संसद विघटन रहर होइन, मेरो वाध्यता हो : प्रधानमन्‍त्री ओली

0
107

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन रहर नभई बाध्यता भएको बताएका छन्।

वालुवाटारमा नेकपाका निवर्तमान सांसदहरुलाई बिशेष सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी भित्रवाट घेराबन्दी भएको र कामै गर्न नदिए पछि बाध्य भएर ताजा जनादेशका लागि जानु परेको बताएका हुन्।

ओलीले संसद् विघटन भएर चुनाव घोषणा भइसकेकोले यसमा अब विवाद गर्नुभन्दा सबै दल चुनावमा जुट्नु उपयुक्त हुने बताए।

बहुमत प्राप्त प्रधानमन्‍त्रीले गरेको राजनीतिक निर्णय भएकोले यसलाई चुनौती दिने हक कसैलाई नभएको उनले बताए। उनले मन्‍त्रिपरिषद्को निर्णयका आधारमा प्रधानमन्‍त्रीको सिफारिस र राष्ट्रपतिको अनुमोदनमा चालिएको राजनीतिक कदममा अदालतले पनि केही गर्न नमिल्‍ने बताए। 

उक्त बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका भनिएका निवर्तमान सांसदहरु शेरबहादुर तामाङ, यज्ञबहादुर बोगटी र छक्कबहादुर लामा पनि सहभागी थिए।