मास्टर सेफ यूकेको सेमिफाइनल राउण्डबाट पनि छनौट भए सन्तोष

0
186

लन्डन । बीबीसीको  प्रतिष्ठित ‘मास्टर सेफ प्रोफेसनल्स् यूके २०२०’ प्रतियोगितामा नेपाली सेफ सन्तोष साह सेमिफाइनल राउण्डबाट पनि छनौट भएका छन्। मंगलबार साँझ प्रसारित  दोस्रो चरणको प्रतिस्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई  पछि पार्दै उत्कृष्ट ८ मा पर्न सफल भएका हुन् ।

क्वार्टरफाइनलमा सन्तोषले ‘स्टार्टर’ मा टिमुर स्पाइस्ड अक्टपस विथ सिस्नु र आलुको तरकारी, भाङको चटनी र कर्कलोको पातको परिकार बनाएका थिए । मंगलबार साँझ बीबीसी वानमा प्रसारित  दोस्रो चरणको प्रतिस्पर्धामा  सन्तोषले रोस्टेड काँक्रोको बिँया, पोलेको कटहरको बिँया, बन तरुल, प्याजको अचार, स्याउको चट्नी लगायतका परिकारको सफल प्रदर्शनी गरेका थिए ।  

भोलि १० तारिख विहीबार ८ जना सेमीफाइनलिष्ट प्रतियोगीबीचमा अर्को चरणको प्रतिस्पर्धा गराएर फाइनल राउन्डको लागि ६ जनालाई छनौट गरिनेछ ।

बेलायत उत्रिएको एक दशक नबित्दै सन्तोषको सफलता अहिले शिखरमा छ । अहिले उनी संयुक्त अधिराज्यस्थित प्रतिष्ठित भारतीय रेस्टुरेन्ट तथा होटलहरुमा उच्च तहको सेफका रुपमा कार्यरत छन् । उनी यहाँ निकै प्रतिष्ठित मानिने ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरुमा एक्जुकेटिभ सेफसम्मको उच्च पोजिसिनमा पुगेका छन् । बेलायतमा रेस्टुरेन्ट तथा होटल क्षेत्रमा एक नेपालीले पाएको यस्तो सफलता सायदै अन्य नेपालीले पाएका छन् ।