सुशील चालिसेको निर्देशनमा सुनोद श्रेष्ठको नयाँ म्युजिक भिडियो ‘बरालिदै हिडें’ सार्वजनिक

0
239

मेलबर्न। अष्ट्रेलियामा रहेर नेपाली कला तथा साहित्यमा क्रियाशील व्यक्तित्वहरुको समूहले नेपाली संगीतप्रेमीमाझ नयाँ म्युजिक भिडियो लिएर आएको छ। उक्त ‘बरालिदै हिडें’ म्युजिक भिडियो गायक तथा संगीतकार सागर राजको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

‘बरालिदै हिडें’मा मोड्लिङ्ग तथा कलाकारितामा आफ्नो परिचय बनाउन सफल सुनोद श्रेष्ठ र एन्जी मुल्मीको अभिनय रहेको छ। रमाइलो नाटकीय प्रस्तुति र नृत्य रहेको म्युजिक भिडियोमा मुख्य कलाकारहरुलाई सुजना भारती, वर्षा तिलिजा पुन, प्रशान्त श्रेष्ठ र विशाल परियारले नृत्यमा साथ दिएका छन् भने नृत्यको कोरियोग्राफी सुनिल पराजुलीले गरेका हुन्।।

गीतमा शब्द तथा संगीत सागर राजको रहेको छ । संगीत तर्फ पर्क्युसनमा कुटुम्बका राजु महर्जन र बाँसुरीमा पनि कुटुम्बकै रुबिन श्रेष्ठले साथ दिएका छन्। त्यस्तै, ब्याकग्राउन्ड स्कोरिङ प्रदीप जोशीले गरेका छन् भने संगीत संयोजन समिक सापकोटाले गरेका छन्।

गीतको भिडियो मेलबर्नमा छायांकन गरिएको हो। म्युजिक भिडियोमा सुनेश श्रेष्ठ र साकार जोशीको छायांकन रहेको छ भने सम्पादन सुप्रिम पराजुलीले गरेका हुन्।

कलाकार सुनोद श्रेष्ठकै परिकल्पना तथा निर्माण रहेको म्युजिक भिडियोलाई सुशील चालिसेले निर्देशन गरेका हुन्। मुक्तककारको रुपमा परिचित चालिसेको निर्देशनमा यसअघि डकुमेन्ट्री सार्वजनिक भएको थियो।