चितवन राष्ट्रिय निकुञ्जको कसरामा कुहिँदै अखेटोपहार

0
34

चितवन, फागुन ११

चितवन राष्ट्रिय निकुञ्जको कसरामा भण्डारण गरिएका अखेटोपहार कुहिन थालेका छन्। प्राकृतिक कारणले मरेका र तस्करीबाट बरामद जीवजन्तुका अखेटोपहार कसरामा राखिएको छ। तर, दुर्लभ तथा लोपोन्मुख जीवजन्तुका अखेटोपहार व्यवस्थापनमा समस्या देखिएको छ।

‘अखेटोपहार लामो समय जोगाएर राख्ने प्रविधि नहुँदा भण्डारणमा समस्या भएको छ’, निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले भने, ‘संकलन गर्दाको अवस्थाबाट घट्दै जाने हुनाले जोगाएर राख्न नसकेको आरोप भण्डार शाखाका कर्मचारीमा छ।’

जलाएर नष्ट गर्नुपर्ने भएकाले भण्डारणस्थलमा औषधिको प्रयोग गरिँदैन। औषधि प्रयोग नगरिँदा सडेर दुगन्ध फैलिन सुरु गरेको छ। ‘एक किलोको गैंडाको खाग सडेर नाम मात्रको भएको छ। बाघको छाला कुहिएको छ। अन्य वन्जन्तुको अंग पनि त्यस्तै छन्’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने। यस्ता वस्तु सबै राम्रै अवस्थामा छन् भन्ने अवस्था नभएकाले छिट्टै व्यवस्थापन गर्न उचित हुने बरालको भनाइ छ।

देशभरबाट अखेटोपहार संकलन गरी कसरामा भण्डारण गरिन्छ। कसरामा २०७४ यताका अखेटोपहार छन्। सबैभन्दा बढी गैंडाका खाग छन्। गैंडाका खुर, बाघ, चितुवाका छाला, हात्तीका दाह्रा, मृग प्रजातिका छाला र सिङ छन्। अन्नपूर्ण पोस्ट् दैनिकबाट