अष्ट्रेलियाले अक्टोबरदेखि यता जारी गरेको छैन स्किल इन्डीपेनडेन्ट भिसाको लागि इन्भिटेसन

0
80

मेलबर्न। अष्ट्रेलिया सरकारले अक्टोबर महिनादेखि यता स्किल इन्डीपेनडेन्ट भिसाको लागि इन्भिटेसन जारी गरेको छैन। अष्ट्रेलियाको गृह मन्त्रालय अन्तर्गत विभागले अक्टोबर २१ देखि यता यो भिसाको लागि कुनै पनि इन्भिटेसन जारी नगरेको हो।

स्किल इन्डीपेनडेन्ट (सबक्लास १८९) भिसाका लागि अक्टोबर महिनामा पनि यो वर्षकै सबैभन्दा कम इन्भिटेसन जारी भएको थियो। कोरोना महामारीका कारण अष्ट्रेलियनहरुले जागिर गुमाएको, व्यवसायमा घाटा व्यहोरिरहेकोले सरकारले अष्ट्रेलियनलाई रोजगारीमा प्राथमिकता दिनको लागि भिसा इन्भिटेसन कम गरेको छ।

स्किल इन्डीपेनडेन्ट (सबक्लास १८९) भिसा दक्ष कामदारलाई प्रदान गरिन्छ। यो भिसा प्राप्त गर्ने व्यक्ति अष्ट्रेलियामा स्थायी रुपमा बसोवास गर्न र काम गर्न पाउँछ। तर यो भिसाको लागि सरकारले इन्भिटेसन जारी गर्नुपर्छ। सरकारले देशको आवश्यकता अनुसार, कामदारको उच्च माग रहेका पेशाको लागि इन्भिटेसन जारी गर्छ। ती इन्भिटेसनमा सिमित कोटा हुन्छ। इन्भिटेसन जारी भएपछि भिसाको लागि एप्लाई गर्न सकिन्छ। सरकारले एप्लाई गर्ने व्यक्तिको सिप तथा दक्षताको मूल्यांकन गरी भिसा प्रदान गर्छ।