सगरमाथा र एक्सपर्ट क्रिकेट क्लबबीच एकता घोषणा, क्लबको नाम अब ‘एक्सपर्ट सगरमाथा ब्लूज’

0
157

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा नेपाली समुदायलाई खेल क्षेत्रमा अगाडी बढाइरहेका सगरमाथा क्रिकेट क्लब र एक्स्पर्ट क्रिकेट क्लबबीच एकता घोषणा भएको छ। सप्ताहन्तमा एक कार्यक्रमको आयोजना गरी उक्त घोषणा गरिएको हो।

एकता घोषणा कार्यक्रममा सगरमाथा क्रिकेट क्लबका उपाध्यक्ष एवं प्रवक्ता सुदिप न्यौपानेले हालका दुवै क्लबको अस्तित्व कायम राख्दै यो सहकार्य दिर्घकालसम्म रहने विश्वास व्यक्त गरेका थिए। त्यस्तै, क्लबका अध्यक्ष सञ्जय कँडेलले खेलाडीहरुलाई हालसम्मको मेहनत र सफलतालाई कायम राख्दै उच्च मनोबलका साथ अझ अगाडी बढ्दै यो एकताको गरिमा राख्नको लागि आग्रह गरेका थिए।

एकता घोषणा कार्यक्रममा बोल्दै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मेलबर्नका निर्देशक वसन्त पोखरेलले दुई प्रतिष्ठित क्लबहरुको सहकार्यले नेपाली समुदायको खेल क्षेत्रको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका थिए।

एकता घोषणा कार्यक्रममा क्लबको नयाँ नामसंगै नयाँ क्याप्टेनको बारेमा पनि जानकारी दिइएको थियो। क्लबको नयाँ नाम एक्सपर्ट सगरमाथा ब्लूज रहने भएको छ। त्यस्तै क्लबको नयाँ क्याप्टेन आशिष जीसी रहने भएका छन्।