मापदण्ड पूरा गरेकालाई कोरोना बिमाको रकम तीनदिनमै भुक्तानी गर्न निर्देशन

0
145

काठमाडौं । अर्थ मन्त्रालयले बिमा समितिलाई सात दिनमा कोरोना दाबी भुक्तानी हुन नसकेको बारे प्रश्न गरेको छ । गत कात्तिक १८ गतेको निर्णयअनुसार एक सातामै भुक्तानी दिइसक्नुपर्ने भए पनि हालसम्म न्यून संख्यामा भुक्तानी भएको गुनासो आएपछि मन्त्रालय तातेको हो । मन्त्रालयका अनुसार समितिले दैनिक प्रगति विवरण अर्थमा पठाएको छैन भने समितिको हटलाइन पनि सञ्चालनमा छैन ।

अन्य निर्णय पनि समितिले पालना नगरेपछि अर्थले कागजात पूरा गरेकालाई भुक्तानी दिन र भेरिफिकेसन प्रक्रिया सकेसम्म चाँडो सम्पन्न गर्न आदेश दिएको हो । अर्थले मापदण्ड पूरा गरेका बिमितलाई तीनदिनभित्र भुक्तानी दिने व्यवस्था मिलाउन भनेको छ ।


अर्थले हालसम्मको दाबी संख्या, कागजात पूरा भएको दाबी संख्या, प्रमाणिकरणका लागि स्वास्थ्य सेवा विभाग पठाएको संख्या, नक्कली दाबीको संख्या, दाबी भुक्तानीको विवरण र कागजात पुरा भएर भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक गर्न समितिलाई निर्देशन पनि दिएको छ ।