‘न्याभले खेलाडीका लागि अझै ठूला अवसर सिर्जना गर्नुपर्छ, हामी सहयोग गर्न तयार छौं’

0
203

अष्ट्रेलियाको भिक्टोरियामा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को आयोजनामा १६ औं न्याभ कप क्रिकेट टुर्नामेन्ट चलिरहेको छ। यो न्याभ कपको मूख्य प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी हो। न्याभ कप, नेपाली समुदायको खेल क्षेत्र र ग्रेस इन्टरनेशनलको बारेमा हिमालयन कंगारुले ग्रेस इन्टरनेशनल ग्रुपका प्रबन्ध निर्देशक राम चन्द्र पौडेलसंग गरेको संक्षिप्त कुराकानी :

न्याभ कपमा न्याभसंग ग्रेस इन्टरनेशनलको सहकार्य कहिलेदेखि शुरु भएको हो?
ग्रेस इन्टरनेशनल नेपालमा २००६ मा स्थापना भएको थियो। विभिन्न देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सेवा प्रदान गर्ने क्रममा अष्ट्रेलियाको मेलबर्नमा २०१५ मा रिजनल अफिस स्थापना गर्यौं। र, २०१५ देखि नै न्याभ कपसंग सहकार्य शुरु गरेका हौँ।

न्याभसंग सहकार्य शुरु गर्नुको उद्देश्य के थियो ?
सबै कुरा व्यवसायिक मात्र हुँदैन। व्यवसाय आफ्नो ठाउँमा छ। समुदायप्रति पनि हाम्रो उत्तरदायित्व हुन्छ। न्याभ कप मार्फत हामीले नेपाली समुदायका युवाहरुलाई प्रोत्साहन गर्न सकेका छौं। अर्कोतर्फ, न्याभ भिक्टोरियावासी नेपालीहरुको पूरानो संस्था हो। नेपाली समुदायलाई विभिन्न क्षेत्रमा अगाडी बढाउनको लागि प्रयासरत यो संस्थाले खेल क्षेत्रमा गरेको प्रयास प्रशंसनीय छ। त्यसैले न्याभकपमा मूख्य प्रायोजकको रुपमा जोडिन पाउनु हाम्रो लागि खुशीको कुरा हो।

हाल जारी रहेको १६ औं न्याभ कपमा खेलाडीहरुको सहभागिता र प्रदर्शन कस्तो पाउनुभएको छ?
पहिले क्लबहरु थोरै थिए। त्यसमध्ये एउटा क्लबको दुईवटा टिम बन्न पनि मुस्किल पर्थ्यो। तर अहिले क्लब बढेका छन्। एउटै क्लबका तीन टिम छन्। खेलाडीहरुले खेल्दा मैत्रीपूर्ण तरिकाले खेलिरहेका छन्। उनीहरुको प्रदर्शन पनि अघिल्ला वर्षहरुमा भन्दा निखारींदै आएको महसुस गर्न सकिन्छ।

न्याभ कपमा उत्कृष्ट खेल प्रस्तुति गरिरहेका खेलाडीहरु योभन्दा अगाडी बढ्न सक्ने सम्भावना कत्तिको देख्नुहुन्छ?
अगाडी बढ्नुपर्छ र भविष्य पनि राम्रो छ। तर त्यसको लागि खेलाडीहरुलाई हामीले साथ दिनुपर्छ। न्याभले पनि न्याभ कप भन्दा अझ माथिका अवसरहरु सिर्जना गर्नुपर्छ। त्यसको लागि न्याभलाई सहयोग गर्न हामी सधै तयार छौं।

न्याभ कपमा खेलाडीहरुलाई प्रोत्साहन गर्न ग्रेस इन्टरनेशनलले गरेका प्रयासबारे बताइदिनुहोस् न!
न्याभ कपमा प्रमुख त ग्रेस इन्टरनेशनलले मूख्य प्रायोजकको रुपमा सहयोग गरिरहेको छ। खेलाडीहरुका लागि यो अप्रत्यक्ष सहयोग भयो। प्रत्यक्ष सहयोग भनेको, हामीले म्यान अफ द म्याचलाई २५० डलरको डिस्काउण्ट भौचर उपहार स्वरुप राखेका छौं। त्यस्तै, न्याभ कपमा खेल्ने खेलाडीहरुलाई पढाइ तथा भिसामा कसरी सहयोगी भूमिका खेल्न सकिन्छ भनेर हामी सधै प्रयासरत छौं।

न्याभ कपमा अघिल्ला वर्षहरुको व्यवस्थापन र अहिलेमा के फरक पाउनुभएको छ?
सबैले अनुभवहरुबाट सिक्दै जाने हो। न्याभ कप व्यवस्थापनमा पनि बिस्तारै सुधार हुँदै आएको छ। खेल मैदानमा संस्थाका प्रतिनिधिहरुको उपस्थिति पनि अहिले बढिरहेको देखेको छु। यसलाई अझ राम्रो बनाउने प्रयास जारी राख्नुहुनेछ भन्नेमा म न्याभ कप आयोजक टिमप्रति विश्वस्त छु।

आयोजक संस्था न्याभलाई केही सुझाव दिन चाहनुहुन्छ कि?
न्याभले अझै धेरै गर्न बाँकी छ। न्याभ भिक्टोरियावासी नेपालीहरुको पूरानो संस्था हो। यहाँ नेपालीहरुले संचालन गरिरहेका संस्थाहरु थुप्रै छन्। न्याभले ती सबै संस्थालाई लिएर आगाडी बढ्नुपर्छ। स्पोर्ट्स मात्र नभएर न्याभले धेरै क्षेत्रमा प्रभावकारी कार्यक्रमहरु अगाडी बढाउनुपर्छ। त्यसको लागि आवश्यक मोरल तथा फाइनान्सियल सपोर्टको लागि ग्रेस इन्टरनेशनल न्याभको साथमा छ।

अन्त्यमा, ग्रेस इन्टरनेशनलको बारेमा थोरै बताइदिनुहोस् न !
कोही विद्यार्थी समस्यामा हुनुहुन्छ भने आवश्यक सल्लाह-सुझावको लागि हामीलाई सम्झिन सक्नुहुन्छ। हामी पैसाको पछाडी कहिल्यै दौडिएनौं। अष्ट्रेलियामा नै पढ्नुस् भन्दा पनि विद्यार्थीलाई कुन देशमा पढ्ने इच्छा छ, उसको आर्थिक अवस्था कस्तो छ, उसले पढ्न चाहेको विषय के हो र उसको जीवनको उद्देश्य के हो भन्ने बुझेर आवश्यक सल्लाह दिन्छौं। विद्यार्थी मात्र नभएर उनीहरुका अभिभावकलाई पनि काउन्सिलिङ्ग गर्छौं। त्यस्तै, यहाँ आउँदा विद्यार्थीको आफन्त नभएमा उसलाई एयरपोर्टमा पिक-अप गर्न जाने, खाने तथा बस्ने व्यवस्था गरिदिने गर्छौं। विद्यार्थीहरु शुरुमा काम कसरी खोज्ने भन्ने अलमलमा हुन्छन्। त्यसैले काम कसरी खोज्ने भन्ने बारे सिकाउने, रिज्युमी बनाउन तालिम दिनेगर्दै उनीहरुलाई गाइडेन्स गर्छौं। ग्रेस इन्टरनेशनलले प्रदान गर्ने सेवालाई विद्यार्थीहरुले मन पराएकै कारण हाम्रा शाखा कार्यालयहरु विस्तार गरिरहेका छौं। नेपालमा काठमाडौं, बुटवल, पोखरा, चितवन, हेटौडा, विराटनगर, दमक, नेपालगंज लगायतका मूख्य शहरमा हाम्रा शाखा कार्यालय छन्।त्यस्तै, अष्ट्रेलियामा मेलबर्न, सिड्नी, एडलेड, पर्थ हाम्रा शाखा कार्यालय रहेका छन्।