अष्ट्रेलियामा जारी न्याभ कपको तेस्रो साताका खेलको यस्तो रह्यो नतिजा (फोटो फिचर सहित)

0
218

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को आयोजनामा क्रिकेट टुर्नामेन्ट चलिरहेको छ। गत जनवरी १० देखि १६ औं न्याभ कप क्रिकेट टुर्नामेन्ट शुरु भएको हो। साताको हरेक आइतबार चलिरहेको टुर्नामेन्टमा गत आइतबार चार खेल सम्पन्न भएका छन्।

पहिलो खेल रोयल राइनोज र हिमालयन टाइटन्स बीच भएको थियो। जसमा टस जितेको रोयलले ब्याटिंग रोजेको थियो। रोयलले २० ओभरमा १२७ रन बनाउन सफल रह्यो। जवाफी ब्याटिंगमा हिमालयनले १४.४ ओभरमा ७१ रन बनाएको थियो। रोयल राइनोजले ५६ रनले जितेको उक्त खेलमा रोयल राइनोजकै खेलाडी पुकार म्यान अफ द म्याच घोषित भए।

हिमालयन जायनट्स र ग्लोबल इन्टरफेस बीच भएको खेलमा टस जितेर ब्याटिंग रोजेको हिमालयन जायनट्सले ११३ रनको लक्ष्य प्रस्तुत गर्यो। जवाफमा ग्लोबल इन्टरफेसले ८५ रन मात्र बनाउन सक्यो। हिमालयन जायनट्सले २८ रनले जितेको उक्त खेलमा हिमालयन जायनट्सकै खेलाडी रोशन म्यान अफ द म्याच घोषित भए।

त्यस्तै, तेस्रो साताको तेस्रो खेल फारवेस्ट हनटर्स र एक्स्पर्ट सगरमाथा टाइटन्स बीच भएको थियो। जसमा टस जितेर ब्याटिंग रोजेको हनटर्सले २० ओभरमा १३० रन बनाउन सफल भयो। जवाफी ब्याटिंग गरेको एक्स्पर्ट सगरमाथा टाइटन्सले १० रनले हार व्यहोर्नुपर्यो। उक्त खेलमा उत्कृष्ट ब्याटिंगको लागि फारवेस्ट हनटर्सका प्रेम उप्रेती म्यान अफ द म्याच घोषित भए।

तेस्रो साताको अन्तिम खेलमा एक्स्पर्ट सगरमाथा रेनेगड्स र गोर्खाली क्लब मैदानमा उत्रिएका थिए। जसमा रेनेगड्सले टस जित्यो र बलिङ्ग रोज्यो। पहिले ब्याटिंग गर्ने मौका पाएको गोर्खालीले १७ ओभरमा ६४ रन मात्र बनाउन सफल रह्यो । रेनेगड्सले ८ विकेटले जितेको उक्त खेलमा रेनेगड्सकै दिनेश सुवेदी उत्कृष्ट बलिङ्गका लागि म्यान अफ द म्याच घोषित भए।

यी चार खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई खेल पश्चात पुरस्कार वितरण गरिएको थियो। ग्रेस इन्टरनेशनल र मल्टी डायनामिकले प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुका लागि नगद पुरस्कारको व्यवस्था गरेका छन्।

प्रतियोगिताको फाइनल खेल २८ फेब्रुअरीमा हुनेछ। १६ औं न्याभ कपको उपाधि विजेताले २ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता बन्ने क्रिकेट टिमले पुरस्कार स्वरुप १ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ।