लाप्राक बस्ती निर्माणका लागि काठ आपूर्ति गर्न माग

0
231

काठमाडौं, फागुन १३ 

गोरखा जिल्लाको लाप्राक गुप्सिपाखा क्षेत्रमा आवास निर्माणका लागि आवश्यक पर्ने काठ उपलब्ध गराउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आग्रह गरेको छ । लाप्राक नमुना बस्ती निर्माणका अध्यक्ष कुमार पन्तसहित गैरआवासीय नेपाली संघको टोलीले बुधबार वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेलाई मन्त्रालयमा भेटगरी गुप्सिपाखा क्षेत्रमा निर्माणाधीन लाप्राक नमुना बस्ती निर्माणका लागि आवश्यक पर्ने कम्तिमा पनि ६ हजार क्यूफिट काठ उपलब्ध गराइदिन माग गरेको हो ।

विसं २०७२ सालमा गएको भूकम्पमा परेर उक्त क्षेत्रमा ५७३ घर भत्किएका थिए । पुरानो लाप्राक बस्ती भूकम्पको जोखिममा परेका कारण सरकारले रेडजोन घोषणा गरी गुप्सिपाखामा बस्ती स्थानान्तरण गरेको थियो । उक्त क्षेत्रमा बस्ती स्थानान्तरण गर्न सरकारले १८.३२ हेक्टर जमिन उपलब्ध गराएको थियो ।घर निर्माण गर्ने क्रम जारी रहेपनि आवश्यक पर्ने काठ उपलब्ध नभएका कारण अहिले आवश्यक पर्ने काठका लागि पहल गरीदिन आग्रह गरिएको पन्तले जानकारी दिए ।

काठ नभएका कारण लाप्राक क्षेत्रमा कम्तिमा पनि २०० घरहरुको निर्माणको काम रोकिएको गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश राणाले बताए । “हामीले घरहरु निर्माण गर्दैछौँ, काठ नहुँदा २०० घरको काम रोकिने अवस्था आएपछि हामीले काठ उपलब्ध गराउन आग्रह गरेका छौँ ।” उनले भने ।

भूकम्पका कारण भत्किएका घरहरु निर्माणको जिम्मा गैरआवसीय नेपाली संघ (एनआरएनए) ले लिएको छ । भूकम्पका कारण भत्किएका ५७३ घरहरु निर्माणका लागि २५ हजार क्यूफिट काठको आवश्यक पर्ने भएपनि हालसम्म १९ हजार क्यूफिट आपूर्ति भएको र अब बाँकी ६ हजार क्यूफिट काठको आवश्यक रहेको छ ।लाप्राक नमुना बस्ती निर्माणका पदाधिकारीलाई वन तथा वातावरणमन्त्री आलेले घर निर्माणका लागि आवश्यक पर्ने काठ आपूर्तिका लागि तत्काल पहल गर्ने आश्वासन दिएका छन् ।

गोरखा जिल्ला अन्तर्गत पर्ने सामुदायिक वनबाट लारपाक नमुना बस्ति निर्माणकालागि काठ उपलब्ध गराउने गरी तयारी भइरहेको वन तथा वातावरण सचिव विश्वनाथ ओलीले जानकारी दिए । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दहालले विसं २०७३ सालको असोज महिनामा बस्ती निर्मणका लागि शिलान्यास गरेका थिए ।