बेलायतले खोल्यो वर्क परमिट, नेपाल लगायत सबै देशका नागरिकले आवेदन दिन पाउने

0
292

लन्डन। बेलायत सरकारले वर्क परमिट खुल्ला गरेको छ। बेलायतले युरोपेली संघ (ईयू) छाडेपछि संसारभरका दक्ष कामदार भित्रिन पाउने गरी वर्क परमिट खुल्ला गरेको हो।

अब नेपाल लगायत सबै देशका नागरिकहरुले बेलायतको दक्ष कामदार भिसाको लागि आवेदन दिन सक्नेछन्। भिसाको लागि आवेदन १ डिसेम्बर २०२० देखि नै खुल्ला गरिएको र जनवरी १, २०२१ देखि बेलायतमा काम गर्नका लागि अनुमति दिइने बेलायत सरकारले जनाएको छ।

यो कामदार भिसाको लागि अंग्रेजी भाषामा निपुण हुनुपर्नेछ। त्यस्तै, रोजगारदाताबाट जागिरको अफर र कमाइ वार्षिक न्यूनतम २५ हजार ६ सय पाउण्ड हुन अनिवार्य छ ।

दक्ष कामदार भिसाको लागि अनलाइनबाट नै आवेदन दिन सकिनेछ। आवेदन दिंदा आफ्नो पहिचान प्रमाणित र कागजात उपलब्ध गराउनु पर्नेछ ।

भिसाको लागि पोइन्ट सिस्टम रहेको छ। आवेदकले भिसाको लागि योग्य हुनको लागि अनिवार्य रुपमा ७० पोइन्ट ल्याउनुपर्नेछ। ७० पोइन्ट मध्ये मान्यताप्राप्त रोजगारदाताबाट दक्ष सीपयुक्त जागिरको अफरले ४०, अंग्रेजी भाषाबाट १० र वार्षिक तलब कम्तीमा २५ हजार ६ सय हुँदा २० अंक प्राप्त गर्न सक्नेछन् ।

भिसा आवेदन शुल्क ६१० देखि १ हजार ४ सय ८ पाउण्ड, हेल्थकेयर सरचार्ज ६२४ पाउण्ड (प्रतिवर्ष) र आफ्नो खर्चका लागि कम्तीमा एक हजार २ सय ७० पाउण्ड सञ्चित हुनुपर्नेछ ।

बेलायत बाहिरका आवेदकलाई सबै प्रक्रिया पूरा गरेपछि भिसाको निर्णय तीन साताभित्र दिइने र भिसा अवधि ५ वर्षसम्म हुने सरकारले जनाएको छ ।