ्यांक विभागले बिहीबार अन्तिम गणना सार्वजनिक गरेको हो । कोरोना महामारीले देशभर गरिएको लकडाउनको असरका कारण आर्थिक वृद्धिदर माइनस दुई प्रतिशतनजिक पुगेको विभागको भनाइ छ ।

तथ्यांक विभागले ०२२ देखि मुलुकको कुल गार्हस्थ्य उत्पादनको तथ्यांक राख्न थालेको हो । विश्व बैंकले भने ०१८ देखिको तथ्यांक राखेको छ । यसअघि आव ०२३/२४, ०२७/२८ र ०२९/३० मा पनि अर्थतन्त्र संकुचनमा गएको थियो । तर, ती वर्षहरूमा क्रमशः माइनस १ दशमलव ५७, १ दशमलव ६४ र शून्य दशमलव ४९ प्रतिशतले मात्रै संकुचनमा गएको विभागको तथ्यांक छ । भूकम्प र नाकाबन्दीका कारण आव ०७२/७३ मा आर्थिक वृद्धि शून्य दशमलव दुई प्रतिशत मात्रै भएको थियो ।

‘गत आर्थिक वर्षको चैतदेखि असारसम्मको अन्तिम त्रैमासभरि आर्थिक गतिविधि सामान्य अवस्थामा नफर्किएका कारण आर्थिक वृद्धिदर ऋणात्मक देखियो,’ केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले भने । कोरोनाको प्रभाव देखिनुअघि भने सरकारले आर्थिक वृद्धिको लक्ष्य सात प्रतिशत राखेको थियो ।

गत आर्थिक वर्षको अन्तिम त्रैमासमा अघिल्लो आवको सोही त्रैमासको तुलनामा १५ दशमलव ४ प्रतिशतले वृद्धिदर ऋणात्मक भएको तथ्यांक विभागले जनाएको छ । चालू आर्थिक वर्ष सुरु भएपछि आर्थिक गतिविधि बढे पनि वृद्धिदर भने उत्साहप्रद हुन सकेको छैन । विभागले बिहीबार नै सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको पहिलो त्रैमास (साउन, भदौ र असोज)को आर्थिक वृद्धिदर पनि माइनस ४ दशमलव ६ प्रतिशतले ऋणात्मक छ ।

गत आर्थिक वर्षमा कोरोनाका कारण सबैभन्दा बढी प्रभाव आवास तथा भोजन सेवामा परेको विभागले जनाएको छ । यस क्षेत्रको वृद्धिदर २५ दशमलव ७ प्रतिशतले नकारात्मक बनेको थियो । दोस्रो गम्भीर प्रभाव परेको यातायात तथा भण्डारण क्षेत्र १३ दशमलव ४ प्रतिशतले माइनसमा गएको थियो । त्यस्तै, थोक तथा खुद्रा व्यापार, औद्योगिक उत्पादन, निर्माण, खानी तथा उत्खनन क्षेत्र पनि खुम्चिने संशोधित अनुमान छ । विद्युत् तथा ग्यास क्षेत्र २५ दशमलव ६ प्रतिशत, सार्वजनिक प्रशासन ६ दशमलव २ प्रतिशत र मानव स्वास्थ्य ५ दशमलव २ प्रतिशतले सकारात्मक वृद्धि हुने संशोधित अनुमान छ ।

अर्थतन्त्रको वृद्धिदर ऋणात्मक हुनुमा कोरोना महामारी प्रमुख कारण भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले बताए । ‘यसमा आधार वर्ष परिवर्तन पनि जोडियो, तर मुख्य कारण कोभिड नै हो,’ उनले भने । नयाँ पत्रिका