महिलाले कहिले सुरक्षा र न्यायको अनुभुति गर्न पाउँछन्?

0
113

जनक सापकोटा

महिला हिंसाका कहालिलाग्दो घटनाहरु दिनप्रतिदिन बढ्दै गईरहेका छन । परिवार, समाज तथा अन्य कार्यगत क्षेत्रमा महिला हिंसाका घटनाहरु आजभोलिको मुख्य समाचार बन्ने गरेको छ । हाम्रो पितृसत्तात्मक नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा गरिने व्यवहार अहिले पनि कायमै छ ।

हाम्रो नेपाली समाज छाउपडि, देउकी, दाइजो लगायत अन्य प्रथाले गाँजेको छ र यो अन्धविश्वासको चरम चपेटामा महिलाहरु परेका छन । उनिहरु अझै भान्छाकोठामा मात्र काम गर्न बाध्य भएकोले अझै स्वतन्त्रताको आहालमा बस्न सकिरहेका छैनन । यसको सृजनाकर्ता भनेको रुढीबादी परम्परा, अन्धविश्वासमा थलिएको यहि समाज हो ।

बलात्कार र घरेलु हिसां अनि समाजमा लगाइने अनेकौ बोक्सि, अलछिन जस्ता बिनाअर्थका आरोपहरु झेल्न अझै बाध्य छन । बाबूबाट छ‍ोरी बलात्कृत, छोराबाट आमा बलात्कृत, छिमेकि अङ्कलबाट पल्लाघरे साइला बाकि छोरी बलात्कृत, पढाउने शिक्षकद्दारा विद्यार्थी बलात्कृत श्रीमानद्वारा श्रीमतिको हत्या, दाइज‍ो नल्याएको निउमा ससुराबाट बुहारिको हत्या, छाउपडि नगएको निउमा बाबू द्दारा छोरिको हत्या यस्ता घटना दिनँहु घट्नु महिला सुरक्षामाथिको चुनौति हो ।

बिहान स्कुल गएकी छोरी साँझ सकुशल घर फर्किने हो कि होइन ? दिनभर काम गर्न गएकी बहिनी साझँ घर फर्किने हो कि होइन ? त्यति मात्र होइन घर फर्कन थोरै ढिलो मात्र गरेपनि अनेकौ आशङ्का र डर परिवारका सदस्यमा उत्पन्न हुन्छ । यसबाट प्रष्ट छ कि हाम्रो समाजमा अझै पनि महिलाहरुले सुरक्षाको अनुभूति गर्न सकिरहेका छैनन ।

कञ्चनपुरकि बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको झण्डै साढे दुई वर्ष पुग्यो अझैसम्म पनि हत्यारा पत्ता लगाउन नसक्नु र यस्ता घटना पटकपटक दोहोरीनुले कानुन र राज्यमाथि प्रश्न चिह्न खडा भएको छ । यहि हप्ता मात्र बैतडिकी १७ वर्षिय भागरथी भट्टको बलात्कार पछि घाँटी थिचि हत्या गरेको घटना सामाजिक सञ्जालमा चर्चा छ । न्याय पाउने झिनो आश त छ तर सरकार प्रतिभरोसा भने एकदमै कम छ । राजनीतिक आडमा अपराधीलाई उन्मुक्ति दिने र घटनालाई मोडिदिने हुनाले पनि राजनीतिक आडमै यस्ता घटनाले थप मलजल पाइरहेका छन ।

राष्ट्रको प्रमुख पदमा महिला रहिरहँदा महिलाका समस्याप्रति अलिकति पनि जिम्मेवारी बन्न नसक्नाले महिला नेतृत्व माथि महिला लगायत सबैले नैतिकताको प्रश्न उठाउन बाध्य हुनुपर्ने अवस्था छ ।पदिय र पार्टीगत स्वार्थमा लिप्त रहेको राजनीति झुन्डले महिलाको न्यायको लागि अलिकति पनि आवाज उठाउने साहस गर्दैनन किनकि यस्ता घटनाले उनिहरुलाई खासै फरक पार्दैन । महिला नेतृत्वले महिलाको लागि केही गर्न नसक्नु दुःखद पक्ष हो भने धेरै महिलाको आशा र भरोसामाथिको गद्दारि पनि हो ।

नेपालको सन्दर्भमा समाजमा यस्ता घटना आज आन्दोलन हुन्छ, विरोध हुन्छ, आवाज चर्को हुन्छ तर भोलि बिस्तारै आवाज कम हुन्छ । त्यसपछि यस्ता घटना बिस्तारै सेलाएर जान्छ । अवस्था जहाँको त्यहि पिडित परिवार सधैं अन्यायमा छटपटाइरहन्छ । केही समयपछि फेरि त्यस्तै घटना दोहोरिन्छ । न दोषिलाई कारबाही हुन्छ, न त पिडितले नै न्याय पाउँछ । लडाई राज्य र कानुनसगँ हो तर त्यो भन्दा ठूलो लडाइँ मानवको नाममा जन्मेका कलङ्कहरुविरुद्धको हो ।

कानुनसगँ बलात्कारी डराउँदैन डराउँछ त बलात्कारीसगँ कानुन अनि महिला सुरक्षित चाहिँ हुन्छन कसरी ? राज्यसगँ बलात्कारि होइन बलात्कारिसगँ राज्य डराउँछ । अनि न्याय माग्न कहाँ जाने ? यो त कानुन,राज्य माथिको सबैभन्दा ठूलो चुनौति हो ।

कानुनको उपयुक्त पालना, सचेततामुलक कार्यक्रम सञ्चालन, महिला सशक्तीकरण केन्द्रित कार्यक्रम, महिला हिंसा गर्नेमाथि कडा भन्दा कडा कानुनको व्यवस्था र कार्यान्वयन, राजनीतिक आडमा अपराधीलाई लुकाउने प्रवृत्तिको अन्त्य र बलात्कारीलाई पिडादायी फाँसीको कारबाहीको कार्यन्वयन गर्नुपर्छ ।