आज माघे संक्रान्ति पर्व

0
156

काठमाडौं । आज माघे संक्रान्ति । हरेक वर्ष माघ १ गतेलाई नेपाली समाजमा माघे सङ्क्रान्ति तथा मकर सङ्क्रान्ति पर्वका रुपमा मनाउने गरिन्छ ।

मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्व देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्नुका साथै घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर मनाईंदैछ । माघ १ गतेदेखि सूर्य मकर रेखामा संक्रमण भई उत्तरायण हुनेहुँदा यस सङक्रान्तिलाई मकर सङ्क्रान्ति भन्ने गरिएको हो ।  आजैदेखि दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

खासगरी चितवन–नवलपरासीको देवघाट, गुल्मी र पाल्पाको संगमस्थल रिडी, नुवाकोट–रसुवा सीमाको उत्तरगया अर्थात् वेत्रावतीलगायत नदी किनारमा यस दिन भक्तजनको विशेष मेला लाग्ने गर्दछ ।

माघे सङ्क्रान्तिलाई थारु समुदाय र मगर सुमुदायले आफ्नो प्रमुख पर्व माघीको रुपमा मनाउँछन् । माघे सङ्क्रान्तिको अघिल्लो दिन साँझ घरघरमा मासका फुरौला,बटुक,सेलरोटी,तरुल,सखरखण्ड लगाएतका कन्दमूल खाने चलन छ । भोलिपल्ट सङ्क्रान्तिका दिन नदीमा स्नान गर्ने अनि तिनै परिकार खाई मेला भर्ने नाचगान गरी रमाउने गरिन्छ । साँझ घर फर्केर मासको दाल र चामल मिसाएर नून,बेसार अदुवा घिउ हालेर पकाइने परिकार खिचडी खाने गरिन्छ ।