अष्ट्रेलियामा जारी न्याभ कपमा यो आइतबार पनि हुनेछन् चार खेल, यस्तो छ खेल तालिका

0
140

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा यतिबेला १६ औं ग्रेस इन्टरनेशनल न्याभ कप क्रिकेट टुर्नामेन्ट चलिरहेको छ। भिक्टोरियावासी नेपालीहरुको साझा संस्था नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभले) आयोजना गर्दै आएको न्याभ कपको यसपालीको संस्करण जनवरी १० देखि सुरु भएको हो।

साताको हरेक आइतबार चलिरहेको टुर्नामेन्टमा चौथो सातासम्मका खेल सम्पन्न भएका छन् । हरेक साता चार खेल हुँदै आएकोमा आगामी आइतबार अर्थात् ७ जनवरीमा पनि चार खेल हुनेछन्।

न्याभ कपका संयोजक नविन श्रेष्ठका अनुसार, आइतबार हिमालयन जायनट्स र एक्स्पर्ट सगरमाथा टाइटन्स, ग्लोबल इन्टरफेस र नार्रे किंग्स, मेभेन क्रिकेट क्लब र एक्स्पर्ट सगरमाथा रेनेगड्स तथा हिमालयन टाइटन्स र गोर्खाली क्रिकेट क्लब भिड्नेछन्।

बिहान ९ बजे ग्राउण्ड १ मा ग्लोबल इन्टरफेस र नार्रे किंग्स मैदानमा उत्रिनेछन् भने बिहान ९ बजे नै ग्राउण्ड २ मा मेभेन क्रिकेट क्लब र एक्स्पर्ट सगरमाथा बीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी दिउँसो १ बजे ग्राउण्ड १ मा हिमालयन जायनट्स र एक्स्पर्ट सगरमाथा टाइटन्स बीच खेल हुनेछ भने ग्राउण्ड २ मा हिमालयन टाइटन्स र गोर्खाली क्रिकेट क्लब बीच खेल हुनेछ।

यसपालीको न्याभ कप क्रिकेट टुर्नामेन्टमा रोयल राइनोज क्रिकेट क्लब, एक्स्पर्ट सगरमाथा स्टार्स, एक्स्पर्ट सगरमाथा रेनेगेड्स, एक्स्पर्ट सगरमाथा टाइटन्स, गोर्खाली क्रिकेट क्लब, फार वेस्ट हन्टर क्रिकेट क्लब, मेभेन क्रिकेट क्लब, नर्रे किंग्स क्रिकेट क्लब, ग्लोबल इन्टरफेस क्रिकेट क्लब, द हिमालयन टाइटन्स, द हिमालयन जायनट्स क्रिकेट क्लब प्रतियोगीको रुपमा सहभागी छन्।

प्रतियोगिताको फाइनल खेल २८ फेब्रुअरीमा हुनेछ। १६ औं न्याभ कपको उपाधि विजेताले २ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता बन्ने क्रिकेट टिमले पुरस्कार स्वरुप १ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ।

यी पुरस्कार बाहेक ग्रेस इन्टरनेशनल र मल्टी डायनामिकले प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुका लागि विशेषपुरस्कारको व्यवस्था गरेका छन्। त्यसैगरी, न्याभ कपको हस्पिटालिटी पार्टनर हंग्री आइले प्रत्येक खेलका म्यान अफ द म्याचलाई ५० डलर बराबरको गिफ्ट भौचरको व्यवस्था समेत गरेको आयोजक संस्था न्याभका उपाध्यक्ष तथा न्याभ कपका डाइरेक्टर प्रेम राज उप्रेतीले जानकारी दिनुभएको छ।