कृषि विज्ञान पहिलो सेमेस्टरका ८० % विद्यार्थी फेल भएपछि आन्दोलित

0
70

चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत कृषि विज्ञान पहिलो सेमेस्टरको यही मङ्सिर ९ गते प्रकाशन भएको परीक्षाफलमा झन्डै ८० प्रतिशत हाराहारी विद्यार्थी फेल भएपछि आन्दोलित बनेका छन् ।

उनीहरुले परीक्षाको छानबिन हुनुपर्ने र पुनः उत्तरपुस्तिका परीक्षणको माग गरेका छन् । उनीहरुले विश्वविद्यालयमा उत्तरपुस्तिका परीक्षण गर्न हालसम्म पनि मापदण्ड नबनाएको भन्दै अन्य विश्वविद्यालयको जस्तै कार्यविधि बनाउन माग गरेका छन् ।

परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरुले परीक्षा नियन्त्रक नारायण जोशीलाई भेटेर परीक्षामा पास हुनेगरी उत्तर लेखेका विद्यार्थी किन फेल भए भनेर प्रश्न गर्दा उत्तर पुस्तिका परीक्षण गर्ने कार्यविधि नभएको र शिक्षकहरुको लापरबाहीका कारण धेरै फेल भएको विद्यार्थीहरुले बताएका छन् । 

विद्यार्थी भर्नाका बेला प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नै फेल हुने, प्रयोगात्मक परीक्षामा सहभागी विद्यार्थी नै नतिजामा एब्सेन्ट देखिने लापरबाही भएको भन्दै विद्यार्थीहरुले आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

एक वर्षभित्रमा परीक्षाफल प्रकाशन हुनुपर्नेमा कृषि सङ्कायअन्तर्गत पहिलो सेमेस्टरको परीक्षा डेढ वर्ष लगाएर प्रकाशन भएको थियो । प्रकाशित नतिजालाई लिएर नेकपा निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको भन्दै परीक्षाको छानबिन गर्न माग गरेको छ ।

विद्यार्थी सङ्गठनले विश्वविद्यालयको स्थापनको दिनबाटै देखिँदै आएको शैक्षिक तथा प्रशासनिक बेथिति, ढिलासुस्ती, लापरबाही र गैरजिम्मेवारपनाको निरन्तरता स्वरूप पछिल्लो परीक्षाफल प्रकाशित भएको उल्लेख गरेको छ ।

अनेरास्ववियुले कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति, परीक्षा नियन्त्रक र डीनको कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै परीक्षाफलको छानबिन गरी आफ्नो धारणा सार्वजनिक गर्न, कोही दोषी पाइए दोषीउपर नियमबमोजिम कारबाही गर्न, पुनरमूल्याङ्कन गर्न र भविष्यमा यस्ता घटना नदोहो¥याउनका लागि परीक्षाको कार्यविधि यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ ।

परीक्षामा धेरै विद्यार्थी फेल भएपछि विश्वविद्यालयले छानबिन समिति बनाउन लागेको जानकारीमा आएको छ ।