अष्ट्रेलियामा जारी न्याभ कपमा मल्टी डायनामिकद्वारा खेलाडीहरुलाई डलरको वर्षा

0
1148

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा यतिबेला १६ औं ग्रेस इन्टरनेशनल न्याभ कप क्रिकेट टुर्नामेन्ट चलिरहेको छ। भिक्टोरियावासी नेपालीहरुको साझा संस्था नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभले) आयोजना गर्दै आएको न्याभ कपको यसपालीको संस्करण जनवरी १० देखि सुरु भएको हो।

न्याभ कप यसपाली मल्टी डायनामिकका कारण अझ रोचक बनेको छ। मल्टी डायनामिक रियल स्टेट मेलबर्नले यसपाली न्याभ टुर्नामेन्टका खेलाडीहरुलाई डलरको वर्षा गरिदिने भएको छ। टुर्नामेन्टको प्रायोजक समेत रहेको यस कम्पनीले प्रत्येक खेलमा खेल्ने खेलाडीहरुका लागि नगद पुरस्कार घोषणा गरेको हो।

जसअनुसार, खेलमा १ सय रन बनाउने खेलाडीले १ हजार डलर, ह्याट्रिक गर्नेले ५ सय डलर, ५० रन बनाउने खेलाडीले १ सय डलर, ५ विकेट लिने खेलाडीले २५० डलर र एक छक्का बराबर २५ डलर नगद पुरस्कार प्राप्त गर्नेछन्। टुर्नामेन्ट १० जनवरीदेखि नै शुरु भइसकेको छ र खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै यो पुरस्कारको लागि आफूहरुलाई अगाडी बढाइसकेका छन्।

मल्टी डायनामिक मेलबर्नका डाइरेक्टर सुरज आयरले कोरोना महामारीको चपेटामा परिरहेका खेलाडीहरुलाई राहत महसुस होस् र संगै खेल क्षेत्रमा लागिरहन हौसला मिलोस् भन्ने उद्देश्यले यो योजना ल्याइएको बताउनुभयो।

त्यस्तै, न्याभका उपाध्यक्ष तथा न्याभ कपका डाइरेक्टर प्रेम राज उप्रेतीले मल्टी डायनामिकको यो कदम निकै नै सह्रानीय रहेको उल्लेख गर्दै यसले नेपाली समुदायको समग्र खेल जगतमा सकारात्मक परिवर्तन ल्याउनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ।

न्याभ कपका संयोजक नविन श्रेष्ठले यो अफरले हाल खेलिरहेका खेलाडी मात्र नभएर खेल क्षेत्रमा लाग्न चाहने नयाँ युवाहरुलाई पनि प्रेरणा मिलेको बताउनुभयो। त्यस्तै, न्याभ कपका टेक्निकल हेड विदुर शर्मा गिरिले मल्टी डायनामिकको यो योजनाले यसपाली खेल मैदानमा खेलाडी देखि दर्शकसम्ममा छुट्टै उत्साह थपिरहेको बताउनुभयो।

यसपालीको न्याभ कप क्रिकेट टुर्नामेन्टमा रोयल राइनोज क्रिकेट क्लब, एक्स्पर्ट सगरमाथा स्टार्स, एक्स्पर्ट सगरमाथा रेनेगेड्स, एक्स्पर्ट सगरमाथा टाइटन्स, गोर्खाली क्रिकेट क्लब, फार वेस्ट हन्टर क्रिकेट क्लब, मेभेन क्रिकेट क्लब, नर्रे किंग्स क्रिकेट क्लब, ग्लोबल इन्टरफेस क्रिकेट क्लब, द हिमालयन टाइटन्स, द हिमालयन जायनट्स क्रिकेट क्लब उपाधिको लागि भिड्नेछन्।

प्रतियोगिताको फाइनल खेल २८ फेब्रुअरीमा हुनेछ। १६ औं न्याभ कपको उपाधि विजेताले २ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता बन्ने क्रिकेट टिमले पुरस्कार स्वरुप १ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ। यो मल्टी डायनामिकले खेलाडीहरुका लागि घोषणा गरेको बाहेकको पुरस्कार राशी हो।