न्याभ कपको ट्रफी दोस्रो पटक हाम्रो हुनेमा आशावादी छु: निरज श्रेष्ठ

0
412

नेपालको बर्दिवास स्थायी घर भएका निरज श्रेष्ठ २०१५ मा अष्ट्रेलिया आउनुभएको हो। नेपालमा छँदा नै क्रिकेटप्रतिको लगाव रहेका श्रेष्ठले अष्ट्रेलियामा काम खोज्नुपर्ने, काम पाएपछि त्यसमा केन्द्रित हुनुपर्ने चुनौतीपूर्ण समयका कारण शुरुमा खेलप्रति सोंच्न पनि भ्याउनुभएको थिएन । अहिले अष्ट्रेलियामा जारी १६ औं न्याभ क्रिकेट टुर्नामेन्टको फाइनलमा पुगेको रोयल राइनोज क्रिकेट क्लबका क्याप्टेन निरज श्रेष्ठसंग उहाँको यो खेल यात्रा, न्याभ टुर्नामेन्ट लगायत विषयमा रहेर गरिएको संक्षिप्त कुराकानी :

रोयल राइनोज र न्याभ कपसंगको तपाईंको यात्रा बारे बताइदिनुहोस् न !
अष्ट्रेलिया आएको केही समय ग्याप भयो। त्यसपछि म २०१७ मा रोयल राइनोजसंग जोडिएको हूँ। रोयल राइनोजमा पहिलो टुर्नामेन्ट खेलिसकेपछि नै मलाई क्याप्टेनको लागि अफर गर्नुभयो। त्यसयता क्याप्टेनको रुपमा रहँदै आएको छु। न्याभ कपमा सहभागिताको कुरा गर्दा, म रोयल राइनोजसंग आबद्ध हुनुभन्दा पहिले देखिनै टिम न्याभ कपमा सहभागी भइसकेको थियो। मलाई लाग्छ, २०१५ देखि नै रोयल राइनोज न्याभ कपमा प्रतियोगीको रुपमा रहँदै आएको छ।

रोयल राइनोज न्याभ कपको फाइनलमा पुगेको यो कतिऔं पटक हो ?
यो लगातार चौंथो पटक हो । गत तीन वर्षमा एक पटक ट्रफी जित्यौं। दुई पटक रनर-अप रह्यौं।

अहिले आफ्नो टिमले ट्रफी जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
विश्वस्त भन्दा पनि आशावादी छु। रोयल राइनोजको टिममा धेरै अलराउण्डर खेलाडीहरु हुनुहुन्छ। त्यसकारण पनि हामीले ट्रफी उचाल्न पाउने सम्भावना देख्छु।

राम्रा खेलाडीहरु न्याभ कपभन्दा माथि पुग्ने ठाउँ पाएनन् भन्ने गुनासाहरु पनि आउँछन् नि !
नेपाली समुदायका लागि न्याभले सिर्जना गरेको यो प्लाटफर्म हाम्रो लागि निकै ठूलो हो। न्याभले गर्दा नै नेपाली विद्यार्थीहरुले अहिले क्रिकेटप्रतिको आफ्नो रुचीलाई जीवित राख्न पाएका छन्, क्रिकेटमा आफ्नो भविष्य खोज्न सक्ने भएका छन्। यसको लागि म न्याभलाई धन्यवाद दिन चाहन्छु। र, भीएनसीएले उमेर अनुसारका प्लाटफर्म सिर्जना गरेको छ। त्यस्तै, नेपाली कम्युनिटी मात्र नभएर अरु कम्युनिटीसंग क्रिकेट खेल्ने ग्रेड क्रिकेट जस्ता अवसर पनि सिर्जना भइरहेका छन्। ग्रेड क्रिकेटबाट प्रिमियरमा जान सकिन्छ। विस्तारै धेरैभन्दा धेरै अवसर सिर्जना भइरहेका छन् । खेलाडीले म क्रिकेटमै केही गर्छु भनेर लाग्ने हो भने अगाडी बढ्न सक्ने सम्भावना देख्छु।

खेलमै मात्र लागेर बाँच्न सकिने अवस्था छ त ?
पहिले हामीले काम छोडेर, आम्दानीको माया मारेर, खर्च गरेर खेल्न आउनुपर्थ्यो। अहिले न्याभ कपमा नै हेर्दा पनि, खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार राखिएका छन् । न्याभ र मल्टिडायनामिकको सहकार्यले गर्दा विद्यार्थीहरु काम छोडेर खेल्न आउन सक्ने वातावरण बनेको छ। केही क्लबहरुले फ्री इन्ट्री र फ्री सामग्रीहरुको व्यवथा गरिरहेका छन्। यसले गर्दा खेलमा लाग्न चाहने विद्यार्थीलाई सहयोग पुगेको छ। तर अहिले खेलमै लागेर बाँच्न सकिने अवस्था छैन। यो कुरामा भने आशावादी रहन सकिन्छ कि, नेपाली समुदायको खेल क्षेत्र अझ व्यापक र सहभागीमूलक हुनेछ। जसले गर्दा खेलमा लाग्न चाहनेहरुले आफ्नो भविष्य सुनिश्चित गर्न सक्नेछन् ।

अष्ट्रेलियामा रहेको अरु समुदायको तुलनामा नेपाली समुदायको खेल क्षेत्र कुन स्थानमा देख्नुहुन्छ?
नेपाली समुदायमा खेलाडी मात्र नभएर अन्य व्यक्ति, व्यवसायी, संस्था पनि खेल क्षेत्रतर्फ आकर्षित हुँदै गएका छन्। यसले गर्दा सबै मिलेर नयाँ अवसर सिर्जना भएका छन् । त्यस्तै, विभिन्न समुदायसंगका प्रतियोगितामा पनि नेपालको राम्रो स्थान देख्न सकिन्छ। हाम्रो हेर्दा, ग्रेड क्रिकेटमा हामी पहिले डि ग्रेडमा प्रवेश गरेका थियौं, अहिले बि ग्रेडमा छौं।

तपाईंको आफ्नो खेल भविष्य कहाँसम्मको देख्नुहुन्छ ?
म ठूलो क्रिकेटर बन्छु भनेर खेलेको खेलाडी होइन। आफ्नो रुची र आत्मसन्तुष्टिका लागि खेल्छु। त्यसैले आफूलाई निखार्ने कोसिस गर्छु, तर जहाँसम्म छु, खुशी छु।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
रोयल राइनोजलाई माया गर्ने नेपाली समुदाय, हाम्रा प्रायोजक संस्थाहरुलाई विशेष धन्यवाद दिन चाहन्छु। मेरो सम्पूर्ण टिमप्रति आभारी छु। त्यसैगरी, न्याभप्रति कृतज्ञता प्रकट गर्दै शुभकामना व्यक्त गर्न चाहन्छु।