तुलसीपुरमा २० वर्षीया सुत्केरीको मृत्यु

0
163

दाङ तुलसीपुरकी एक २० वर्षीया सुत्केरीको कोरोनाका कारण मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी संक्रमित ती महिलाको बच्चा जन्मी सकेपछि कोरोनाका कारण मृत्यु भएको हो।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी कात्तिक १६ गते प्रसुती सेवा लिनका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी थिइन्।

उनले १७ गते बच्चालाई जन्म दिएकी थिइन्। त्यसपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो। आशंका लागेर पिसिआर परीक्षण गर्दा उनलाई १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई कोभिड यूनिटमा भर्ना गरेर उपचार थालिएको थियो।

उनलाई अक्सिजन र एन्टिबायोटिक सहित उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार दिउँसो ३: २० बजेतिर मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए। बाँकेमै उनको शव व्यवस्थापनको तयारी गरिएको श्रेष्ठले जानकारी दिए।

त्यस्तै दाङ लमही नगरपालिका वडा नं. १० निवासी ६४ वर्षीय  पुरुषको भेरी अस्पताल नेपालगञ्जमा विहीबार राति ९ बजे मृत्यु भएको थियो। 

यो सहित बाँकेमा शुक्रबारसम्म ५९ जनाको कोरोनाका कारण मृत्यु भएको छ। तीमध्ये ३४ जना बाँके निवासी र २५ जना बाहिरी जिल्लाबाट उपचारका लागि गएकाहरु रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए।