ब्रिसबेन। ब्रिसबेनमा कोरोना संक्रमण नियन्त्रणका लागि जारि प्रतिबन्ध खुकुलो हुने भएको छ। क्विन्सल्याण्ड राज्य सरकारले शुक्रबार बिहान १ बजेदेखि प्रतिबन्ध खुकुलो बनाइने घोषणा गरेको हो।
बेलायतमा देखिएको नयाँ कोरोना भाइरस संक्रमण ब्रिसबेनमा पनि समुदाय स्तरमा दुई जनामा पुष्टि भएपछि कडा लकडाउनको घोषणा गरिएको थियो। लगातार दश दिनसम्म पनि नयाँ संक्रमित नभेटीएपछि राज्य सरकारले प्रतिबन्ध खुकुलो बनाउने निर्णय गरेको हो।
शुक्रबार देखि हुने परिवर्तन :
मास्क अनिवार्य नहुने तर संक्रमणको जोखिम कम गर्नको लागि सकेसम्म सबैले लगाउन अनुरोध।
विवाह समारोहमा दुई सय जनासम्म मानिस भेला हुन सकिने।
घरमा ५० जना र पार्कमा एक सय जनासम्म जम्मा हुन सकिने।
काजक्रिया तथा अन्तिम संस्कारमा दुई सय जनासम्म भेला हुन सकिने।
पब तथा रेष्टुरेन्टमा एक जना बराबर दुई वर्ग मिटर ठाउँ।
ग्राहकले खाँदा या पिउँदा अनिवार्य बस्नु नपर्ने।
कन्सर्ट हल तथा थिएटरमा ५ सय जनासम्म बस्न सकिने।
आउटडोर स्टेडियममा सय प्रतिशत क्षमतामा दर्शक राख्न सकिने।