अष्ट्रेलियामा जारी न्याभ कपको दोस्रो सातामा भएका चार खेलको यस्तो रह्यो नतिजा

0
198

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को आयोजनामा क्रिकेट टुर्नामेन्ट चलिरहेको छ। गत जनवरी १० देखि १६ औं न्याभ कप क्रिकेट टुर्नामेन्ट शुरु भएको हो।

न्याभ कप क्रिकेट टुर्नामेन्ट आगामी २८ फेब्रुअरीसम्म हरेक हप्ताको आइतबार चल्नेछ। जस अन्तर्गत टुर्नामेन्टको दोस्रो हप्ता अर्थात गत आइतबार चार खेल सम्पन्न भएका छन्।

दोस्रो हप्ताको पहिलो खेलमा एक्स्पर्ट सगरमाथा स्टार्सले हिमालयन टाइटनलाई १८ रनले पराजित गरेको छ। यसअघि टस जितेर ब्याटिंग रोजेको स्टार्सले १९.१ ओभरमा अल आउट हुँदै १ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिंगमा हिमालयन टाइटनले २० ओभरमा ९ विकेट गुमाउंदै ९९ रन मात्र बनाउन सफल रह्यो। उक्त खेलमा हिमालयन टाइटनका सरोज क्षेत्री म्यान अफ द म्याच घोषित भएका छन्। सरोजले एक्स्पर्ट सगरमाथा स्टार्सको ३ विकेट लिन सफल भएका थिए भने ब्याटिंग तर्फ पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।

त्यस्तै, दोस्रो खेल द हिमालयन जायनट्स र नर्रे किंग्स बीच भएको थियो। जसमा टस जितेर ब्याटिंग रोजेको हिमालयनले २० ओभरमा तीन विकेट गुमाउंदै १२० रन बनाउन सफल रह्यो। जवाफी ब्याटिंग गरेको नर्रे किंग्सले २० ओभरमा ३ विकेट गुमाउंदै ११७ रन मात्र बनायो। र, द हिमालयन जायनट्स तीन रनले विजेता घोषित भयो। उक्त खेलमा द हिमालयन जायनट्सका सुमन थापा म्यान अफ द म्याच बन्न सफल भए।

त्यस्तै, फार वेस्ट हन्टरस् र ग्लोबल इन्टरफेस बीच भएको तेस्रो खेलमा टस जितेर फार वेस्टले ब्याटिंग रोजेको थियो। ग्लोबल इन्टरफेसको उत्कृष्ट बलिङ्गका कारण फार वेस्ट ६९ रनमा सिमित भयो। जवाफी ब्याटिंग गरेको ग्लोबल इन्टरफेस ८.२ ओभरमा नै ६ विकेटले विजेता घोषित भयो। खेलमा फार वेस्ट हन्टरस्का संदेश म्यान अफ म्याच बन्न सफल भए। यी दुवै टिम न्याभ कपमा पहिलो पटक सहभागी भएका हुन्।

दोस्रो हप्ताको अन्तिम अर्थात चौथो खेल मेभेन क्रिकेट क्लब र गोर्खाली क्रिकेट क्लब बीच भएको थियो। जसमा गोर्खालीले टस जितेर ब्याटिंग रोजेको थियो। सुनिल खनाल एक्लैले ३२ रन बनाएको भएतापनि टिमले २० ओभरमा ४ विकेट गुमाउंदै १ सय रन मात्र बनाउन सक्यो। जवाफी ब्याटिंग गरेको मेभेन १५ ओभरमा नै उक्त लक्ष्य पार गर्दै विजेता घोषित भयो। मेभेनले ९ विकेटले जितेको उक्त खेलमा बलिङ्ग र ब्याटिंग दुवै तर्फ उत्कृष्ट प्रदर्शन गरेका मेभेनका अजय शर्मा म्यान अफ द म्याच घोषित भए।

ग्रेस इन्टरनेशल मुख्य प्रायोजकको रुपमा रहेको यसपालीको न्याभ कप क्रिकेट टुर्नामेन्टमा रोयल राइनोज क्रिकेट क्लब, एक्स्पर्ट सगरमाथा स्टार्स, एक्स्पर्ट सगरमाथा रेनेगेड्स, एक्स्पर्ट सगरमाथा टाइटन्स, गोर्खाली क्रिकेट क्लब, फार वेस्ट हन्टर क्रिकेट क्लब, मेभेन क्रिकेट क्लब, नर्रे किंग्स क्रिकेट क्लब, ग्लोबल इन्टरफेस क्रिकेट क्लब, द हिमालयन टाइटन्स, द हिमालयन जायनट्स क्रिकेट क्लब उपाधिको लागि भिड्दैछन् ।

१६ औं न्याभ कपको उपाधि विजेताले २ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता बन्ने क्रिकेट टिमले पुरस्कार स्वरुप १ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ। यस बाहेक, प्रायोजक संस्था समेत रहेको मल्टी डायनामिक रियल स्टेट मेलबर्नले यसपाली न्याभ टुर्नामेन्टका खेलाडीहरुलाई डलरको वर्षा गरिदिने भएको छ। टुर्नामेन्टको प्रायोजक समेत रहेको यस कम्पनीले प्रत्येक खेलमा खेल्ने खेलाडीहरुका लागि नगद पुरस्कार घोषणा गरेको हो।

जसअनुसार, खेलमा १ सय रन बनाउने खेलाडीले १ हजार डलर, ह्याट्रिक गर्नेले ५ सय डलर, ५० रन बनाउने खेलाडीले १ सय डलर, ५ विकेट लिने खेलाडीले २५० डलर र एक छक्का बराबर २५ डलर नगद पुरस्कार प्राप्त गर्नेछन्।