अष्ट्रेलियाको भिक्टोरियाले जनवरीदेखि भिसा प्रोग्राम सुचारु गर्ने

0
148

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले जनवरी महिनादेखि भिसा प्रोग्राम सुचारु गर्ने भएको छ। भिक्टोरियाले सबक्लास १९० र ४९१ को लागि भिसा प्रोग्राम खुल्ला गर्ने भएको हो।

आधिकारिक वेबसाइटमा बताइए अनुसार, २०२०-२१ को बाँकी आर्थिक वर्षका लागि अष्ट्रेलिया सरकारले भिक्टोरियाका लागि २ हजार ७ सय ४३ कोटा छुट्टाइदिएको छ। जसमध्ये स्किल्ड नोमिनेटेड भिसा (सबक्लास १९०) का लागि १९ सय र स्किल्ड वर्क रिजनल (प्रोभिजनल) भिसा (सबक्लास ४९१) का लागि ८ सय ७३ कोटा रहेका छन्।

यी भिसाको लागि सरकारले आवश्यक योग्यतामा भने फेरबदल गरेको छ। सबक्लास ४९१ भिसाको लागि रिजनल भिक्टोरियामा पहिले नै बसोवास गरेको र काम गरेको, कम्तिमा ३ महिना काम गरेको र स्वास्थ्य, मेडिकल रिसर्च, लाइफ-साइन्स, एग्री-फुड, डिजिटल सेक्टर जस्ता कोरोना महामारीबाट भिक्टोरियाको अर्थतन्त्रलाई माथि उठ्न मद्दत पुग्ने पेशामा काम गरेको हुनुपर्नेछ।

सबक्लास १९० भिसाको लागि भिक्टोरियामा पहिले नै बसोवास गरेर कम्तिमा ६ महिना काम गरेको तथा स्वास्थ्य, मेडिकल रिसर्च, लाइफ-साइन्स जस्ता कोरोना महामारीबाट भिक्टोरियाको अर्थतन्त्रलाई माथि उठ्न मद्दत पुग्ने पेशामा काम गरेको हुनुपर्नेछ।

भिसा प्रोसेस आगामी जनवरी ५ देखि सुचारु हुनेछ। अन्तरिम प्रोग्राममा नै आरओआई भरेको भएमा अर्को आरओआई बुझाउनु पर्नेछैन। पूरानो आरओआईबाट नै प्रक्रिया अगाडी बढ्नेछ।