जति नै ‘ग्याप’ होस्, उमेर होस् आफ्नो रुचीको क्षेत्रमा हाम फाल्न नडराउनुस्: सुनोद श्रेष्ठ

0
774

अष्ट्रेलियामा नेपाली समुदायमाझ चिरपरिचित नाम हो, सुनोद श्रेष्ठ। उनले नेपाली म्युजिक भिडियो मात्र नभएर अष्ट्रेलियन टेलिफिल्म, फिचर फिल्ममा समेत काम गरिसकेका छन्। संजीव सिंहको ‘तिमी र म’, एक्सिस ब्याण्डको ‘सात समुद्र पारी’, इन्दिरा जोशीको ‘गर्लफ्रेन्ड’, बड्स ब्याण्डको बिर्सन सक्दिन’ म्युजिक भिडियोहरु उनले अभिनय गरेका चर्चित नेपाली म्युजिक भिडियोहरु हुन्। यसका साथै आफ्नै कन्सेप्ट तथा अभिनयमा कमेडी भिडियोहरु निर्माण गर्ने सुनोद नेपाली युवापुस्ता माझ लोकप्रिय छन्।

सुनोद श्रेष्ठको परिकल्पना, अभिनय तथा निर्माणमा नयाँ म्युजिक भिडियो ‘बरालिदै हिडें’ सार्वजनिक भएको छ। उनको नयाँ म्युजिक भिडियो, अभिनय यात्रा र जीवन अनुभवको बारेमा गरिएको संक्षिप्त कुराकानी :

अहिले अष्ट्रेलियाको नेपाली समुदायमा अभिनयको माध्यमबाट आफ्नो परिचय स्थापित गर्नुभएको छ। खास अष्ट्रेलिया आउनुको तपाईंको उद्देश्य चाहिं के थियो ?
मलाई मल्टिमिडिया पढ्ने मन थियो। तर नेपालमा त्यसको लागि मैले चाहेजस्तो शैक्षिक संस्था त्यो समयमा थिएन। त्यसैले मल्टिमिडिया पढेर नेपाल फर्किने उद्देश्यले २००७ मा अष्ट्रेलिया आएको हूँ।

मल्टिमिडिया पढेर नेपाल फर्किने उद्देश्यले आएको मान्छे अष्ट्रेलियामै अभिनयमा कसरी जम्नुभयो ?
यस्तो भयो, मल्टिमिडियामा त्यतिबेला अष्ट्रेलिया सरकारले पीआर भिसा दिँदोरहेछ। मलाई पनि थाहा थिएन। पढाइ सकेपछि अग्रज दाइहरुको सल्लाहमा पीआरको लागि प्रक्रिया अगाडी बढाएँ। त्यसपछि अष्ट्रेलियामा नै रहेर म्युजिक भिडियो खेल्न थालें। अभिनय मेरो लागि पेशा भन्दा पनि ‘प्यासन’ हो। त्यही प्यासनले गर्दा कमेडी भिडियोहरु पनि बनाउन थालें। अष्ट्रेलियाकै टेलिफिल्म, फिचर फिल्म खेल्ने अवसर पनि पाएँ। मैले कति गर्न सकेको छु, थाहा छैन। तर म मेरो जिन्दगीदेखि खुशी छु र यो खुशी मेरो यही कामले दिएको हो।

अष्ट्रेलिया आउने धेरै विद्यार्थीमा कलाकारिता, खेलकुदमा रुची हुन्छ। तर यहाँको जीवनशैली र आफ्नो रुचीको बीचमा पर्दा डिप्रेसनमा जान्छन्, भनिन्छ नि ?
हेर्नुस् मैले आफ्नो पहिलो म्युजिक भिडियो ‘तिमी र म’ आठ वर्ष अगाडी गरेको हूँ। नेपालमा भएको भए मैले यो आठ वर्षको अन्तरालमा कति म्युजिक भिडियो खेल्थें होला ? त्यो अनुसार मैले यहाँ गर्न सकेको छैन नि ! मेरो म्युजिक भिडियो या अन्य प्रोजेक्टको बीचमा धेरै ‘ग्याप’ हुनेगर्छ। त्यो ग्याप भनेको मैले सबैकुराको सन्तुलन मिलाउँदा लाग्ने समय हो। यसरी सन्तुलन मिलाउंदै मैले अवसरहरुलाई समात्ने प्रयास गर्छु। मलाई के लाग्छ भने, आफूले चाहे अनुसारको काम गर्नु छ र आत्मसन्तुष्टिका साथ बाँच्नु छ भने त्यो सन्तुलन मिलाउन सिक्नुपर्छ। दुई/चार वर्ष ग्याप भएर चिन्ता लिनु पर्दैन। बस् आफ्नो प्यासनलाई छोड्नु हुँदैन।

यो सन्तुलनमा आम्दानी पनि पर्छ होला। अष्ट्रेलियामा अहिले कलाकारितामा लागेर मात्र बाँच्न सकिने स्थिति छ त?
छैन। त्यसैले गर्दा त हो, सन्तुलन आवश्यक पर्ने। सजिलो छैन। तर आफूले चाह्यो भने नि, मान्छेले त्यो काम गरेरै छोड्छ। आफूले मनदेखि गर्न चाहेको, आफूलाई आत्मसन्तुष्टि मिल्ने काम गर्न जति उमेर ढल्के पनि फरक पर्दैन, जति वर्षको ग्याप रहेपनि फरक पर्दैन। पछिल्लो समय डिप्लोमा इन एक्टिङ्ग गरें। पढ्न जाँदा म कक्षामा सबैभन्दा बढी उमेरको विद्यार्थी थिएँ होला। तर मलाई लाज लागेन। मलाई सिक्नु थियो नि। आफूले पाइला नरोकेपछि बाटो बिस्तारै आफै बन्दैजान्छ। हतोत्साही हुनुहुन्न। के थाहा, कुनै दिन कलाकारितामा लागेर मात्र बाँच्न सकिने स्थिति पनि आउँछ कि?

Picture from the set of Gallipoli (Australian TV Series) as Gurkhas Army.

नेपाली म्युजिक भिडियो बाहेक तपाईंले अभिनयको क्षेत्रमा अष्ट्रेलियामा गरेको कामको बारेमा बताइदिनुहोस् न !
बामे सर्दैछु। अष्ट्रेलियाको टेलिभिजन एसबीएसमार्फत प्रशारण हुने टेलिफिल्म विल्फेर्ड द डगमा काम गरें। यस्तै, हाँस्य टेलिश्रृखंला उत्पादन गर्ने कमेडी टेलिभिजनको ओपन स्यालदरमा, अष्ट्रेलियन टेलिभिजन च्यानल सेभनबाट प्रशारण हुने विनर एण्ड लुजरको संस्करणमा पनि काम गरें। च्यानल नाइनमार्फत प्रशारण भएको ग्यालोपोली वारमा गोर्खालीको रुपमा अभिनय गरें र दर्शकले अत्यधिक मन पराए। त्यस्तै, अष्ट्रेलियन फिचर फिल्म द मेन कफ मेथोडमा पनि अभिनय गरें। सिक्दैछु, अवसरहरु चिन्ने कोसिस गर्दैछु।

कलाकारितामा नेपाली समुदायबाट कस्तो सहयोग पाइरहनुभएको छ ?
सहयोग भनेको केवल पैसा मात्र होइन। मलाई लाग्छ, यहाँ रहेको अन्य समुदायभन्दा नेपाली समुदाय धेरै नै सहयोगी छ। सुझाव, सल्लाह, हौसला, प्रेरणा भनेका मेरो लागि नेपाली समुदायको आशीर्वाद हो। मेरो पछिल्लो म्युजिक भिडियो ‘बरालिदै हिडें’ मा नेपाली समुदायका दाजुभाइ, दिदीबहिनीबाट बाजा, आवश्यक सरसामानदेखि लिएर प्रत्यक्ष सहभागिता, सामाजिक संजालमा सेयरिङ्ग, अनगिन्ति माया पाएको छु।

तपाईंको पछिल्लो म्युजिक भिडियो ‘बरालिदै हिडें’ बारे केही बताइदिनुहोस् न !
म्युजिक भिडियोको कन्सेप्ट तयार गर्दा गीतको शब्दले पनि प्रभाव पार्छ। सागर राजको शब्द तथा स्वर रहेको यो गीत रमाइलो सुनिन्छ, यत्तिकै सुन्दा पनि। अर्कोतिर, मैले कमेडी भिडियोहरु बनाइरहने भएकोले धेरैले त्यस्तै कन्सेप्ट म्युजिक भिडियोमा पनि प्रयोग गर्ने सुझाव दिनुभयो र त्यही अनुसार म्युजिक भिडियोको कन्सेप्ट तयार गरिएको हो। ‘बरालिदै हिडें’ सार्वजनिक भइसकेको छ र धेरैले मन पराइदिनुपनि भएको छ। म्युजिक भिडियोको सम्पूर्ण टिम, सहयोगी सबै, शुभेच्छुकहरु र दर्शकश्रोताप्रति कृतज्ञ छु।

अष्ट्रेलियामा रहेका अन्य नेपाली युवाहरुपनि गायन, नृत्य, म्युजिक भिडियोदेखि लिएर कलाकारिताका सबैजसो विधामा लागिरहेका छन्। एउटा कलाकारको नाताले उहाँहरुको काम कस्तो पाइरहनुभएको छ ?
एकदमै खुशी लाग्छ देख्दा। बिस्तारै हाम्रो युवापुस्ताले क्वालिटीमा पनि ‘इम्प्रुभ’ गरिरहेको छ। कलाको माध्यमबाट युवापुस्ता अगाडी बढ्नु भनेको समग्र नेपाली समुदाय ‘ग्रो’ हुनु हो। हामी एकअर्कालाई साथ दिंदै अगाडी बढ्नुपर्छ।

अन्त्यमा, अबका आफ्ना योजनाबारे बताइदिनुहोस् न !
त्यस्तो, खास यो नै भनेर भन्नको लागि केही छैन। तर शुभेच्छुकहरुले म्युजिक भिडियो कम भयो भन्नुभएको छ, म्युजिक भिडियो गर्छु। साथै अभिनयको क्षेत्रमा, या कलाकारिताको क्षेत्रमा मैले गर्न सक्ने जति पनि अवसर भेट्छु, ती अवसरको साथमा अगाडी बढीरहन्छु।

सुनोद श्रेष्ठको परिकल्पना, अभिनय तथा निर्माण रहेको पछिल्लो म्युजिक भिडियो :