न्याभले अवसर मात्र होइन, युवा जोस भएका खेलाडीमा परिपक्कता पनि ल्याइदिएको छ: आशिष जिसी

0
391

विद्यार्थीको रुपमा २०१८ मा अष्ट्रेलिया आएका नवलपरासीका आशिष जिसी हाल जारी १६ औं न्याभ क्रिकेट टुर्नामेन्टको फाइनलमा पुगेको टिम एक्स्पर्ट सगरमाथा स्टार्सका क्याप्टेन हुनुहुन्छ। छोटो समयमा नै नेपाली समुदायको खेलकुदमा आफ्नो परिचय बनाउन सफल आशिषसंग न्याभकप फाइनलको सन्दर्भमा गरिएको विशेष कुराकानी :

अष्ट्रेलिया आएको तीन वर्षमा नै नेपाली समुदायमा आफ्नो खेलाडीको परिचय दिन सफल हुनुभयो। कसरी सम्भव भयो ?
खेलप्रति रुची थियो। तर नेपालमा क्रिकेटमा त्यस्तो उल्लेख्य रुपमा सहभागिता जनाएको थिइन। अष्ट्रेलिया आएको केही हप्ता पछि चिनजानकै माध्यमबाट सगरमाथा क्रिकेट क्लबमा आबद्ध भएँ। त्यसपछि क्रिकेटमा सक्रिय हुन थालेको हूँ। क्लबका अध्यक्ष संजय कंडेल दाइले यसमा मलाई अभिभावकको भूमिका निर्वाह गर्नुभएको छ। क्लबका म्यानेजरदेखि सम्पूर्ण खेलाडीहरुप्रति म कृतज्ञ छु। उहाँहरु सबैको साथ, सहयोग र हौसलाले यहाँसम्म आएको हूँ।

यति छोटो समयमा नै क्याप्टेनको भूमिका सम्हाल्न पाउनुभएको छ ? कस्तो लागिरहेको छ ?
एक्स्पर्ट सगरमाथाबाट स्टार्स मात्र नभएर अरु टिम पनि थियौं। जसमध्ये स्टार्स फाइनलमा पुगेको छ र यो टिमको क्याप्टेन हुन पाउनु मेरो लागि गौरवको कुरा हो। त्यसमा पनि यसको श्रेय कुशल तुलाधर दाइलाई जान्छ। पूर्व क्याप्टेन रहनुभएका उहाँले मलाई गाइड तथा सहयोग गरिरहनुभएको छ। डिसिजन मेकिङ्गमा कुशल दाइले नै साथ दिइरहनुभएको छ।

१६ औं न्याभ कपको उपाधी एक्स्पर्ट सगरमाथा स्टार्सले जित्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
हाम्रो टिममा सबैजसो युवा खेलाडीहरु छन्। एकदमै बलियो र सन्तुलित टिम छ। उनीहरुमा युवा जोससंगै खेलप्रति परिपक्कता महसुस गर्न सकिन्छ। त्यसैले ट्रफी हाम्रो हातमा आउनेछ भन्नेमा आशावादी छु।

युवाहरु अष्ट्रेलिया आएपछि आफ्नो रुची छोड्न बाध्य हुन्छन् पनि भनिन्छ नि !
समस्या जहाँ पनि हुन्छन्। यो व्यक्तिको इच्छाशक्तिमा भर पर्ने कुरा हो। काम र पढाइबाट हप्ताको सातै दिन र २४ घण्टा नै व्यस्त भइन्छ भन्ने हुँदैन। पाएको अलिकति समय आफूले के कुरामा खर्च गर्ने भन्ने हो। अलिकति निन्द्रा त्याग्न सक्नुपर्यो, एकछिनको रमाइलो त्याग्नुपर्यो, थकान सहनुपर्यो।

खेल, मनोरन्जन क्षेत्रमा लाग्न विद्यार्थीलाई पैसा अभाव पनि होला, कसरी त्यसलाई समाधान गर्ने ?
क्लबमा लाग्दा शुरुमा मसंग क्रिकेट खेल्ने सामग्री हुँदैनथ्यो। किन्ने पैसा थिएन। दाइहरुले सहयोग गर्नुभयो। विस्तारै त्यसमा सन्तुलन हुँदै गयो । सबैको साथ पनि पाएँ। नेपाली समुदाय सहयोगी छ। घुलमिल हुने, आवश्यक परे सहयोग माग्ने, अवसर प्राप्त भएको समयमा आफ्नो प्रतिभा देखाउने गर्दै गयो भने बाटो बन्दै जान्छ भन्ने लाग्छ।

तपाईंको चाहिं यो क्रिकेट क्षेत्रमा कहाँसम्म पुग्ने लक्ष्य छ ?
सिनियर, जुनियरबाट सिक्दै छु। अगाडी बढ्ने प्रयासमा छु। अहिलेको लागि मेरो लक्ष्य भनेको प्रिमियरसम्म पुग्ने हो।

प्रिमियरसम्म पुग्ने आफ्नो यात्रामा न्याभ कपको भूमिका कस्तो देख्नुहुन्छ ?
न्याभ कप नेपाली समुदायका उत्कृष्ट खेलाडी तथा टिम सहभागी हुने ठूलो प्रतियोगिता हो। यसमा खेलाडीको रुपमा सहभागी हुन पाउनु भनेको नेपाली समुदायको खेलाडीको लागि गौरवपूर्ण कुरा हुन्छ। त्यसमा पनि क्याप्टेनको भूमिका पाउनु मेरो लागि ज्यादै ठूलो कुरा हो। यसले मेरो आत्मविश्वास बढाइदिएको छ। यही न्याभ कपले नै मलाई प्रिमियरसम्म पुग्ने चाहना जगाइदिएको हो। न्याभ कप व्यवस्थापन टिमदेखि आयोजक संस्था न्याभप्रति म सधै कृतज्ञ छु। यसका साथै प्रायोजक संस्थाहरुप्रति पनि सम्पूर्ण खेलाडीहरुको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु।

मल्टि डायनामिकले गर्दा पनि यस वर्षको न्याभ कप विशेष रह्यो भन्ने आइरहेको छ, यसमा तपाईंको के विचार छ ?
न्याभले खेलाडीहरुलाई प्लाटफर्म सिर्जना गरिदिएको छ। र, अहिले मल्टिडायनामिकले त्यो प्लाटफर्ममा आफ्नो प्रतिभा देखाइरहेका खेलाडीहरुलाई हौसला प्रदान गरिरहेको छ। हामीलाई काम छोडेर पनि खेलको लागि समय दिन सक्ने वातावरण बनाइदिएको छ। यो त हामी युवा खेलाडीहरुका लागि एकदमै ठूलो कुरा हो।

अन्त्यमा, केही भन्न चाहनुहुन्छ कि ?
एक्स्पर्ट सगरमाथा क्लबका सम्पूर्ण शुभेच्छुक, मलाई साथ दिने सम्पूर्ण सिनियर जुनियर, १६ औं न्याभकप आयोजक टिम, मेरो टिम सबैलाई विशेष धन्यवाद दिन चाहन्छु।