आफैलाई पर्दा ………

0
55
  • टंक पन्त

शरीरका सबै अंग दुख्न थालेपछि सिर्जना बहिनीलाई टाउको दुखेझै भन्ने जानकारी गराउंदै अफिसबाट सधै भन्दा दुई घण्टा अगाडी नै घरतिर लागें। मलाई घर पुगेर कतिखेर सुतौ भन्ने भइरहेको थियो तर घर पुगेर सामाखुशी सम्म पुग्नै पर्ने थियो । त्यहां पुगेर एकै छिन बसें । मसंग छोरा इशान पनि साथमा गएका थिए । बाबु इशानलाई पिंकुको सानो नानीसंग जति खेले पनि नपुग्ने । एकैछिन न पापा भन्दै थिए । अनि एकै छिन बसाई त भयो तर त्यो समय कसरी बित्यो मलाई पत्तैे भएन । अनि घरतिर लागें र घर जानासाथ बिस्तरामा पल्टिहालें । त्यसपछि त झन् पछि झन् शरीर दुख्दै गयो ।

छोरी इशिकाले गुर्जो पानी , स्टीमका लागि तातो पानी र तातो पानीमा खुटटा चोभ्ने व्यवस्था पनि गरिदिइन । तर मलाई स्टीम लिने , खुट्टा चोभ्ने जांगर पनि पटक्कै थिएन । किनकि शरीरका हरेक पार्ट दुखेर सहि नसक्नु भैरहेको थियो । अहिलेको परिस्थितिमा लक्षण नमिल्दो पनि थिएन तर मैले सबैलाई तनाब किन दिने भनेर कसैलाई पनि भनिन । सबैलाई नअत्तालिन आग्रह गर्दै, मैले भानिरहे, “चिसोले नै यस्तो गराएको हो आत्तिनुपर्दैन” ।

त्यहि बेला लामो समयपछि वुवा पनि बुटवलबाट काठमाडौ आउनुभएकोे थियो । उहांले पनि चिसोले नै होला भनी मकरध्वज औषधि महमा पिनेर खान दिनुभयो ।सधै संगै सुत्ने छोरालाई छोरीले लगिन् । रात जति लम्बिदै गयो त्यति मेरो शरीरका हड्डी समेत दुख्न थाले । निकै गाह्रो गरी रात बित्यो र बिहान भयो । अनि उहि गुर्जो पानी, मह पानी स्टीम लिएर घाममा बस्न कोशिश त गरें, तर न बस्न हुन्छ न सुत्न हुन्छ तै पनि बिस्तरामा गएर पल्टिए । गाह्रो पिरो गरी दिन त कट्ने तर रात कटाउन निकै सास्ती भयो ।

जति दिन बढदै गयो त्यति गाह्रो हुदै गयो । तीन रात त सुत्नै भएन । दिउँसो थोरै कम भए जस्तो हुन्छ राति भएपछि सुत्नै नहुने । बसे पनि उठेपनि , सुते पनि शरीरका सबै अंग दुख्ने । कसलाई के भनौं। पहिलो रातपछिको दुई रात त मेरा लागि जीवन पनि अन्धकार जस्तो भयो बत्ति बाल्दा पनि उज्यालो देखिदैन । आंखाले काम नगरेको हो कि, दिमागले काम नगरेको कि दुखाइले भ्याउ नै पाइएन । अनि ती रातहरुमा त के के सोचे–सोचे जुन कुरा भन्न पनि सक्दिन । आफूले आफैेलाई अहिले असम्भव छ भन्छु र पनि अकल्पनीय कुरा सोचे ।

जुन बेला बुटवलमा रहनुभएकी आमा र अफिसको कामले केही दिनका लागि बाहिर गएकी मेरी श्रीमती मीनुलाई सम्झिए । त्यो रात रात्रिकालिन प्लेन चल्ने भैदिएको भए आइहाल न भन्ने स्थितिमा पुगेको थिएँ । बुवा र छोरीलाई उठाउँछु भनेर उठ्न खोजें, तर पहिले प्रयासमा बत्तिको प्लग समेत भेटाउन सकिन । त्यसपछि एकैछिन बिस्तरामा पुग्न पनि सकिन, त्यहि मेरा आंखाबाट धेरै आशु बर्षिएछन् । अनि बिस्तरामा पुगेपछि मेरो गञ्जी समेत लछप्पै भिजेको ।धेरै चाहिने नचाहिने कुरा सोचें । एकेै छिनपछि मैले अझै गर्नुपर्ने जिम्मेवारी छ भन्ने सोचे अनि आफैलाई सम्हाले र आत्मबल बढाउने कोशिश गरें ।

यदि साथमा मीनु भएको भए यति अप्ठ्यारो हुंदा अस्पताल लगिसकेकी हुन्थिन वा थप आत्मबल दिने थिइन भन्ने सोचें । जुन बेला फेरि भावविह्वल भए । जति रोक्न खोजे पनि रोक्नै सकिन । त्यसै भएर होला अर्को दिन मीनुले ‘म धनगढीको कार्यक्रम अर्को पटक गरौला, म आजै आउँछु नि’ भन्दै थिइन तर कति आउने जाने गर्ने काम सकेर आउन त भनें । अनि कुरा गर्दा गर्दै अघिल्लो रातलाई सम्झिएँ, त्यसपछि एकैछिन बोल्न पनि सकिन भक्कानिएछु ।

बाहिर प्रशिक्षण दिन गएकीलाई धेरै कुरा गरेर दिमागलाई डायभड नगर्ने पक्षमा थिएँ त्यसैले पनि अघिल्ला दिनमा भएका कुनै पनि अप्ठ्यारो बारेमा बताइन । उनलाई मात्र होइन कसैलाई बताइन र यो सामग्री तयार पार्दा सम्म पनि बताएको छैन । हुन त मैले अप्ठ्यारो भयो भनेको भए हाम्रै घर तल्लो फलोरमा बस्ने बस्याल परिवार र जोडिएकै घर खड्का परिवार, जसले पनि सहयोग गर्नुहुन्थ्य। त्यो सहयोगी भावना उहांहरुमा छ तर मैले भनिन । अन्य सहयोगी हात निकैे थिए तर मैले कसैलाई भनिन ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना महामारीले एक वर्ष पुरा गर्न थालेको थियो । नेपालमा पनि ११ महिना भएको छ । नेपालमा कोरोना महामारीबाट जोगिन लकडाउन भएको एक हप्ताबाटै थोरै थारै समय कार्यालय जान थालेको र सोही समयमा चार/पाँच पटक बुटवल, गुल्मी पनि गएको र दुइ महिना पछि त नियमित रुपमा कार्यालय जाँदा पनि जोगिएकै अवस्था थियो तर अहिले आएर कतैबाट छोए होला कि क्या हो भन्ने आशंका नभएको पनि होइन तर पिसिआर जाँच गराउने पक्षमा म थिइन । किनकि पिसिआर जाच गराउँदा पोजेटिभ देखायो भने सबैलाई थप तनाव हुन्छ भन्ने मलाई लाग्यो । जे भएपनि उपचार पद्धति अपनाउने आफैेले हो भन्ने लागेरै पनि त्यसतर्फको सोचाइ बनाइन ।

पाँच दिनसम्म पर्खिएँ । किनकि दुइ चार दिन अलिक गाह्रो हुन्छ भन्ने कुरा म आफू पत्रकार भएको हुनाले सुनेको मात्र होइन, अरुले बताएको कुरा निकै नै लेख्दै पनि आएको थिएँ । यसर्थ केही दिन पर्खिनुपर्छ भन्ने सोचेको पनि हो । तर ५ दिन सम्म पनि सामान्य ज्वरो, खोकी बाकी नै रह्यो, नाक मुख सुक्ने, शरीरका सबै अंग प्रत्यंग दुख्ने , टाउको दुख्ने भइरह्यो । अनि घरबाट १५ मिनेटमा हिडेरै पुगिने ग्राण्डी अस्पताल गएर चिकित्सकसंग राय लिएँ । उहाले पिसिआर जाच गराउन भन्नुभयो , केही औषधि पनि लेखिदिनुभयो । म पिसिआर जाँच गराउनतिर लागिन । पिसिआर गराउदा पोजेटिभ देखायो भने सबैलाई तनाव हुन्छ भन्ने मेरो बिश्लेषण थियो नै । अर्को कुरा पोजेटिभ आएपनि नआएपनि आफैले आफैलाई गर्ने न हो भन्ने मनमा लाग्यो अनि नजिकै रहेको आमन्त्रण फार्मेसीमा पुगेर औषधि लिएर निकै गाह्रो गरी घर फर्किए ।

अन्य समयमा १५ मिनेटको बाटो त्यसदिन मलाई एक घण्टा भन्दा बढी नै लाग्यो । बाटोमा तीन/चार ठाउँ बसे । छोराछोरीलाई साथमै लिएर आउनु पर्दो रहेछ भन्ने पनि लाग्यो । घर नजिकैे रहेको पबित्र धार्मिक स्थल हरिहर मन्दिर , हरिहर सन्यास आश्रममा केही समय बिताएं । निर्मल ब्रम्हमचारीजीले तपार्ईले आत्मबल बढाउनुभएकोले जित्न सक्नुहुन्छ भनेर थप बल दिनुभयो । त्यस्तो बेला कसैले भेटेर ढाडस दिदा पनि सहज अनुभुति हुंदो रहेछ । यस्तो बेला वास्तवमा भित्री मनदेखि को आफ्नो भन्ने सोचाई पनि आउदो रहेछ । हुन त मैले अस्वस्थ भए भनेर सामाजिक संजालबाट सुचना पनि दिइन । अफिस र आफै थाहा पाएर सोध्ने र भेटन आउनेलाई बाहेक कसैलाई पनि भनिन । १० दिनसम्म त मोबाइल पनि अफ गरें । कुरा गर्न पनि पटक्कै जांगर लागेन । जब मोबाइल अन गरें, त्यसपछि त स्वाथ्यलाभ र भेटन् आउने धेरै जनाको उपस्थितिले मलाई थप आत्मबल बढाउंदै गयो ।

शरीरका सबै अंग दुख्ने त्यसमा पनि ढाडको कुनै पार्ट कहिले, अर्को कुनै पार्ट कहिले बढी दुख्ने समस्या अलिक बढी नै भयो अनि मैले जस्ले सोधे पनि उनीहरुलाई त्यहि कुरा बताएँ, कतिपय अति नजिकका जसले मलाई राम्रो रुपमा लिन्छन् उनीहरुलाई पनि बताइन किनकि म आफै बताउन सक्ने अबस्थामा पनि थिइन । ज्यान चलाउदा पनि निकैे गाह्रो हुंदा त छोरा इशानले अफिस गएर धेरै कुर्सीमा बसिरहेको कारणले होला यसरी दुखेको अब देखि अफिस कम जानु है अब पनि कति अफिस गइरहनुहुन्छ बरु मैले केही गर्न मिल्छ भने गर्छु नि भन्दै थिए । ११ बर्षको छोराले घरमा बरु धेरै भाडामा लगाउँ, हामी थोरै ठाउमा बसौ अनि खर्च पुगिहाल्छ नि भन्दा त निकै भावुक पनि भए । जे होस निकै गाह्रो भएको समयमा छोरी इशिका र छोरा इशान प्रमुख सहारा र आड भरोषामा खरो उत्रिए जसले गर्दा पनि मुटु बलियो बन्दै गयो ।

खास गरी शरीरका सबै पार्ट, हात खुट्टाका औंला–औंलाका जोर्नी समेत दुख्ने अनि चल्न चटपटाउन पनि नहुंदा बितेको एक वर्षमा कैयौ हजारले यो जटिल समस्या भोग्नुपरेको सम्झिए । अनि कतिकति बेला कस्ता भेट्रान चिकित्सकले समेत ज्यान गुमाउनुपरेको पनि सम्झिन्थें । मेरो सिगो परिवार मात्र होइन मलाई सम्झने र मैले पनि सम्झनेका अगाडि मलाई कुनै पनि हालतमा केही हुदैन भन्ने आत्मबल पनि धेरै पटक बढाउदा बढाउदै पनि धेरै थोक सम्झिए त्यसलाई पनि पार गरेर आज मैले यो अनुभुति सहितको सामग्री लेख्न बसेको हूँ ।

मलाई थाहा छ यो आर्टिकल पढेर मेरा परिवारबाट पनि किन नभनेको भन्ने भनाई सुन्नुपर्ने छ । तर कहिलेकाही यस्तै हुंदोरहेछ । यस्तो अप्ठ्यारो कसैलाई पनि नहोस् । बिरामी त कति कति बेला सबै हुन्छन नै तर यो खालको बिमार कसैलाई नलागोस् ।

केही कम हुदै गयो तर छटपटी हुन थाल्यो के के भए जस्तो हुने अनि असहज हुने अबस्था पनि एक दुइदिन आयो । हिडेर कतै टाढा पुगेर आउ जस्तो हुने तर दुइ पाइला हिड्यो कि फत्राक फुत्रुक जस्तो हुने गरी गलिने । यसरी दिन बित्दै गए । करीब १४ दिन पछि बल्ल तल्ल हिडन सक्ने भएं । थोरै समय भएपनि अफिस जान थालें । तर थोरै हिडेपनि गाह्रो हुने , धेरै समय कम्प्युटर, ल्यापटपमा बस्दा पनि गाह्रो हुने भएकै छ । अझै केही समय थोरै काम धेरै रेष्ट गर्नुपर्ने छ । यस बिषम परिस्थितिमा सबैले आआफनो ख्याल गर्नुबाहेक अर्को बिकल्प रहेनछ ।