न्याभ कपको फाइनलमा पुगे एक्स्पर्ट सगरमाथा स्टार्स र रोयल राइनोज

0
140

मेलबर्न। अष्ट्रेलियामा जारी न्याभ कपका सेमी-फाइनल खेलहरु गत आइतबार सम्पन्न भएका छन्। जसमा विजयी बन्दै एक्स्पर्ट सगरमाथा स्टार्स र रोयल राइनोजले फाइनल प्रतिस्पर्धाको लागि यात्रा तय गरेका छन्।

सेमी फाइनलका पहिलो खेलमा नार्रे किंग्स र एक्स्पर्ट सगरमाथा स्टार्स मैदानमा उत्रिएका थिए। टस जितेर ब्याटिंग रोजेको नार्रे किंग्सले १९ ४ ओभरमा अल आउट हुँदै ११७ रन मात्र बनाउन सक्यो। जसको लागि टिमका क्याप्टेन आकाशले ३५ रन र रोशनले १७ रनको योगदान दिए। त्यस्तै, स्टार्सका लागि धिरज दासले ४ र पारसले २ विकेट लिएका थिए।

जवाफी ब्याटिंग गरेको स्टार्सले ओपनर खेलाडीहरुकै योगदानमा ११ रनमा नै नार्रे किंग्सले दिएको लक्ष्य हासिल गर्यो। ओपनरहरु राज कुमार र टिम क्याप्टेन आशिषले क्रमश: ५६ र ४९ रन बनाएका थिए। त्यस्तै, उत्कृष्ट ब्याटिंगका लागि एक्स्पर्ट सगरमाथा स्टार्सका राज कुमार म्यान अफ द म्याच घोषित भए।

सेमी-फाइनलको दोस्रो खेल रोयल राइनोज र हिमालयन जायनट्स बीच भएको थियो। रोयल राइनोजले टस जितेर बलिङ्ग रोजेपछि हिमालयन जायनट्स ब्याटिंगमा उत्रिएको थियो। जसमा २० ओभरमा ६ विकेट गुमाउंदै जायनट्सले १०१ रन मात्र बनाउन सक्यो। जायनट्सका लागि टिम क्याप्टेन सन्दीपले १६ रन बनाए भने निशान्तले ४७ रन बनाएका थिए। त्यस्तै, राइनोजका लागि टिम क्याप्टेन निरजले २ र युनिलले एक विकेट लिन सफल भएका थिए।

जायनट्सले दिएको लक्ष्य पछ्याउदै राइनोजले १८ ४ ओभरमा नै जित हासिल गर्यो। राइनोजका लागि चन्दले ४२ र बिक्रमले २६ रनको योगदान दिएका थिए। त्यस्तै, राइनोजले ६ विकेटको क्षति व्यहोर्नुपर्यो। जायनट्सका लागि निशान्त र रोशनले २/२ विकेट लिएका थिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका निशान्त म्यान अफ द म्याच घोषित भए।

सेमी-फाइनलका विजेता टिम एक्स्पर्ट सगरमाथा स्टार्स र रोयल राइनोज अब उपाधिको लागि भिड्नेछन्। भिक्टोरियावासी नेपालीहरुको साझा संस्था नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभले) आयोजना गर्दै आएको न्याभ कपको यसपालीको संस्करण जनवरी १० देखि सुरु भएको हो। प्रतियोगिताको फाइनल खेल २८ फेब्रुअरीमा हुनेछ।

१६ औं न्याभ कपको उपाधि विजेताले २ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता बन्ने क्रिकेट टिमले पुरस्कार स्वरुप १ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ।

यी पुरस्कार बाहेक ग्रेस इन्टरनेशनल र मल्टी डायनामिकले प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुका लागि विशेषपुरस्कारको व्यवस्था गरेका छन्। त्यसैगरी, न्याभ कपको हस्पिटालिटी पार्टनर हंग्री आइले प्रत्येक खेलका म्यान अफ द म्याचलाई ५० डलर बराबरको गिफ्ट भौचरको व्यवस्था समेत गरेको छ।

यसपालीको न्याभ कप क्रिकेट टुर्नामेन्टमा रोयल राइनोज क्रिकेट क्लब, एक्स्पर्ट सगरमाथा स्टार्स, एक्स्पर्ट सगरमाथा रेनेगेड्स, एक्स्पर्ट सगरमाथा टाइटन्स, गोर्खाली क्रिकेट क्लब, फार वेस्ट हन्टर क्रिकेट क्लब, मेभेन क्रिकेट क्लब, नर्रे किंग्स क्रिकेट क्लब, ग्लोबल इन्टरफेस क्रिकेट क्लब, द हिमालयन टाइटन्स, द हिमालयन जायनट्स क्रिकेट क्लब प्रतियोगीको रुपमा सहभागी रहेका छन्।