निःशुल्क खानासँगै खाद्यान्न वितरण अभियानको पनि थालनी

0
137

काठमाडौं । खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले निःशुल्क खाद्यान्न वितरणको अभियान पनि थाल्ने भएको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन आग्रह गरेपछि अहिले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल छेउमा खाना खुवाइरहेको हाम्रो टीम नेपालले खाद्यान्न पनि सहयोग गर्न थालेको हो ।

महानगरपालिकाले उपलब्ध गराएको स्थानमा आउन नसक्ने र घरमा पकाएर खाने अवस्था भएकाहरुको हकमा निःशुल्क खाद्यान्न वितरण गर्न लागिएको हाम्रो टीम नेपालले जनाएको छ । हाम्रो टीम नेपालका संस्थापक सहसचिव लक्ष्मणसिंह धामीले महानगरको अनुरोध अनुसारको ठाउँबाट नै निःशुल्क खाना खुवाउने अभियान जारी रहेको बताए ।

उनले हिजो मात्रै त्यहाँ आउन नसक्ने र घरमा आफै पकाएर खान सक्ने अवस्था भएका १५ जनालाई ग्यासको रेगुलेटरसहित चामल, दाल, नुन तेल लगायतका सामग्री दिइएको बताए । काम गर्न सक्नेहरुलाई रोजगारी दिलाउने विषयमा महानगरपालिकासँग छलफल भइरहेको पनि उनले जानकारी दिए ।

त्यस्तै महानगरपालिकाले मंसिर २ गतेदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो । तर मानिसहरु खाना खान लामबद्ध भएपछि हाम्रो टीम नेपालले मंगलबार पनि खुल्लामञ्चमै खाना खुवाएको थियो । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पछाडिपट्टी रहेको खुला ठाउँ उपलब्ध गराएपछि बुधबारबाट सोही ठाउँमा निःशुल्क खाना खुवाउन लागिएको छ । नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने सम्झौता गरिएको छ । काम नपाएर भोकै बस्नुपर्ने स्थिति आएमा प्रत्येक दिन बिहान ९ बजे थापाथलीस्थित क्षेत्रमा खाना खुवाउने व्यवस्था गरिएको छ ।