मानसिक बिरामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरौँ : अरुण चित्रकार

0
76

हामीले मानसिक समस्यालाई लुकाउनुपर्ने विषय, खुलेर व्यक्त गर्न नसक्ने विषयको रुपमा चिन्दै आएका छौं। जसले गर्दा समाजमा विभिन्न दुर्घटनाहरु घटिरहेका छन्। मानसिक समस्या जो कसैलाई पनि हुनसक्छ । यसको उपचार पनि छ ।

ताजा घटना हो, राती मलाई नेपालबाट एकजनाले फोन गर्नुभयो । फोनमा बताउनुभयो कि, अष्ट्रेलियामा रहेको उहाँको छोरा समस्यामा छ। आफ्नै जीवन समाप्त पार्नेसम्मको कुरा गर्दछ । मैले तत्कालै उहाँको छोरालाई फोन गरें । उसको समस्या के हो बुझ्ने प्रयास गरें । तर फोनबाट सम्भव भएन । मानसिक समस्या हो कि जस्तो सम्म थाहा भयो ।

फोनमा कुराकानी गरेर मात्र मेरो मनले मानेन। त्यसपछि राती नै हामी उसलाई भेट्न गयौं । त्यहाँ पुगेपछि बुझ्यौं कि यो समस्या हामीले सोचेभन्दा जटिल छ । तत्कालै अस्पतालको ईमर्जेन्सीमा लगिहाल्यौं । ढिलो हुनुभन्दा पहिले हामीले उसलाई अस्पताल लैजान सफल भयौं। मैले राती नै उसलाई फोन नगरेर अर्को दिन कुरेको भए ?

यसको लागि म व्यक्तिगत रुपमा डा.अनुपम पोखरेल, चिरञ्जीवी देवकोटा, गणेश न्यौपाने र त्यो भाईसँगै बस्ने रुममेट अर्को भाईलाई मनैदेखि धन्यवाद दिन्छु । जसले उसलाई अस्पतालसम्म पुर्याउनको लागि मलाई मार्गनिर्देश गर्ने र सहयोगी हात बढाउने काम गर्नुभयो ।

मेरो यो अनुभवका आधारमा यति भन्न चाहन्छु कि, यदि तपाईंको कुनै साथी वा परिवारको सदस्य असामान्य व्यवहार गरिरहेको छ, जीवनदेखि विरक्त मानेर कुनै दुर्घटना गराउने खतरामा छ भने ढिला नगर्नुस् । तुरुन्त चिकित्सकको सल्लाह लिनुस् । डाक्टरकोमा लैजानुस् । समस्याको सही पहिचान र उपचारको प्रारम्भ यहीँबाट हुन्छ । तपाईंको त्यो सहयोगले उसको जीवन नै परिवर्तन हुनसक्छ।

मानसिक समस्या जो कोहीलाई हुनसक्छ यसैले यस्ता बिरामीलाई हेर्ने दृष्टिकोण सदैव सकारात्मक राखौं ।

  • अरुण चित्रकार