‘अष्ट्रेलिया आउने विद्यार्थीलाई विश्वसनीय सेवा र कन्सल्टेन्सीबीच स्वस्थ प्रतिस्पर्धाका लागि एका आवश्यक’

0
127

अष्ट्रेलियामा रहेका कन्सल्टेन्सीहरुको छाता संगठन हो, अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलायन्स ‘एका’। एकाले आगामी कार्यकालको लागि गत महिनामात्र नयाँ कार्यसमिति चयन गरेको छ।

यसबीचमा आज हामीले एकाका पूर्व अध्यक्ष परशु राम अधिकारीसंग उहाँको कार्यकाल अनुभव, मूख्य उपलब्धि, अबका अपेक्षा, विद्यार्थीका गुनासा लगायत विषयमा कुराकानी गरेका छौं। राइट एण्ड एसोसिएट्सका डाइरेक्टर समेत रहनुभएका परशु राम अधिकारीसंग गरिएको संक्षिप्त कुराकानी :

एकाको पूर्वअध्यक्ष भएको नाताले एकाको मूख्य उद्देश्य बारे बताइदिनुहोस् न !
एकाको मूख्य उद्देश्य भनेको अष्ट्रेलिया पढ्न आउने नेपाली विद्यार्थीलाई विश्वसनीय सेवा मिलोस् र यहाँ रहेका नेपाली कन्सल्टेन्सीहरुमा पनि एकरुपता तथा एकता होस्, सामाजिकदेखि व्यवसायीक काममा मिलेर अगाडी बढ्न सकियोस् भन्ने हो। विद्यार्थी, कन्सल्टेन्सी देखि लिएर सम्पूर्ण शिक्षा क्षेत्रको उन्नति होस्।

तर अष्ट्रेलियामा जति धेरै नेपाली कन्सल्टेन्सी छन्, त्यति धेरै कन्सल्टेन्सीहरुले एकाको सदस्यता लिएको देखिंदैन नि ?
पहिलो कुरा त, कन्सल्टेन्सीहरुले यो संस्था आफ्नो लागि किन आवश्यक भन्ने प्रष्ट बुझ्न नसकेकोले हो भन्ने लाग्छ मलाई। कस्तो छ भने, अष्ट्रेलियामा यदि कोहि विद्यार्थी पढाइ, पेशा या भिसालाई लिएर समस्यामा छ भने रजिस्टर्ड संस्था नभएको व्यक्तिले म कन्सल्टेन्ट हूँ, अरुले भन्दा सस्तोमा काम गर्छु भनेर विद्यार्थीलाई फसाउने र त्यो कामले गर्दा सम्पूर्ण कन्सल्टेन्सी बदनाम हुने घटनाहरु प्रशस्त छन्। तर त्यस्ता व्यक्तिलाई कसरी चिन्ने ? हाम्रो व्यवसायलाई यो बदनामीबाट कसरी बचाउने ? यदि हामी एकामा सबै दर्ता भयौं भने त्यस्ता ठगहरुको पहिचान हुन सक्छ। त्यस्तै, हामीले आफू बीचको अस्वस्थ प्रतिस्पर्धालाई रोकेर एकरुपता ल्याउन सक्छौं। कन्सल्टेन्सी तथा विद्यार्थीसंग सम्बन्धित नीति नियमहरुको लागि नेपाल र अष्ट्रेलिया सरकारका सम्बन्धित अधिकारीहरुसंग लबिङ गर्न सक्छौं। कसैलाई सहयोगको खाँचो भएमा एक भएर उभिन सक्छौं। हामी अरु संस्थामा आबद्ध हुन सक्छौं भने आफ्नै कामको क्षेत्रको संस्थासंग किन आबद्ध नहुने ?

यसमा सदस्यता शुल्कले पनि भूमिका खेलेको हो कि ?
एकाको सदस्यता लिनको लागि नेपालमा कन्सल्टेन्सी भएर हुँदैन। अष्ट्रेलियामा पनि कार्यालय भएको हुनुपर्छ। र, सदस्यता शुल्क एक हजार डलर तोकिएको छ। स्वच्छ प्रतिस्पर्धा र इमान्दारीतामा विश्वास गर्ने यहाँ स्थापित कन्सल्टेन्सीको लागि यो नियम बाधक हुन्न भन्ने लाग्छ।

एकाले कन्सल्टेन्सीको हितमा बाहेक विद्यार्थीको हितमा कसरी काम गर्छ ?
नेपालमा रहेको कन्सल्टेन्सीबाट विद्यार्थीले एउटा कुरा सुनेर बुझेर आएका हुन्छन्। यहाँ फरक वातावरण पाउँदा आत्तिन्छन्। यस्तो अवस्थामा यहाँका कन्सल्टेन्सीहरुले विद्यार्थीको त्यो बीचको समस्यालाई सुल्झाइदिनुपर्छ। यदि सबै एकामा सामेल भए भने यहाँ रजिस्टर्ड कन्सल्टेन्सीले नेपालको शाखाबाट सोही रुपमा विश्वसनीय सेवा दिन सक्छन् भने अर्कोतिर नेपालको कन्सल्टेन्सी सम्बन्धि संस्थाहरुसंग यस बारेमा कुरा गर्न सकिन्छ, उनीहरुलाई कार्यान्वयनको लागि आग्रह गर्न सकिन्छ। यसका साथै विद्यार्थीको सहजताको लागि नेपाल र अष्ट्रेलियाको सबन्धित निकायसंग लबिङ्ग गर्न सकिन्छ।

विद्यार्थीलाई प्रत्यक्ष रुपमा पुग्ने फाइदा नि ? फेरी विद्यार्थीहरुबाट कन्सल्टेन्सी सम्बन्धि धेरै गुनासाहरु पनि आइरहेका हुन्छन् !
हो त्यही गुनासाहरुको सम्बोधन गर्ने जिम्मेवार निकायको आवश्यकता छ र त्यो जिम्मेवार निकाय एका बन्न सक्छ । मैले अघि पनि उल्लेख गरें, समस्या हाम्रो कामको क्षेत्रमा पनि छ र विद्यार्थीको अपेक्षामा पनि। एकाले यस बीचमा मध्यस्थकर्ताको भूमिका खेल्न सक्छ। अर्कोतिर, विद्यार्थीहरुलाई कुनै पनि समस्या पर्दा संस्थागत रुपमा एकाले सहयोग गर्छ। कोरोना महामारीको समयमा मेरै कार्याकालमा एकाले सम्पूर्ण सदस्य (कन्सल्टेन्सी)हरुको सहयोगमा विद्यार्थी र अस्थायी भिसा होल्डरहरुका लागि ४१ हजार २ सय ५० डलर सहयोग वितरण गर्यो। महामारीको समयमा विद्यार्थीलाई आएका समस्याको समाधान कसरी गर्न सकिएला भन्ने विषयमा भर्चुअल रुपमा विद्यार्थीहरुकै सहभागितामा अन्तरक्रिया कार्यक्रम पनि गर्यौं। र, त्यो भन्दा पहिले अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीहरुलाई समस्या पर्दा उक्त समस्या सुल्झाउन प्रमुख भूमिका खेल्यौं। त्यस्तै, नो अब्जेक्सन लेटरको विषयमा नेपालका इक्यान लगायत संस्थाहरुसंग लबिङ्ग गर्यौं।

यी बाहेक तपाईंको कार्याकालमा एकाले गरेका उल्लेखनीय उपलब्धि के-के रहे, बताइदिनुस् न !
पहिलो त मैले अघि उल्लेख गरेको विद्यार्थीलाई सहयोग भयो। र त्यससंगै, सदस्य संस्थाहरुको हितको लागि देखि लिएर सामाजिक कार्यसम्म गर्यौं। सदस्य संस्थाहरुको लागि एडलेडसम्मको फाम ट्रिप गर्यौं। ब्रिसबेन र तास्मानियाको लागि फाम ट्रिप चाहिं कोरोना महामारीले गर्दा रोक्नु पर्यो। त्यस्तै, २०१९ नोभेम्बरमा अष्ट्रेलियामा संघर्ष गरिरहेका र घर फर्किन चाहनेहरुका लागि ‘वर्कसप’ संचालन गर्यौं। त्यसको लागि होम अफेयर्सबाट सहयोग मिलेको थियो। एनआरएनए अष्ट्रेलिया लगायत संस्थाहरुसंगको सहकार्यमा ‘कम ब्याक होम’ अभियान संचालन गर्यौं। अष्ट्रेलियन रेड क्रस लाइफ ब्लडसंगको सहकार्यमा रक्तदान कार्यक्रम गर्यौं। अष्ट्रेलियाका डढेलो पिडितहरुका लागि ५ हजार ६ सय अष्ट्रेलियन डलर सहयोग गर्यौं। मैत्रीपूर्ण फुटबल प्रतियोगितामा समेत सहभागिता जनायौं। केही सदस्यहरु पनि थपिनुभयो। कोरोना महामारीको चपेटामा पनि सम्पूर्ण सदस्यहरुको सहयोगमा केही प्रभावकारी काम गर्न सक्यौं भन्ने लाग्छ।

अहिले त भुपाल सिटौलाजीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भइसकेको छ। नयाँ कार्यसमितिबाट कस्तो अपेक्षा राख्नुभएको छ ?
नयाँ कार्यसमितिमा सबै ऊर्जावान युवाहरु आउनुभएको छ। योग्य युवाहरुको सक्रियता देखेर अत्यन्तै खुशी छु। कार्यसमितिमा जोकोही भएपनि ‘हामी’ भन्ने भावनाले सबै सदस्यहरु अगाडी बढ्नुपर्छ भन्ने लाग्छ मलाई। संस्थाको सदस्यता संख्या भन्दा पनि गुणस्तरीयता तथा प्रभावकारीतामा ध्यान दिनुपर्छ। सदस्यहरुलाई संस्थाको कोड अफ कनडक्टभित्र रहन प्रेरित गर्नुपर्यो। त्यस्तै, काउन्सिलरहरुलाई अनुशासनसंगै गुणस्तरीय सेवाको लागि प्रोत्साहन गर्ने, प्रशिक्षण दिने गर्नुपर्यो, जसले गर्दा उनीहरुले राम्रो सेवा दिन सक्छन्, व्यवसायिक रुपमा सफल बन्न सक्छन् र संस्थाको उद्देश्य पूरा हुनसक्छ । अनि, न्युजिल्याण्डलाई पनि समावेश गर्नुपर्यो भन्ने हो। नेपालमा अष्ट्रेलियाको लागि सेवा दिने कन्सल्टेन्सीले न्युजिल्याण्डको लागि पनि काम गरिरहेको हुन्छ। र, यहाँ आइसकेपछि पनि विद्यार्थीहरुका लागि दुई देशबीच विकल्प रहन्छ। त्यसैले सरकारसंग लबिङ्ग गरेर कन्सल्टेन्सीले अष्ट्रेलिया र न्युजिल्याण्डको लागि सेवा प्रदान गर्ने वातावरण निर्माण गर्दै जानुपर्यो। अर्को कुरा, एकाजस्तै कन्सल्टेन्ट सम्बन्धि संस्था नेपालमा पनि एउटा मात्र हुनुपर्यो या धेरै भएपनि एकरुपता हुनुपर्यो यसको लागि एकाले लबिङ्ग गर्नुपर्छ । जसले गर्दा नेपाल र अष्ट्रेलिया दुवैतर्फबाट काम गर्दा सहज होस्, विद्यार्थीलाई विश्वसनीय सेवा मिलोस्।