अष्ट्रेलियामा हुर्किएकाहरुले नेपाली भाषा, संस्कृति सिक्नु पर्दैन भन्ने हुँदैन: समृद्धि हाडा

0
42

नेपालमा जन्मिएर सानै उमेरमा अष्ट्रेलिया आउनुभएकी समृद्धि हाडा हाल परिवारको साथमा भिक्टोरियामा बसोवास गर्दै आउनुभएको छ। उहाँले अभिनय गरेको नेपाली देशभक्तिपूर्ण गीत ‘सूर्य चन्द्र अंकित मेरो देश’को म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ। समृद्धिको यो पहिलो म्युजिक भिडियो हो।

नेपालमा जन्मिएर फरक भाषा तथा संस्कृतिमा हुर्किनुभएकी समृद्धिको हालसम्मको सिकाई तथा म्युजिक भिडियोको अनुभव वरिपरि रहेर गरिएको संक्षिप्त कुराकानी :

अष्ट्रेलिया कहिले आउनुभएको हो ?

मेरो जन्मभूमी चाहिं नेपाल हो। सात वर्षकी हुँदा परिवारको साथमा अष्ट्रेलिया आएकी हूँ। यतै पढें, हुर्किएँ।

अहिले के गर्दै हुनुहुन्छ ?

अहिले म ब्याचलर लेभलको पढाइ सकेर काम गर्दै छु। पढाइ पछिको यो समय फुल टाइम कामको लागि दिइरहेकी छु।

‘सूर्य चन्द्र अंकित मेरो देश’ म्युजिक भिडियोमा खेल्नुभएको छ। म्युजिक भिडियोतिर पनि करियर बनाउने सोंच्दै हुनुहुन्छ कि ?

रहर पहिलेदेखि नै थियो। तर त्यस्तो संयोग जुरेको थिएन। ‘सूर्य चन्द्र अंकित मेरो देश’ म्युजिक भिडियोमा अवसर पाएँ। त्यसको लागि गीतकार निरु त्रिपाठीजी, भिक्टोरियाका लागि महावाणिज्यदूत चन्द्र योञ्जनजी लगायत सम्पूर्ण टिमप्रति आभारी छु।

‘सूर्य चन्द्र अंकित मेरो देश’ गीतमा नेपालप्रतिको देशभक्तिपूर्ण शब्दहरु छन्। तपाईं त अष्ट्रेलियामा हुर्किनुभएको मान्छे। कसरी यी शब्दलाई महसुस गर्न सक्नुभयो ?

नढाँटि भन्नुपर्दा, पहिले सानो छँदा मलाई नेपालप्रति त्यस्तो धेरै लगाव थिएन। तर हुर्किंदै जाँदा आमा बाबाले सिकाउनुभएको भाषा, संस्कृतिप्रति रुची जाग्न थाल्यो। नेपाली चाडपर्व तथा विशेष दिनमा कम्युनिटी प्रोग्रामले झन् आकर्षित गरे। त्यसपछि नेपालबारे पढ्ने, खोज्ने र बुझ्ने गर्न थालें। बाबाले नेपालप्रतिको मेरो आकर्षणलाई बुझेर र नेपालीपनलाई सधै जीवित राख्नुपर्छ भन्ने सोंचले सबैकुरा सिकाउनुभयो। म्युजिक भिडियो खेल्नु अगाडीपनि बाबाले गीतको हरेक शब्दलाई जोड दिंदै मलाई ती प्रत्येक शब्दको महसुस गराउनुभयो। यसले गर्दा पनि ती शब्दहरुमा मैले आफूलाई पाउन सकें।

म्युजिक भिडियो हेर्दा आफूले गरेको कामदेखि कत्तिको सन्तुष्ट हुनुभयो ? अरुबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

एकदमै खुशी लाग्यो। म्युजिक भिडियोमा मैले लगाएको नेपाली पहिरन छ नि, मैले त्यस्तो पहिरन लगाएकै थिइन। त्यतिखेर पहिलो पटक लगाउँदाखेरी नै अर्कै महसुस भयो। त्यसपछि म्युजिक भिडियो आएपछि धेरै साथीहरु ( जो नेपाली हुन्, अष्ट्रेलियामा हुर्किए ) ले त्यस्तै पहिरन लगाउने इच्छा व्यक्त गरिरहेका छन्। उनीहरु नेपालीपन प्रति आकर्षित भएका छन। अनि, म्युजिक भिडियोले गर्दा मलाई नेपालप्रति झन् सम्मान र माया जागेको छ। म्युजिक भिडियो हेरेर आउने प्रतिक्रियाहरु पनि एकदमै सकारात्मक छन्। यसको लागि सबैलाई धन्यवाद दिन चाहन्छु।

अष्ट्रेलियामा हुर्किएका नेपाली मुलका दोस्रो पुस्ताका बारेमा कुरा गर्नुभयो। उनीहरु नेपालसंग कत्तिको ‘कनेक्ट’ छन् भन्ने लाग्छ ?

खासमा के हुन्छ भने, यहाँ हामी सानोमै आयौं। घरमा बाबा आमाले हामीसंग बोल्ने भाषा र सिकाउने कुरा फरक हुन्छ। त्यसपछि स्कुलमा र साथीहरुसंग बोल्ने भाषा, सिक्ने संस्कृति फरक हुन्छन्। यसले गर्दा हामी केही समय ‘कन्फ्युज’ हुने रहेछौं। के सिक्ने ? अनि, धेरै समय त हामीले साथीहरुसंग र स्कुलमा नै बिताएका हुन्छौं। त्यसपछि हामी उतैतिर लाग्छौं। यसले गर्दा केही समय नेपाली संस्कार, संकृतिदेखि टाढा भइदो रहेछ। तर ठूलो हुँदै जाँदा हामीले बुझ्न थाल्छौं नि त, हाम्रो जरा कहाँ हो। हाम्रो पृष्ठभूमी के हो भनेर। त्यसपछि मलाई नेपालीपनले तानेको हो। तर सबै नेपालीपनतिर तानिन्छन् भन्ने हुँदैन। उनीहरुलाई यता आफू हुर्किएरहेको परिवेश सहज लाग्छ र यतै भुल्छन्।

यसबारेमा तपाईंजस्तै दोस्रो पुस्तालाई के सुझाव दिन चाहनुहुन्छ ?

हामी अष्ट्रेलियामा हुर्कियौं भन्दैमा नेपाली भाषा, संकृति सिक्नु पर्दैन भन्ने हुँदैन। नेपाली कला, संस्कृति कति धनी छ भन्ने कुरा हामीले त्यो नेपालीपनभित्र हेर्ने कोसिस गर्यौं भने बुझ्न सक्छौं। नेपाली भाषामा हामीले आत्मियता र सद्भाव पाउन सक्छौं। त्यसपछि हामीलाइ यत्तिकै त्यतातिर आकर्षण हुन थाल्छ। हामी त भाग्यमानी मान्छेहरु, दुई देशको संस्कृतिको बीचमा हुर्किन पायौं।

यो दोस्रो पुस्तामाझ नेपाली भाषा, कला, संस्कृति बुझाउन तथा यसको प्रबर्द्धन गर्न के गर्नुपर्ला ?

नेपाली समुदायमा धेरै भन्दा धेरै कार्यक्रम हुनुपर्यो। त्यसमा परिवारले आफ्ना सन्तानलाई पनि सक्रिय रुपमा सहभागी गराउनुपर्यो। नेपाली सांस्कृतिक प्रस्तुतिहरु, नेपाली साहित्य जस्ता कार्यक्रममा दोस्रो पुस्तालाई सक्रिय रुपमा सहभागी गराउने हो भने उनीहरुले नेपाली भाषा तथा कला, संस्कृतिको बारेमा राम्रोसंग जान्ने मौका पाउँछन्। त्यस्तै, परिवारले पनि नेपाली कला, संस्कृतिको बारेमा आफ्ना सन्तानलाई सिकाउंदै जानुपर्यो।

अन्त्यमा, अब तपाईंलाई अन्य म्युजिक भिडियोमा पनि हेर्न सकिने सम्भावना कत्तिको छ ?

मलाई सानैदेखि यसतर्फ रुची हो। यो पहिलो म्युजिक भिडियोपछि रुची झन् बढेको छ। अवसर पाएसम्म म्युजिक भिडियो गर्नेछु। अष्ट्रेलियामा रहेर नेपाली गीत,संगीत, कलामा लाग्नुभएकाहरु धेरै हुनुहुन्छ। अहिले डिजिटल प्लाटफर्मले गर्दा हामी विश्वको एउटा देशमा रहेर पनि आफ्नो कामलाई संसारभरका नेपालीमाझ फिजाउन सक्छौं। यो अवसरको सदुपयोग गर्छु भन्ने अठोट आएको छ। अरुलाई पनि म यस्तो अवसरलाई सदुपयोग गर्नुहोस् भन्न चाहन्छु। खासगरी इच्छा हुँदा हुँदै पनि मोडलिंग र कलाकारीतामा युवाहरु लाग्न पाइरहेका हुँदैनन्। मलाई मेरो बुवाले साथ दिनुभयो र मैले आफ्नो इच्छा पूरा गरें। यसरी नै अरु अभिभावकले पनि साथ दिए हुन्थ्यो भन्ने लाग्छ। मेरो व्यक्तिगत अनुभवमा पढाइमा एकोहोरो लाग्दा हामीमा आत्मविश्वास हुँदोरहेनछ। यसरी काम गर्दा, आफ्नो रुची अनुसार बाहिर आउँदा आत्मविश्वास बढ्दो रहेछ।

म्युजिक भिडियो :