अष्ट्रेलियामा जारी न्याभ कपको चौथो साताका खेलको यस्तो रह्यो नतिजा

0
146

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को आयोजनामा क्रिकेट टुर्नामेन्ट चलिरहेको छ। साताको हरेक आइतबार चलिरहेको टुर्नामेन्टमा चौथो साताको आइतबार अर्थात् हिजो चार खेल सम्पन्न भएका छन्।

चौथो साताको पहिलो खेलमा रोयल राइनोज र एक्सपर्ट सगरमाथा रेनेगड्स मैदानमा उत्रिएका थिए। जसमा रोयल राइनोजले टस जितेर ब्याटिंग रोजेको थियो। ७ विकेटको क्षति व्यहोर्दै राइनोजले मोहन पुनको ४३ रन र मनोज टन्डनको २५ रनको योगदानमा १३५ रनको लक्ष्य प्रस्तुत गर्यो। रेनेगड्सका लागि बलिङ्ग तर्फ उत्कृष्ट प्रस्तुत गर्दै दिनेश र असिमले २/२ विकेट लिन सफल भएका थिए।

राइनोजले दिएको लक्ष्य पछ्याएको रेनेगड्सले २० ओभरमा १०६ रन मात्र बनायो। खेलमा राइनोजका लागि युनिल श्रेष्ठले रेनेगड्सको ६ विकेट लिए भने निरजले २ विकेट लिएका थिए। पहिलो खेलमा रेनेगड्सलाई २९ रनले पछि पार्दै रोयल राइनोज विजेता बन्न सफल भयो। त्यस्तै, खेलमा बलिङ्ग तर्फ शानदार प्रदर्शन गरेका राइनोजका युनिल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलमा ग्लोबल इन्टरफेसले एक्सपर्ट सगरमाथा टाइटन्सलाई ७ विकेटले पराजित गर्यो। यसअघि टस जितेर ब्याटिंग रोजेको टाइटन्सले ७२ रन मात्र बनाउन सफल रह्यो। टाइटन्सको ब्याटिंगमा निर्दोषले १९ र अनिशले १७ रन बनाउंदै उत्कृष्ट प्रदर्शन गरेका थिए। ग्लोबलका लागि दीपेनले ४ र नविनले २ विकेट लिएका थिए। उत्कृष्ट बलिङ्गका कारण दीपेन म्यान अफ द म्याच समेत घोषित भए।

जवाफी ब्याटिंगमा ग्लोबलले अनुप र नविनको २९/२९ रनको योगदानमा १६.१ ओभरमा नै जित हासिल गर्यो। खेलमा टाइटन्सका लागि प्रशन र निर्मलले १/१ विकेट लिएका थिए।

तेस्रो खेलमा प्रतिस्पर्धाका लागि एक्स्पर्ट सगरमाथा स्टार्स र मेभेन क्रिकेट क्लब मैदानमा उत्रिएका थिए। जसमा टस जितेर ब्याटिंग रोजेको मेभेनले २० ओभरमा ९० रन मात्र बनाउन सफल रह्यो। खेलमा मेभेनका लागि मनिष र अजयले उत्कृष्ट ब्याटिंग गरेका थिए। उनीहरुले क्रमश: २४ र १६ रन बनाए। त्यस्तै, स्टार्सका लागि निकेश र राज कुमारले मेभेनको २/२ विकेट लिए।

जवाफी ब्याटिंगमा स्टार्सले ४ विकेटको क्षति व्यहोर्दै ११ रनमा नै जित हासिल गर्यो। खेलमा स्टार्सका लागि आशिष र सुमितले क्रमश: २४ र १६ रन बनाउंदै उत्कृष्ट ब्याटिंग गरेका थिए। त्यस्तै, मेभेनका लागि प्रकाश अधिकारीले स्टार्सको दुई विकेट लिएका थिए। खेलको म्यान अफ द म्याचको उपाधि स्टार्सका निकेश खनालले प्राप्त गरे।

चौथो साताको चौथो तथा अन्तिम खेल हिमालयन जायनट्स र फारवेस्ट हनटर्स बीच भएको थियो। जसमा टस जितेर ब्याटिंग रोजेको जायनट्सले ६ विकेटको क्षतिमा १५६ रन बनाउन सफल रह्यो। खेलमा जायनट्सका सुनिल र निशान्तले क्रमश: ४४ र ४० रन बनाउंदै उत्कृष्ट ब्याटिंग गरेका थिए भने हनटर्सका लागि प्रेम उप्रेतीले २ र दिनेशले १ विकेट लिए।

जायनट्सले दिएको लक्ष्य पछ्याएको हनटर्सले २० ओभरमा ८ विकेटको क्षति व्यहोर्दै ९४ रन मात्र बनाउन सफल रह्यो। हनटर्सका लागि प्रदीप र अभिषेकले उत्कृष्ट ब्याटिंग प्रस्तुत गरेका थिए। नट आउट रहँदै प्रदीपले ३४ रन बनाए भने अभिषेकले १७ रन बनाएका थिए। त्यस्तै, जायनट्सका लागि सुमन र केशवले हनटर्सको ३/३ विकेट लिन सफल भए। खेलको म्यान अफ द म्याचको उपाधि जायनट्सका निशान्तले प्राप्त गरे।

यी चार खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई खेल पश्चात पुरस्कार वितरण गरिएको थियो। ग्रेस इन्टरनेशनल र मल्टी डायनामिकले प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुका लागि नगद पुरस्कारको व्यवस्था गरेका छन्। त्यसैगरी, न्याभ कपको हस्पिटालिटी पार्टनर हंग्री आइले प्रत्येक खेलका म्यान अफ द म्याचलाई ५० डलर बराबरको गिफ्ट भौचरको व्यवस्था समेत गरेको छ।

गत जनवरी १० देखि १६ औं न्याभ कप क्रिकेट टुर्नामेन्ट शुरु भएको हो। प्रतियोगिताको फाइनल खेल २८ फेब्रुअरीमा हुनेछ। १६ औं न्याभ कपको उपाधि विजेताले २ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता बन्ने क्रिकेट टिमले पुरस्कार स्वरुप १ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ।