अष्ट्रेलिया: मेरो लागि पहिले रहर, त्यसपछि बाध्यता र अहिले आशा

0
116
  • स्मृति भट्टराई
    (हाल सिड्नी )

नेपालमा सामान्यता: एसएलसी दिएपछि भविष्यको बाटो खोज्नुपर्छ भनिन्छ (अहिले त एसएलसीलाई एसइई भनिन्छ क्यारे )। म पनि त्यही बाटो खोज्ने धुनमा थिएँ। पढाइमा राम्रै भएका कारण साइन्स नै पढ्नुपर्छ भन्ने लाग्यो। हाम्रो समाजमा सबैको माइन्डसेट नै त्यस्तै हुने।

स्याङ्गजाबाट बुटवल आएँ, पढाइको लागि। प्राइभेट कलेजमा पढ्न थालें, पढाइ राम्रै चल्दै थियो। साथीहरु पनि थपिंदै गए। किशोर अवस्था, साथी संगतले धेरै असर गर्ने अवस्था भन्छन्। साथीहरुले +२ पछि के पढ्ने भन्दा सधै विदेश जाने पढ्ने, सके अमेरिका नभए अष्ट्रेलिया भन्ने गर्थे। मेरो साथी सर्कलमा नेपालमै बसेर केही गर्ने भन्ने भेटिन मैले। बरु कोही भन्ने गर्थे, विदेश पढ्न जाने जति पैसा छैन, मिलेछ भने डिपेनडेण्टमा नभए ब्याचलर गरेर जाने भन्थे।

ममा पनि विस्तारै विदेशको रहर जाग्न थाल्यो। सोंचें, हाम्रो सामान्य परिवारबाट अमेरिका जान गाह्रो पर्ला, अष्ट्रेलियाको लागि प्लान बनाउनुपर्यो। त्यसपछि घरमा पनि कुरा राखें। तर बुवाआमाले मलाई सरकारी जागिर गरेर नेपालमै बसेको देख्न चाहनुहुन्थ्यो। ममा भने अष्ट्रेलियाको भूत सवार भइसकेको थियो। साथीहरुले आफ्ना योजना सुनाउँदा बुवा आमासंग चिढिन्थें। मेरो ढिपीको अगाडी बुवा आमाको केही लागेन।

१२ को परिक्षा दिएपछि अष्ट्रेलिया आउने प्रक्रिया बारे बुझ्न थालें। १२ को रिजल्ट पनि राम्रो आयो, अनि सुरु भयो अष्ट्रेलियाको प्रोसेस। आइएलटिएस र एकेडेमिक नतिजा राम्रो भएकोले भिसा पनि लाग्यो। भिसा लाग्दा म संसारकै सबैभन्दा खुशी व्यक्ति थिएँ होला, अनि मेरी आमा संसारकै दुखी। सायद मेरो खुशीमा आमा दुखी बनेको यो पहिलो पटक थियो।

अष्ट्रेलिया उडें। सन्तान स्वार्थी हुन्छन् , जब अप्ठ्यारोमा पर्छन् अनि सम्झिन्छन् आमाले मायालु आँखाले हेर्दै सम्झाएको। यहाँ आइसकेपछि घरमा पुल्पुलिएकी मलाई कसरी सजिलो हुन्थ्यो र ? गाउँकै चिनेकी दिदीसंग कुरा गरेर आएकी थिएँ, त्यसैले आउना साथ बस्नको लागि अप्ठ्यारो परेन। तर एक हप्तापछि सुरु भयो संघर्ष।

काम खोज्नुपर्यो, काममा मरिमेटेर काम गर्नुपर्यो, कलेज फी जुटाउनुपर्यो, खाने-बस्ने खर्चको जोहो गर्नुपर्यो, पढ्नुपर्यो, असाइनमेन्ट गर्नुपर्यो। अनि न त थकान मेटाउनको लागि सताउन आमा संगै थिइन् , न त त्यो थकानको रिस पोख्न बहिनी संगै थिई। अब अष्ट्रेलिया मेरो लागि बाध्यता बन्न थाल्यो। न त म त्यो सबै छोडेर जान सक्थें, न त आफ्नो मनलाई खुशी दिलाउन। बाहिर खुशी भएपनि मनले भने झुट बोल्न सक्दोरहेनछ। आमाले फोन गर्दा हाँसी हाँसी, कस्तो रमाइलो छ यहाँ त भन्थें, अनि फोन राखिसकेपछि बिस्तारमा घोप्टो परेर रुन थाल्थें।

भन्छन् नि, जीवनमा जे कुरा पनि हामीलाई केही सिकाउनको लागि हुन्छ। नेपालमा भएको भए म अहिले जस्तो आत्मनिर्भर हुन्नथें होला, साना खुशीहरुको मूल्य चिन्न सक्दिनथें होला, आत्मविश्वासी हुन सक्दिनथें होला, यति धेरै मेहनती पनि हुदिनथिएँ होला।

अष्ट्रेलियाले अरुलाई के दियो थाहा छैन, तर मलाई भने जीवनप्रति आशा राख्न, मेहनत गर्न र अप्ठ्यारोमा उभिन सिकाएको छ। पढाइ र कामको संघर्षपछि म अहिले आफ्नो काममा अगाडी बढेकी छु। पीआर पनि प्राप्त गरें। आमा बुवाहरुलाई विदेश घुमाउन सक्ने भएकी छु। मेरो अनुभवबाट मलाई लाग्छ, यदि व्यक्तिले संघर्ष गर्न सक्ने आफूभित्रको क्षमतालाई चिन्ने हो भने जुनसुकै ठाउँमा पनि जीवनप्रतिको आशा जीवित राख्न सक्दो रहेछ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.