अष्ट्रेलियाले भारतीय खेलाडीमाथि भएको टिप्पणीको लागि माग्यो माफी

0
23

भारतीय खेलाडीमाथि भएको रंगभेदी टिप्पणीको लागि अष्ट्रेलियाले माफी मागेको छ। अष्ट्रेलियाको क्रिकेटको नियमाक निकायले माफी माग्दै यसबारे अनुसन्धान भइरहेको जानकारी दिएको हो ।

अष्ट्रेलियाको सिड्नीमा भइरहेको तेस्रो टेस्टको खेलका क्रममा आफूहरुमाथि रंगभेदी टिप्पणी भएको खेलाडीहरुले आरोप लगाएका थिए। शनिबार जसप्रित बुमराह र आइतबार मोहम्मद सिराजले आफूहरुमाथि रंगभेदी टिप्पणी भएको आरोप लगाएका हुन् । उक्त टिप्पणी खेल हेर्न बसेका दर्शकहरुबाट भएको थियो।

 आइतबार सो घटनाका कारण १० मिनेट खेल रोकिएको थियो भने ६ जना दर्शकलाई सिड्नी क्रिकेट मैदानबाट बाहिर पठाइएको थियो । क्रिकेट अष्ट्रेलिया (सीए) र न्यू साउथ वेल्स प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । भारतले शनिबार नै रंगभेदी टिप्पणीबारे खेलका रेफ्री डेभिड बुन र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिललाई जानकारी गराएको थियो ।

आईसीसीले यस विषयको अनुसन्धानमा क्रिकेट अष्ट्रेलियालाई सहयोग गर्ने बताउँदै दुई हप्ताभित्र यसबारे रिपोर्ट पेस गर्न सीएलाई निर्देशन दिएको छ । सीएका अधिकारी सीन क्यारोलले रंगभेद अष्ट्रेलियाको क्रिकेटमा स्वीकार्य नभएको बताउँदै दोषीको पहिचान गरी कारवाही गरिने स्पष्ट पारे ।