चितवनमा स्क्रबटाइफसका बिरामी बढे

0
79

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार साउन यता १६५ जनामा स्क्रबटाइफस र ३३ जनामा डेङ्गु देखापरेको छ ।
 
तीमध्ये चितवन जिल्लाका डेङ्गु सङ्क्रमित २७ जना र स्क्रब टाइफसका ७९ जना रहेका छन् भने अन्य बिरामी बाहिरी जिल्लाबाट यहाँको अस्पतालमा आएका हुन् । 

कार्यालयका अनुसार डेङ्गु सङ्क्रमित बिरामी भरतपुर महानगरपालिकाका १५, खैरहनी नगरपालिकाका तीन, माडी नगरपालिकाका एक, रत्ननगर नगरपालिकाका पाँच, राप्ती नगरपालिकाका एक र कालिका नगरपालिकाका दुई जना रहेका छन् । 

भरतपुर महानगरका ४२, खैरहनी नगरपालिकाका १०, माडी नगरपालिकाका सात, रत्ननगर नगरपालिकाका १०, राप्ती नगरपालिकाका नौ र इच्छाकामना गाउँपालिकाका एक जनामा स्क्रबटाइफस देखिएको कार्यालयले जनाएको छ ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक गीता आचार्यका अनुसार गत वर्ष जिल्लामा चार हजार ८०४ जनामा डेङ्गु भएको थियो । जसमध्ये दुई जनाको मृत्यु भएको थियो । त्यसै गरी १३९ जनामा स्क्रबटाइफस भएको र एक जनाको मृत्यु भएको थियो । गत वर्षको तुलनामा यस वर्ष डेङ्गुका बिरामी घटेका छन् भने स्क्रबटाइफसका बिरामी बढेका छन् ।

डेङ्गु रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरो हो । यसको सङ्क्रमणमा शुरूआती दिनमा शरीरमा रातो रातो डाबर आउने, एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, गिजा र पिसाबमा रगत देखिने हुन्छ ।

भरतपुर अस्पतालका फिजिसियन डा महेन्द्रका अनुसार मुसामा हुने एकप्रकारको माइट भन्ने सङ्क्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुुत्सुगामुसी भन्ने ब्याक्टेरियाको कारणले स्क्रबटाइफस हुन्छ। यो रोग गर्मी र वर्षाको समयमा देखिन्छ । 

किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ । उच्च ज्वरो आउनु , किर्नाले शरीरमा टोकेको ठाउँमा घाउ हुनु , जण्डिस हुनु र पेट दुख्नु यो रोगका लक्षण हुन्।