अवैध औषधिसहित आठ जना पक्राउ

0
164

चितवन, १ पुस 

जिल्ला प्रहरी कार्यालय चितवनले लाखौँ मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ । माडी नगरपालिकाका विभिन्न ठाउँबाट रु ३१ लाख पाँच हजार ६३३ बराबरको अवैध औषधि प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी बरामद गरिएका औषधि र अवैध कार्यमा संलग्न आठ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले उनीहरुलाई विभिन्न मुद्धाअन्तर्गत अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

उहाँले यस्ता प्रकारका औषधि नेटवर्किङ धन्दामा प्रयोग गर्ने गरिएकाले सोहीअनुरुप उनीहरुमाथि अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँले औषधिबारे अनुसन्धानका लागि भने औषधि व्यवस्था विभाग पठाइने जानकारी दिनुभयो ।

मङ्सिर ३० गते बिहान ८ः४० बजेको समयमा इलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा खटिएको टोलीले माडी–९ सोमेश्वरमा ना४ख ४४२५ नम्बरको गाडीलाई रोकेर जाँच गर्दा अवैध औषधि बरामद गरेको थियो । गाडीको डिक्कीमा लुकाएर राखिएका विभिन्न प्रकारका औषधि फेला परेपछि चालक राजकुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

सोही क्रममा माडी–३ बस्ने बालकृष्ण महतो र मिलन महतोको घरमा लुकाइ राखिएको अवस्थामा पनि विभिन्न किसिमका औषधि प्रहरीले फेला पार्न सफल भएको थियो । प्रहरीले अनुसन्धानका क्रममा औषधि ओसारपसार कार्यमा संलग्न चितवनको कालिका नगरपालिका–४ का २८ वर्षीय राजकुमार महतो, माडी–३ बघौडाका २२ वर्षीय बालकृष्ण महतो, सोही स्थानका २२ वर्षीय मिलन महतो, कालिका–३ का ३१ वर्षीय हरिशरण महतो, मकवानपुरको गढी गाउँपालिका–८ का २५ वर्षीय सुरज गौतम, गढी–३ का २३ वर्षीय प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका–५ का २५ वर्षीय उज्जवल पोख्रेल र वडा नं.२३ का २३ वर्षीय विपिन सापकोटालाई पक्राउ गर्न सफल भएको छ ।

प्रहरीले आज बिहान मात्रै पनि माडी–९ बगही खोला किनारको झाडीमा बेवारिसे अवस्थामा रहेका सात प्रकारका औषधि पनि बरामद गरेको छ ।