अष्ट्रेलियामा रहेपनि घरमा नेपाली बोलौं, आफ्ना बच्चालाई नेपाली भाषा सिकाउँ: नविन भण्डारी

0
2426

वेस्टर्न अष्ट्रेलियामा नेपालीद्वारा संचालित किन्डरगार्टन संचालनमा आएको छ। नेपालको चितवन स्थायी घर भएका नविन भण्डारीले वेस्टर्न अष्ट्रेलियामा बाबा एजुकेशन ट्रस्ट अन्तर्गत स्यामसन किन्डरगार्टन संचालनमा ल्याउनुभएको हो।
यसै सरोफेरोमा रहेर नेपाली समुदायमा बालबालिकाको स्थिति र अभिभावकको भूमिका तथा संचालक नविन भण्डारीको विगत र सफलता सम्बन्धि गरिएको संक्षिप्त कुराकानी :

स्यामसन किन्डरगार्टन कहिलेदेखि संचालनमा आएको हो ? यहाँ किन्डरगार्टन संचालन गर्न कत्तिको जटिल हुँदो रहेछ ?
हाम्रो किन्डरगार्टन २०२१ जनवरी ४ देखि संचालनमा आएको हो। यो संचालन गर्नको लागि प्रोसेस लामो हुन्छ। पहिले त यसमा आफ्नो अनुभव तथा शैक्षिक योग्यता हुनुपर्यो, त्यसपछि फेरी संचालनमा ल्याउनको लागि पनि विभिन्न चरणमा स्वीकृति पाउनुपर्छ। र, संचालन पछि पनि अष्ट्रेलियन सरकारले नजिकबाट निरीक्षण गरिरहने हुनाले चुनौतीपूर्ण रहन्छ।

अष्ट्रेलियामा नेपालीहरुको सहभागिता अन्य क्षेत्रमा उल्लेख्य देखिन्छ। तर यो क्षेत्रमा कम हुनुको खास कारण यिनै जटिलताले हो ?
स्यामसनलाई अष्ट्रेलियामा नेपालीले खोलेको सम्भवत: पहिलो किन्डरगार्टन भनिएको छ, पहिले अरु रहेछन् भने पनि मलाई एकदमै खुशी लाग्नेछ जान्न पाउँदा। वेस्टर्न अष्ट्रेलियामा त पहिलो नै हो। अष्ट्रेलियामा बालबालिकाको पढाइको लागि सरकारले लगानी गरिरहेको हुन्छ। पढाइ शुल्क तिर्नको लागि अभिभावकलाई मद्दत गरिरहेको हुन्छ। अष्ट्रेलिया सरकारको मान्यता के छ भने, बालबालिकामा अहिले १ हजार खर्च गर्यो भने पछि १ व्यक्ति वापत १७ हजार बचत हुनसक्छ। त्यसैले सरकारले बालबालिका सम्बन्धिका गतिविधि एकदमै नजिकबाट निरीक्षण गरिरहेको हुन्छ। सानो गल्तीको पनि ठूलो सजाय भोग्नुपर्छ। अर्कोतिर बालबालिकाका आमाबुवाले पनि आफ्नो बच्चाको लागि कुनै पनि सम्झौता गर्न चाहँदैनन्। त्यसैले यो निकै संवेदनशील क्षेत्र हो। त्यस्तै, अघि भनिसकें, यो संचालनमा ल्याउनको लागि लामो प्रोसेस हुन्छ। झन्झटिलो हुन्छ।

तपाईं चाहिं यो क्षेत्रमा कसरी आइपुग्नुभयो ?
नेपालमा हुँदा नै म शिक्षण पेशामा आबद्ध थिएँ। मेरो बाबा पनि त्यही क्षेत्रमा भएकोले मलाई शिक्षण पेशाप्रति लगाव भयो। नेपालमा भरतपुरमा रहेको एडेन गार्डेन इङ्ग्लिश स्कुलमा पढाउँथें र त्यहींबाट हामी शिक्षकहरुलाई अर्ली चाइल्ड एजुकेशन सम्बन्धि प्रशिक्षणको लागि काठमाडौं पनि लगिएको थियो। त्यहाँबाट मलाई त्यसतिर आकर्षण भयो। त्यसपछि म २००७ को अन्त्यतिर अष्ट्रेलिया आएँ। अनि सिड्नी इन्स्टिच्युटबाट डिप्लोमा इन अर्ली चाइल्डहुड पूरा गरें। त्यसपछि लगातार बालबालिका तथा प्यारेन्टिंग सम्बन्धि कामको अनुभव लिने मौका मिल्दै गयो। २०१० देखि २०१४ सम्म YMCA सेन्ट्रल अष्ट्रेलियामा चिल्ड्रेन सर्भिस डाइरेक्टर भएर काम गरें। फेरी २०१५ देखि २०१८ सम्म YMCA पर्थमा चिल्ड्रेन सर्भिस डाइरेक्टर नै भएर काम गरें। त्यसपछि Meerilinga Young Children Foundation मा सेन्टर डाइरेक्टरको रुपमा आबद्ध भएँ। मेरो अनुभव, रुची, लक्ष्य भनेकै यही क्षेत्र बन्दै गयो।

नेपाली समुदायमा बालबालिकाको स्थिति कस्तो पाउनुभएको छ ?
हाम्रो नेपाली समुदायमा बच्चालाई लर्निङ्ग सेन्टर पठाउनेभन्दा पनि घरमा कोही व्यक्ति राखेर या आलोपालो गरेर बच्चा हेरचाह गर्ने चलन बढी छ। यसले गर्दा बच्चा घरमा सिमित हुनेभयो नि त। किन्डरगार्टन पठाउँदा बच्चाको हेरचाहा मात्र हुँदैन, उसले साथी बनाउन सिक्छ, खेलेर नै धेरै कुरा जानीसकेको हुन्छ। यसले गर्दा पछि स्कुल जाँदा पनि ऊ राम्रो विद्यार्थी बनेर निस्किन्छ। उसलाई स्कुलको वातावरणसंग घुलमिल हुन अप्ठ्यारो हुँदैन। फुल टाइम नभएपनि आफ्नो बच्चालाई पार्ट टाइम लर्निङ्ग सेन्टरमा पठाउनैपर्छ। यसले बच्चाको मानसिक, सामाजिक विकासमा एकदमै ठूलो सहयोग पुर्याउँछ। फेरी, अष्ट्रेलिया सरकारले शुल्कमा पनि सहयोग गरिरहेको हुन्छ। यो अवसरको सदुपयोग किन नगर्ने ?

बालबालिकाको वृद्धि विकासमा नेपाली समुदायका अभिभावकले अझ कस्तो भूमिका खेलिदिए हुन्थ्यो भन्ने लाग्छ ?
सबैभन्दा पहिले अंग्रेजी राम्रो बोलेपछि ‘मेरो बच्चा स्मार्ट भयो’ भन्ने मानसिकता त्याग्नुपर्छ। घरमा आफ्नै भाषा बोल्नुपर्छ र बच्चालाई पनि सिकाउनुपर्छ। एउटा भाषा बिर्सेर अर्को भाषा सिक्नु भनेको प्रगति गर्नु होइन। सानैदेखि घरमा नेपाली भाषा सिकाउँदा बच्चामा भाषा, कला, संस्कृति सम्बन्धि ज्ञान बढ्छ। उसमा धेरै भाषा सिक्न सक्ने क्षमताको विकास हुनसक्छ। नेपाल गएको समयमा पनि उसलाई सहज हुन्छ। अर्कोतिर अष्ट्रेलिया सरकारले पनि बहुसांस्कृतिक क्षेत्रलाई प्राथमिकताका क्षेत्रभित्र राखेको हुनाले बच्चाले त्यसको लाभ लिन सक्छ। अभिभावकहरुका लागि मेरो अर्को सुझाव भनेको, यहाँ मम् ग्रुप, फादर ग्रुप भनेर हुन्छन्। त्यसमा सहभागिता जनाउन सकेमा त्यहाँबाट धेरै कुराहरु सिक्न सकिन्छ।

नेपाली भाषालाई महत्व दिनुपर्छ भन्नुभयो, आफ्नो यो अनुभव र क्षमतालाई नेपालको शैक्षिक विकासमा लगाउने बारेमा के सोंच्नुभएको छ ?
मेरो बाबा नेपालको शैक्षिक क्षेत्रको विकासको लागि अनवरत रुपमा लाग्नुभयो। यहाँ बाबालाई नै सम्झेर बाबा एजुकेशन ट्रस्ट संचालनमा ल्याएँ। मलाई नेपाल गएर बाबाको योगदानको कदर गर्दै धेरै गर्नु छ। नेपाल फर्केर शैक्षिक क्षेत्रमा लाग्नु मेरो सपना हो। तर त्यो सपना पूरा गर्नको लागि अझै केही वर्ष पर्खिनुपर्छ।

अन्त्यमा, आफ्नो विद्यार्थी जीवन र अहिलेको सफलताको आधारमा यहाँ संघर्षरत नेपाली विद्यार्थीहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?
हामी काठमाडौं बाहिरबाट काठमाडौंमा पढ्न आउँदा पनि एक्लै हुन्थ्यौं, पढाइ र कामको तनाव हुन्थ्यो, पैसा हुँदैनथ्यो। त्यसरी नै, अहिले अब आफ्नो देशबाट अर्को देशमा आउँदा हुने यी समस्या स्वाभाविक हुन् भनेर ठान्नुपर्छ। यी समस्यालाई आफू अगाडी बढ्ने सिंढीको रुपमा लिनुपर्छ। हतोत्साही नहुनु। सबै मान्छेहरु अगाडी बढ्नको लागि यी चरण पार गर्नैपर्छ। सकारात्मक रहनुहोस्।