नागढुङ्गा सुरुङमार्ग समयमै सकाउन काममा तीव्रता

0
39

काठमाडौँ- कोभिड–१९ का कारण निर्माणमा केही ढिला भएको नागढुङ्गास्थित सुरुङमार्ग समयमै सकाउन काममा तीव्रता दिइएको छ ।कोभिड–१९ सङ्क्रमणका कारण गत वर्ष सुस्त गतिमा भएको निर्माणको कामलाई गति दिन रातदिन काम भइरहेको सडक विभागले जनाएको छ ।

बिहान ७ देखि साँझ ७ बजेसम्म एउटा सिफ्ट र साँझ ७ देखि बिहान ७ बजेसम्म अर्को सिफ्टमा काम भइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिए ।उनका अनुसार गत वर्ष काम गर्ने वातावरण नभए पनि समयमै काम सकाउन अवधि बढाइएको हो । उनले भने, ‘समयमै सकाउन सकिन्छ भन्ने लागेको छ ।’

सुरुङमार्गमा अहिले २०/२२ जना जापानी र ३०० नेपाली काम गरिरहेका छन् । यो आवमा वैदशिक लगानीको सडकजस्तै यो सडकमा प्रगति कम भएको सडक विभागले जनाएको छ ।जुन गतिमा गर्नुपर्ने हो अझै पनि त्यो गतिमा गर्न नसकिएको सडक विभाग, विकास सहायता समन्वय महाशाखाप्रमुख अर्जुनजङ्ग थापाले बताए ।

कतिपय सरकारी निर्णय प्रक्रियालाई समय लाग्ने कारणले पनि ढिलाइ भएको प्रमुख थापाको भनाइ छ ।मुआब्जा वितरण, विद्युत्को पोल सार्नेलगायतका काममा बढी समय लागेको उनले बताए । कतिपय स्थानीयवासीले मुआब्जा लिने तर घर नभत्काएको पाइएको छ ।

त्यस्तै नेपाली सेनाले विस्फोटक पदार्थ ल्याउन अनुमति दिन निर्णय गर्न लामो समय लगाउँदा पनि ढिलाइ भएको थियो । उनले भने, “निर्माण कम्पनीले काम गर्न खोज्दा पनि हामीले नै प्रक्रियागत कुरा सकाउन बढी समय लागेको थियो ।”

आयोजनाअन्तर्गत छ पुल निर्माण गर्नुपर्नेमा तीन पुल सकिएको प्रमुख थापाले जानकारी दिए ।नैकाप नजीकै अन्डरपास बनाउन जग खनेर तयारी भइरहेको छ । नैकापबाट अगाडि जाने सडकलाई ओभरपास गरेर सुरुङलाई अन्डरपास गरिने उनले जानकारी दिए ।गत वर्ष असोजमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । जापान सरकारको ‘सफ्ट लोन’ मा सुरुङको निर्माण गर्ने गरी सम्झौता भएको थियो ।