स्वास्थ्य सुरक्षाको नियमको पालना गर्दै छठ पर्व मनाउन उपराष्ट्रपति पुनको आग्रह

0
67

विश्वव्यापी महामारी कोभिड–१९ का कारण उल्लासमय वातावरणमा हुन नसक्ने भए पनि स्वास्थ्य सुरक्षाको नियमको पूर्ण पालना गरेर हर्षका साथ छठ पर्व मनाउन उपराष्ट्रपति नन्दबहादुर पुनले सबैलाई आग्रह गरेका छन् ।

उनले छठ पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गर्दै छठको शुभकामना दिएका छन्।

उपराष्ट्रपति पुनले शुभकामना सन्देश दिँदै भनेका छन् , “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म, संस्कार र संस्कृतिले अत्यन्त धनी छ । हाम्रो विविधतायुक्त संस्कार संस्कृतिले प्राकृतिकरुपमा सुन्दर नेपाललाई झनै सुन्दर बनाउनाका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ गर्दै आएका छन् ।”

छठ पर्व अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने चाड हो ।