अष्ट्रेलियाको अन्तर्राष्ट्रिय उडान अक्टोबरदेखि सुचारु गर्ने योजना रहेको क्वान्टासको घोषणा

0
1620

मेलबर्न। क्वान्टास एयरलायन्सले अष्ट्रेलियाको अन्तरराष्ट्रिय उडान सुचारु गर्ने घोषणा गरेको छ। एयरलाइन्सले आगामी अक्टोबर महिनादेखि उडान सुचारु गर्ने योजना बनाएको घोषणा गरेको हो।

कोरोना महामारीले गर्दा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान शत प्रतिशत र आन्तरिक उडान ७० प्रतिशत गुमाउनु परेको बताएको छ। कम्पनीका सीइओ एलन जोयसले अष्ट्रेलिया लगायत देशहरुमा कोरोना विरुद्धको खोप अभियान संचालन भएकोले आफूहरु अहिले आशावादी रहेको बताएका छन्।

जोयसले अष्ट्रेलियाका प्रिमियरहरु तथा मन्त्रीहरुसंग कुराकानी गरेको र ती कुराकानीले आफूलाई थप आशावादी बनाएको उल्लेख गरेका छन् । उनले खोप अभियान प्रभावकारी भएमा आन्तरिक उडान छिट्टै सुचारु हुने र अक्टोबर महिनाको अन्तिम सम्ममा अन्तर्राष्ट्रिय उडान सुचारु हुने सम्भावना रहेकोले सोही अनुसार क्वान्टासले योजना बनाएको बताएका छन्।