अष्ट्रेलियामा जारी न्याभ कपमा आइतबार हुँदैछन् सेमीफाइनल खेल

0
92

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा जारी १६ औं ग्रेस इन्टरनेशनल न्याभ कप टुर्नामेन्टमा फेब्रुअरी २१, आइतबार सेमीफाइनल खेल हुनेभएका छन्। लकडाउन हटेसंगै आइतबारदेखि न्याभ कप सुचारु हुन लागेको हो।

आइतबार हुने सेमिफाइनलमा चार टिम भिड्नेछन्। जसमध्ये हिमालयन जायनट्स र रोयल राइनोज बीच ग्राउण्ड एकमा प्रतिस्पर्धा हुनेछ भने ग्राउण्ड २ मा एक्स्पर्ट सगरमाथा स्टार्स र नार्रे किङ्ग्स बीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान ९ बजेदेखि शुरु हुने बताइएको छ। भिक्टोरियामा सरकारले लागु गरेको पाँच दिने लकडाउनका कारण गत साता न्याभ कपका खेल रोकिएका थिए। रोकिएका खेलका लागि पोइन्ट सेयरिङ्गको आधारमा टुर्नामेन्ट पहिलेकै तालिका अनुसार सुचारु गरिएको हो।

प्रतियोगिताको फाइनल खेल २८ फेब्रुअरीमा हुनेछ। भिक्टोरियावासी नेपालीहरुको साझा संस्था नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभले) आयोजना गर्दै आएको न्याभ कपको यसपालीको संस्करण जनवरी १० देखि सुरु भएको हो।

यसपालीको न्याभ कप क्रिकेट टुर्नामेन्टमा रोयल राइनोज क्रिकेट क्लब, एक्स्पर्ट सगरमाथा स्टार्स, एक्स्पर्ट सगरमाथा रेनेगेड्स, एक्स्पर्ट सगरमाथा टाइटन्स, गोर्खाली क्रिकेट क्लब, फार वेस्ट हन्टर क्रिकेट क्लब, मेभेन क्रिकेट क्लब, नर्रे किंग्स क्रिकेट क्लब, ग्लोबल इन्टरफेस क्रिकेट क्लब, द हिमालयन टाइटन्स, द हिमालयन जायनट्स क्रिकेट क्लब प्रतियोगीको रुपमा सहभागी छन्।

१६ औं न्याभ कपको उपाधि विजेताले २ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता बन्ने क्रिकेट टिमले पुरस्कार स्वरुप १ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ।

यी पुरस्कार बाहेक ग्रेस इन्टरनेशनल र मल्टी डायनामिकले प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुका लागि विशेषपुरस्कारको व्यवस्था गरेका छन्। त्यसैगरी, न्याभ कपको हस्पिटालिटी पार्टनर हंग्री आइले प्रत्येक खेलका म्यान अफ द म्याचलाई ५० डलर बराबरको गिफ्ट भौचरको व्यवस्था समेत गरेको छ।