एक्स्पर्ट सगरमाथा ब्लुज स्टार्सले जित्यो १६औं ग्रेस न्याभ कपको उपाधि (फोटो फिचर)

0
316

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा नेपाली समुदायका क्रिकेट क्लबहरुको सबैभन्दा ठूलो प्रतियोगिता न्याभ कप टुर्नामेन्ट सम्पन्न भएको छ। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने नेपालीहरुको साझा संस्था ‘नेप्लिज एसोसिएसन अफ भिक्टोरिया’ अर्थात न्याभले न्याभकपको आयोजना गर्दै आएको छ। जसअनुरुप गत आइतबार, फेब्रुअरी २८ मा टुर्नामेन्टको फाइनल खेल तथा पुरस्कार वितरण र च्यारिटी म्याचसंगै १६ औं ग्रेस न्याभ कप सम्पन्न भएको हो।

जनवरी १० देखि शुरु भएको टुर्नामेन्टमा हरेक साताको आइतबार खेल हुँदै आएका थिए। जसमार्फत रोयल राइनोज क्रिकेट क्लब र एक्स्पर्ट सगरमाथा ब्लुज स्टार्स फाइनलमा पुगे। आइतबार भएको फाइनल खेलमा टस जितेर सुरुमा व्याटिंग रोजेको रोयल राईनोजले ९ विकेट गुमाउंदै ९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। राइनोजका लागि उत्सवले २३ रन, पुकारले १९ रन र संजोगले १४ रनको योगदान दिएका थिए।

जवाफी ब्याटिंगमा उत्रिएको एक्सपर्ट सगरमाथा ब्लूज स्टार्सले ५ विकेटको क्षतिमा १७.२ ओभरमा नै लक्ष्य पूरा गरेर १६ औं न्याभ कपको उपाधि जित्न सफल भयो । स्टार्सको जितमा कुशलले २४ रन, क्याप्टेन आशिषले २२ रन र धिरजले १५ रनको योगदान दिएका थिए। त्यस्तै, स्टार्सका क्याप्टेन आशिष जिसी म्यान अफ दि सिरिज घोषित भए ।

एघार टिम सहभागी भएको यसपालीको न्याभ कपमा एक्स्पर्ट सगरमाथा ब्लुज रेनेगड्सका विकेश श्रेष्ठले उत्कृष्ट ब्याट्सम्यानको उपाधि पाएका छन्। एक्स्पर्ट सगरमाथा ब्लुज स्टार्सका धिरज दासले उत्कृष्ट बलर, आयुष पौडेल उत्कृष्ट विकेट किपर र दिनेश सापकोटा उत्कृष्ट फ़िल्डर घोषित भएका छन्।

एघार टिम सहभागी भएको यसपालीको न्याभ कपमा एक्स्पर्ट सगरमाथा ब्लुज रेनेगड्सका विकेश श्रेष्ठले उत्कृष्ट ब्याट्सम्यानको उपाधि पाएका छन्। एक्स्पर्ट सगरमाथा ब्लुज स्टार्सका धिरज दासले उत्कृष्ट बलर, आयुष पौडेल उत्कृष्ट विकेट किपर र दिनेश सापकोटा उत्कृष्ट फ़िल्डर घोषित भएका छन्।

त्यस्तै, टुर्नामेन्टको फेयर प्ले उपाधि न्याभ टुर्नामेन्टमा पहिलो पटक सहभागी भएको फारवेस्ट हनटर्सले पाएको छ भने फेयर प्लेयरको उपाधि कुशल तुलाधरले प्राप्त गरेका छन्। टुर्नामेन्टको ‘प्रेसिडेन्ट पिक अफ द विक’ पहिलो, दोस्रो, तेस्रो, चौथो, सेमी-फाइनल र फाइनल सातामा क्रमश: रोयल राइनोजका पुकार, एक्स्पर्ट सगरमाथा ब्लुज स्टार्सका दिनेश, रोयल राइनोजका उत्सव, रोयल राइनोजका युनिल, रोयल राइनोजका चन्द र एक्स्पर्ट सगरमाथा ब्लुज स्टार्सका निकेशले प्राप्त गरेका छन्।

पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जन अतिथिको रुपमा एनआरएन भिक्टोरियाका अध्यक्ष प्रेम कँडेल, न्याभका अध्यक्ष राम गुरुङ, मुख्य प्रायोजक संस्था ग्रेस ईन्टरनेशनलका निर्देशक रामचन्द्र पौडेल, क्रिकेट भिक्टोरियाका प्रतिनिधि, भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसनका अध्यक्ष सुजीत बस्नेत, प्रायोजक मल्टिडायनामिक मेलबर्नका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि योञ्जनले न्याभ कपलाई निरन्तरता दिंदै नेपाली समुदायको खेल क्षेत्रलाई अगाडी बढाउनमा महत्वपूर्ण योगदान गरेकोमा आयोजक संस्था नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को प्रशंसा गर्नुभयो।

कार्यक्रममा अतिथिको रुपमा क्रिकेट भिक्टोरियाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो। उहाँहरुले क्रिकेट खेलमा नेपाली समुदायको सहभागिता तथा सक्रियता देखेर खुशी लागेको बताउंदै आयोजक संस्था, नेपाली क्रिकेट टिम तथा खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रमका अतिथि एनआरएन भिक्टोरियाका अध्यक्ष प्रेम कँडेलले न्याभ कपको निरन्तरताको कामना गर्दै सबैलाई बधाई व्यक्त गर्नुभएको थियो।

१६ औं न्याभ कपका डाइरेक्टर प्रेमराज उप्रेतीले प्रायोजकहरुको साथले न्याभ कपलाई निरन्तरता दिन सम्भव भएको बताउंदै ग्रेस, इन्टरनेशनल, मल्टिडायनामिक, चाण्ड्लर, हंग्री आइ लगायत सम्पूर्ण प्रायोजकहरुप्रति विशेष आभार व्यक्त गर्नुभएको थियो। उहाँले सहभागी टिम, खेलाडी सबैलाई धन्यवाद, बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले न्याभ कपमा टिम तथा खेलाडीहरुको उत्साहपूर्ण रुपमा सहभागीता बढेकोमा खुशी व्यक्त गर्नुभयो। डाइरेक्टर उप्रेतीले टिमको सहकार्य बिना कुनै पनि योजना तथा कार्यक्रम सफल नहुने उल्लेख गर्दै न्याभ कपका संयोजक नविन श्रेष्ठ र प्राविधिक प्रमुख विदुर शर्मा गिरिप्रति विशेष आभार व्यक्त गर्नुभयो।

१६ औं न्याभ कपको उपाधि विजेता टिम एक्स्पर्ट सगरमाथा ब्लुज स्टार्सले २ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको रोयल राइनोज क्रिकेट टिमले पुरस्कार स्वरुप १ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गरेको छ। यस टुर्नामेन्टमा ग्रेस इन्टरनेशनल र मल्टी डायनामिकले प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुका लागि विशेष पुरस्कारको व्यवस्था गरेका थिए। त्यसैगरी, न्याभ कपको हस्पिटालिटी पार्टनर हंग्री आइले प्रत्येक खेलका म्यान अफ द म्याचलाई ५० डलर बराबरको गिफ्ट भौचरको व्यवस्था समेत गरेको थियो।

यसपालीको न्याभ कप क्रिकेट टुर्नामेन्टमा रोयल राइनोज क्रिकेट क्लब, एक्स्पर्ट सगरमाथा स्टार्स, एक्स्पर्ट सगरमाथा रेनेगेड्स, एक्स्पर्ट सगरमाथा टाइटन्स, गोर्खाली क्रिकेट क्लब, फार वेस्ट हन्टर क्रिकेट क्लब, मेभेन क्रिकेट क्लब, नर्रे किंग्स क्रिकेट क्लब, ग्लोबल इन्टरफेस क्रिकेट क्लब, द हिमालयन टाइटन्स, द हिमालयन जायनट्स क्रिकेट क्लब प्रतियोगीको रुपमा सहभागी भएका थिए।

१६ औं न्याभकप समापनमा च्यारिटी म्याच समेत सम्पन्न भएको छ। नेपालको बैतडीमा बलात्कार पछि हत्या गरिएकी भागरथी भट्टको परिवारको सहयोगार्थ च्यारिटी म्याचको आयोजना गरिएको थियो। जसमा न्याभ टिम र एनआरएनए टिम खेलेका थिए। च्यारिटी म्याचमा खेलाडीहरु र सहभागीहरुले आर्थिक सहयोग प्रदान गरेका छन्। त्यस्तै, मल्टिडायनामिकले खेलाडी तथा सहभागीबाट जति रकम उठ्छ, त्यसको दोब्बर सहयोग प्रदान गर्ने बताएको छ।

आर्थिक संकलनको सम्पूर्ण विवरण सहित भागरथी भट्टको परिवारलाई छिट्टै सहयोग रकम हस्तान्तरण गरिएको च्यारिटी म्याचका संयोजक प्रेम राज उप्रेतीले बताउनुभएको छ।