अहिलेको लडाइँ: केपी ओली भर्सेज नन-केपी ओली

0
54
  • चिरन्जीवी लम्साल

विधि र पद्धति नमान्ने राजा महेन्द्रले २०१७ पुष १ मा संविधानमा प्वाल पारे। विधि र पद्धति नमान्ने ज्ञानेन्द्रले २०५९ असोज १८ मा संविधानमा प्वाल पारे। विधि र पद्धति नमान्ने केपी ओलीले २०७७ पौष ५ मा संविधानमा प्वाल पारे।

२०७२ भाद्र ३० मा जारी गरिएको नेपालको संविधान २००७ सालदेखि गरिएका विभिन्न खालका आन्दोलनको समष्टिगत उपलब्धी हो। अर्थात् ६५ बर्षपछि जनताको त्यत्रो त्याग, पसिना र बलिदान पश्चात् र १० वर्षसम्म रस्साकस्सी गर्दै जनताबाट चुनिएका संविधानसभाका सदस्यहरुले बनाएको संविधान, जो भारत लगायतका विदेशी शक्तिको नाङ्गो विरोधका बाबजुत सम्पूर्ण नेपालीहरु एक भएर जारी गरेका थिए। त्यो संबिधान नै अहिलेसम्मकै सबैभन्दा प्रगतिशील संबिधान हो अनि साँचो अर्थमा राष्ट्रवादको प्रतिक पनि। त्यसलाई नमान्ने राष्ट्रबादी हुनै सक्दैनन्।

“राजनेता” केपी ओलीले भनेझैँ परिवारमा समाजमा पार्टीमा वादविवाद भइरहन्छ (स्रोत: उहाँको पछिल्लो अन्तर्वार्ता)। मलाई थाहा छ, प्रचण्डलाई देख्नै नसक्ने जमात समाजमा ठूलो छ त्यसैगरी केपी ओलीलाई पनि देख्न नसक्ने जमात पनि ठूलै । तर प्रचण्ड भर्सेस केपी ओलीको लडाईं, प्रचण्ड भर्सेस नन-प्रचण्डको सट्टा केपी ओली भर्सेस नन-केपी ओलीमा परिणत भइसकेको छ|

इतिहास साक्षी छ कलंकित तानाशाहहरूले बारम्बार राष्ट्रवादको नाममा “कू” गरिरहन्छन्, त्यसको स्पष्ट उदाहरण हिटलरलाई हेरौं। वर्तमानमा पनि हेरौं न, राष्ट्रवादको नाम पारि “मेक अमेरिका ग्रेट अगेन” को नारामा अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षसम्म ताण्डव नृत्य देखाए र अहिले घृणित भएर रुझेको बिरालो झैँ निस्किनु परेको छ ।

समृद्धिको नारामा भ्रष्टाचारमा लिप्त केपी ओलीको सरकारले राष्ट्रवादलाई भजाएर कुर्चीमा बसिरहनको लागि विभिन्न बाहना गर्दैछ। केपी ओलीबाहेक अरु कोही छैन भन्नु खोलाको पानीलाई बग्न नदिई खोलालाई अझै फोहोर बनाइराख्नु हो।
१) खोलाको पानी जति बग्यो, उति नै खोलाका ढुंगाहरु राम्रा हुँदै जान्छन्, खोलो सफा हुँदै जान्छ।
२) पुरानो घर नभत्काई नयाँ घर बन्दैन।

केपी ओलीले घडीलाई उल्टो घुमाउन खोज्दै छन् त्यसैलाई राजनीतिज्ञले प्रतिगमन भन्छन क्यार ! He MUST go and he will go किनकी अहिलेको लडाइँ भनेको केपी ओली भर्सेज नन-केपी ओली हो (सूर्य चिन्ह, पार्टी आधिकारिकता मुख्य होइन) जसमा केपी ओलीको हार अवश्यम्भावी छ।
जय होस् !