अष्ट्रेलियाको भिक्टोरियामा १६ औं न्याभ कप क्रिकेट टुर्नामेन्टको तयारी, ११ टिमको सहभागिता रहने

0
171

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा यतिबेला १६ औं न्याभ कप क्रिकेट टुर्नामेन्टको तयारी चलिरहेको छ। भिक्टोरियावासी नेपालीहरुको साझा संस्था नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभले) आयोजना गर्दै आएको न्याभ कपको यसपालीको संस्करण जनवरी १० देखि सुरु हुने भएको हो।

‘सद्भाव र एकताको लागि खेलकुद’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको यसपालीको न्याभ कप टि ट्वेन्टी क्रिकेट टुर्नामेन्टमा प्रतियोगीको रुपमा ११ टिमको सहभागिता रहने संस्थाका उपाध्यक्ष प्रेम राज उप्रेतीले बताउनुभयो। उहाँले नेपाली समुदायमा क्रिकेट टिमहरुको संख्या संगै खेल क्षमतामा पनि वृद्धि भइरहेकोमा खुशी व्यक्त गर्दै न्याभले आयोजना गर्दै आएको टुर्नामेन्टले ती टिमहरुलाई थप अगाडी बढ्नमा हौसला तथा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

यसपालीको न्याभ कप क्रिकेट टुर्नामेन्टमा रोयल राइनोज क्रिकेट क्लब, एक्स्पर्ट सगरमाथा स्टार्स, एक्स्पर्ट सगरमाथा रेनेगेड्स, एक्स्पर्ट सगरमाथा टाइटन्स, गोर्खाली क्रिकेट क्लब, फार वेस्ट हन्टर क्रिकेट क्लब, मेभेन क्रिकेट क्लब, नर्रे किंग्स क्रिकेट क्लब, ग्लोबल इन्टरफेस क्रिकेट क्लब, द हिमालयन टाइटन्स, द हिमालयन जायनट्स क्रिकेट क्लब उपाधिको लागि भिड्नेछन्।

१६ औं न्याभ कपको उपाधि विजेताले २ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता बन्ने क्रिकेट टिमले पुरस्कार स्वरुप १ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ। ग्रेस इन्टरनेशल मुख्य प्रायोजकको रुपमा रहेको यो प्रतियोगिताको फाइनल खेल २८ फेब्रुअरीमा हुनेछ।

यसपालीको न्याभ कपको उद्घाटनमा संस्थाले आफ्नो २४ औं वार्षिकोत्सव पनि मनाउने उपाध्यक्ष प्रेम राज उप्रेतीले बताउनुभएको छ। उहाँले उक्त दिनलाई न्याभ दिनको रुपमा मनाउने जानकारी दिंदै संस्थालाई यहाँसम्म आइपुग्नको लागि सहयोग गर्ने समग्र नेपाली समुदायप्रति कृतज्ञता प्रकट गर्नुभयो।