मेलबर्नमा बालबालिका तथा समग्र नेपाली समुदायको खेल क्षेत्रको विकासका लागि नि:शुल्क क्रिकेट तालिम

0
146

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा रहेका नेपाली समुदायका बालबालिकाको लागि खेल क्षेत्रमा सिकाइको लागि एउटा सुन्दर अवसर मिल्ने भएको छ। हिमालयन क्लबले क्रिकेट भिक्टोरियाको सहयोगमा बालबालिकाका लागि यो अवसर सिर्जना गरिदिएको हो।

यस कार्यक्रम अन्तर्गत नेपाली समुदायका ४० जना बालबालिकाले क्रिकेट सम्बन्धि तालिम लिन पाउनेछन्। तालिम बारे प्रष्ट पार्दै कार्यक्रमका संयोजक तथा हिमालयन क्लबका पब्लिक रिलेसन अफिसर तारा गैरे भन्नुहुन्छ, ” क्रिकेट अष्ट्रेलियाको स्ट्रक्चर अनुसार, त्यसकै मातहतमा सबै राज्यमा क्रिकेट निकाय हुन्छन् र ती निकायले क्रिकेट सम्बन्धि विकासमा काम गरिरहेका हुन्छन्। जस अन्तर्गत यो तालिम पनि एक हो। यो तालिम क्रिकेटमा अगाडी बढ्ने व्यक्तिको लागि पहिलो आधार खुड्किलो हो”।

उहाँ थप्नुहुन्छ, ” यो तालिम ५ देखि ८ वर्ष उमेर समूहका बालबालिकाका लागि हो। यो तालिममा बच्चालाई खेल्न सिकाउनेभन्दा पनि क्रिकेट तर्फ आकर्षित गराउने र क्रिकेटका आधारभूत कुराहरु बारे जानकारी गराउने गरिन्छ। जब बच्चाले यो तालिम सक्छ, त्यसपछि उसले आफ्नो उमेर अनुसार तालिम लिंदै जान्छ र उमेर समूह अन्तर्गतका खेल खेल्न थाल्छ। त्यसपछि राष्ट्रिय टिममा पुग्छ। नेपाली समुदायलाई खेल क्षेत्रमा अगाडी बढाउनको लागि बालबालिकाको वृद्धि विकासको लागि यो तालिम निकै महत्वपूर्ण छ “।

यस तालिममा क्रिकेट अष्ट्रेलियाबाट बालबालिकाहरुको लागि नि:शुल्क क्रीकेट ब्याट, ब्याग, टि-सर्टको व्यवस्था रहेको छ। बालबालिकाले क्रिकेट भिक्टोरियाका कोच र हिमालयन क्लबका खेलाडीहरुबाट तालिम पाउनेछन्। तालिम आगामी फेब्रुअरी १६ देखी हरेक मंगलवार साँझ ६.३० देखी ७.३० सम्म TW Blake Park Preston मा हुनेछ। तालिममा सहभागिताका लागि नाम दर्ता गर्नुपर्नेछ। हालसम्म २३ जना बालबालिकाले नाम दर्ता गराइसकेको आयोजक संस्थाले जनाएको छ। रजिस्टर गर्नको लागि https://www.playcricket.com.au/club-finder मा क्लिक गरेर कोड : VIC2021WWCF75 प्रयोग गर्नुपर्नेछ।

आयोजक संस्था हिमालयन क्लब क्रीकेट भिक्टोरिया अन्तर्गत रजिस्टर भएको पहिलो क्रिकेट क्लब हो। २००९ मा साथी-साथी बीच क्रिकेट खेलबाट सुरु भएको यो संस्था २०११ मा आधिकारिक संस्थाको रुपमा स्थापित भएको थियो। यस क्लबसंग क्रिकेट भिक्टोरियासंगको सहकार्यमा नेपाली समुदायको खेल क्षेत्रलाई अगाडी बढाउन विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ।