अष्ट्रेलियन पीआरको लागि गन्तव्य बनिरहेको तास्मानिया: विद्यार्थीका लागि अवसर र चुनौती

0
1939

नेपाली विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्ययनको गर्न अष्ट्रेलिया उत्तम गन्तव्य बनिरहेको छ। नेपालमा कक्षा १२ अथवा स्नातक पास गरिसकेपछि अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सिप र कला सिक्ने तथा उक्त सिकाइलाई आफ्नो देशमा लगेर भरपुर उपयोग गर्ने चाहाना बोकेर वर्षेनी हजारौ संख्यामा नेपाली विद्यार्थीहरु अष्ट्रेलिया भित्रीरहेको कुरा हामी सबैमाझ छर्लङ्ग छ।

अष्ट्रेलिया आइसकेपछि यहाँको शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षाको राम्रो व्यवस्थापन तथा उपयुक्त हावापानी र सहज जीवनशैलीका कारण धेरैजसो विद्यार्थीहरु आफ्नो पढाइ सकेपछि पनि यही देशमा स्थायी बसोवास गरी आफ्नो जीवन बिताउन चाहन्छन्। त्यसैले अष्ट्रेलियामा स्थायी बसोवास गर्न पाउने पिआर भिजा अहिलेको बेलामा करिब सबैजसो अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अत्यन्तै चासोको विषय बनेको छ। अष्ट्रेलियाका मुख्य सहरहरु सिड्नी, मेलबर्न र ब्रिसबेनमा अध्ययन तथा बसोवास गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलियन सरकारले पिआर भिजामा अलि कडाइ गरेको छ। जसले गर्दा अष्ट्रेलियाका मुख्य सहरमा अध्ययन तथा बसोवास गर्ने धेरैजसो विद्यार्थीहरु अष्ट्रेलियाको रिजनल क्षेत्रमा बसाइ सर्ने र अध्ययन गर्ने क्रम बढ्दो छ।

त्यसो त अष्ट्रेलियाको सबैजसो स्टेटमा मुख्य सहरभन्दा बाहिरका केही क्षेत्रहरुलाइ रिजनल क्षेत्रमा समावश गरिएको छ। तर पनि ती क्षेत्रहरुमा पिआर भिजा 190 अथवा 491 का लागि पूरा गर्नुपर्ने आवश्यक मापदण्ड भने सोचे जस्तो सजिलो नभएको कुरा ग्लोबल मार्क एजुकेसन एन्ड भिजा सर्भिसेजका रजिस्टर्ड माइग्रेसन एजेन्ट उज्ज्वल श्रेष्ठ बताउनुहुन्छ। अन्य राज्यहरुको तुलनामा स्थायी बसोवास भिजा प्राप्त गर्न अष्ट्रेलियाको तास्मानिया राज्यमा केही सजिलो भएको कारण अहिले अन्य विभिन्न राज्यहरुबाट हजारौको संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीहरु तास्मनिया आउने गरेका छन्।

तास्मनियन राज्य विभागले सन २०५० सम्ममा तास्मनियाको जनसंख्या छ लाख पचास हजार पुर्याउने उद्देश्य लिएको छ। यही उद्देश्य अनुरुप तास्मानियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि पिआर भिजा प्राप्त गर्नुपर्ने आवश्यक मापदण्डमा अन्य राज्यहरुभन्दा अलगै तथा सजिला मापदण्ड समावेश गरेको छ। तर पनि अष्ट्रेलियन केन्द्रीय सरकारले यहाँका विभिन्न राज्यलाई पिआर भिजाको लागि दिने सिमित कोटाको कारण सबै पिआर भिजा आवेदकहरुले पिआर पाउने सम्भावना भने छैन।

तास्मानिया आएर पनि पिआर प्राप्त गर्नका लागि सक्षमहरु मध्येपनि अझ सक्षम हुन आवश्यक देखिन्छ। राज्य विकासका निम्ति तास्मानियाले आफ्नो राज्यमा सहि दक्ष जनशक्तिको पहिचान गरेर त्यस्ता व्यक्तिहरुलाई मात्र स्थायी बसोवासको लागि मनोनयन गर्ने र अध्यागमन विभागलाई भिजा आबेदनका लागि अनुरोध गर्ने गर्दछ। तसर्थ तास्मानिया आएर यहाँको मनोनयन मापदण्ड पूरा गरेर मात्र पिआर भिजा प्राप्त गर्न सकिन्छ भन्ने कुराको विश्वास गरी तास्मानियामा बसाइ सर्नु भन्दापनि पहिले तास्मानिया राज्यको लागि चाहिने एउटा दक्ष जनशक्तिको रुपमा आफूले आफैलाइ कसरी विकास गर्न सकिन्छ भन्ने कुरा मुख्य हुन आउँछ।

तास्मानिया राज्यको पछिल्लो जानकारी अनुसार, तास्मानियाको दक्ष जनशक्तिको सूचीमा आउने पेशाहरु भनेको तास्मानियाले निकालेको दक्ष पेशाको सूचीमा रहेका विषयहरुको अध्ययन तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थकर्मीहरु जस्तै डाक्टर, नर्स, सहयोगी नर्स, एज्ड केयर तथा डिसएबिलिटि क्षेत्रमा व्यक्तिगत हेरचाहा गर्ने सहयोगीहरु, इन्जिनीयर, कुक, सेफ, पर्यटन एवम् हस्पिटालिटी क्षेत्रमा काम गर्ने, सामुदायिक सेवामा काम गर्ने र भवन तथा निर्माण सम्बन्धी काम गर्ने पेशाहरु हुन।

स्थायी बसोवास भिजा प्राप्त गर्न चाहाने विद्यार्थीका लागी तास्मानिया सबैभन्दा उत्त्तम तथा सजिलो गन्तव्य बन्न सक्छ तर पनि यहाँ बसाइ सर्नु भन्दा पहिला, यहाँ पिआर प्राप्तिका लागि पूरा गर्नुपर्ने आवश्यकताहरु के के हुन, आवश्यकता पूरा गरेर आफैलाई कसरी तास्मानियाको लागि चाहिने दक्ष जनशक्तिको रुपमा विकास गर्न सकिन्छ भन्ने कुराको बारेमा गहिरो अध्ययन गर्ने र आवश्यकता परे आधिकारिक र माइग्रेसन एजेन्ट एवम् शैक्षिक परामर्शदातासङ्ग उचित सल्लाह लिनुपर्ने हुन्छ।