अष्ट्रेलियाको पर्थमा मनाइयो ल्होसार मकरसंक्रान्ति, माघी र उधौली उभौली

0
78

पर्थ। वेस्टर्न अष्ट्रेलियामा बसोवास गर्ने नेपालीहरुको साझा संस्था नावाको आयोजनामा पर्थमा नेपाली पर्वहरु धुमधामका साथ मनाइएको छ। गत आइतबार ल्होसार, मकरसंक्रान्ति, माघी तथा उधौली उभौली कार्यक्रम संयुक्त रुपमा सम्पन्न भएका छन् । ‘अनेकतामा एकता, नेपालीको विशेषता’ भन्ने नाराका साथ कार्यक्रम क्लोभरडेल स्थित बेल्मोन्ट स्पोर्टस एन्ड रिक्रिएशन क्लबमा सम्पन्न भएको हो।

गुरुङ, तमाङ, लिम्बु, थारु, मगर लगायत सम्पूर्ण नेपाली समुदाय सहभागी रहेको कार्यक्रममा मौलिक भेषभुषा, नृत्य तथा नेपाली कला संस्कृति समेटिएका प्रस्तुतिहरुले रौनक थपेका थिए। नावाका अध्यक्ष मणी पनेरुले विदेशमा रहेतापनि नेपाली कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष संयुक्त रुपमा ल्होसार मकर संक्रान्ति, माघी तथा उधौली उभौली आयोजना गर्दै आएको बताउनुभयो।

कार्यक्रममा तमु, गेल्मो र सोनाम ल्होसारका बारेमा सोही समुदायका प्रतिनिधिहरुले यस पर्व र यससँग जोडीएका रोचक प्रसँगहरुका बारेमा उपस्थित समुदायलाई जानकारी गराउनुभएको थियो। विभिन्न समुदायबाट उपस्थित कलाकारहरुले आफ्नो समुदायसँग जोडीएका साँस्कृतिक झाकी प्रस्तुत गर्दै उपस्थित सबैलाई मनोरन्जन दिलाएका थिए। कार्यक्रममा नेपाली खानाको समेत प्रबर्द्धन गरिएको थियो।